काठमाडौं– नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा उपाधि हात पारेका छन्।
ल्पाको लिवाङमा भएको पुरुषतर्फको फा्इनल खेलमा कुलबहादुर थापाको उत्कृष्ट प्रदर्शनमा पुलिसले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बन्यो। महिलातर्फ सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपिएफले नेपाल पुलिसमाथी ३–० को सहज जित निकाल्दै उपाधि चुम्यो।
मंगलबार भएको पुरुषतर्फको उपाधि भिड्न्तमा पुलिसले आर्मीलाई २५–२१,१७–२५,३०–२८ र २५–२३ को सेटमा स्तब्ध बनायो । महिलातर्फको फाईनलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिसलाई २५–९,२५–८ र २५–२० को सहज जित निकाल्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा संचालन भएको प्रतियोगिताको पुरुषतर्फको उत्कृष्ट खेलाडीको उपाधि पुलिसका कुलबहादुर थापाले हात पारे। महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी चुनिइन्। मंगलबार भएको खेलमा महिलातर्फ आर्मी र पुरुषतर्फ प्रदेश ४ ले तेश्रो स्थान हात पारेका थिए । तेश्रो स्थानका लागि भएको खेलमा महिलातर्फ आर्मीले प्रदेश ५ लाई २५–१९,२५–८ र २५–९ को सोझो सेटमा हराउदा पुरुषतर्फ प्रदेश ४ ले एपीएफलाई २५–२०,२५–१९ र २५–१९ को सोझो सेटमा स्तब्ध बनायो ।
सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको प्रतियोगिताको दुवै समूहका विजेता पुलिस र एपिएफले सर्वाधिक ३ लाख ५० हजारका दारले नगद प्राप्त गरे। उपविजेता आर्मी र पुलिसले समान २ लाख हात पार्दा तृतीय स्थान हात पारेको प्रदेश ४ र आर्मीले समान १ लाख नगद प्राप्त गरे।
बैशाख २९ गते संचालन भएको प्रतियोगिताको दुवै समूहमा १० टिमको सहभागिता रहेको थियो । प्रदेशका सात टिम र तीन बिभागिय टिम पुलिस,एपीएफ र आर्मीले सहभागिता जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।