काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न सत्ता पक्षसँग आग्रह गरेको छ।
सत्तारुढ नेकपा एमालेले फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्नुपर्ने अडान लिइरहेका बेला कांग्रेस संसदीय दलको बुधबार अपराह्न सिंहदरबारमा बसेको बैठकले नियमावली सहमतिमै पारित गर्न आग्रह गरेको हो।
बैठकले अभियोग पुष्टि नभई सांसदहरुलाई निलम्बन गर्न नहुने निष्कर्ष समेत निकालेको छ। सहमति अनुसार नै दुवै सदनको नियमावली पारित गर्न सत्ता पक्षलाई आग्रह गरिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। उनले अभियोग लागेका सांसदहरुलाई सेवा–सुविधा नदिने तर आरोप पुष्टि नभई उनीहरुलाई निलम्बन गर्न नहुने पार्टीको अडान पनि दोहोर्याए।
कांग्रेसले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा ठोस धारणा तय गर्न विज्ञहरुसहितको समिति बनाउने निर्णय पनि गरेको छ। सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी रुपमा संसदमा प्रस्तुत हुन सांसदहरुलाई प्रशिक्षित गर्नेगरी विज्ञहरुसहितको समिति बनाउने निर्णय गरिएको प्रमुख सचेतक खाँणले बताए।
सरकारले आगामी जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउँदैछ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।