काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन लिगको मिति घोषणा गरेको छ। लिगका लागि विज्ञानराज शर्माको संयोजकत्वमा गठित समितिले आगामी असोज १३ देखि माघ १६ गतेसम्म लिग संचालन गर्ने निर्णय गरेको हो।
गत साता बसेको एन्फाको नवनिर्वाचित कार्यसमितिको बैठकले १० दिन भित्र लिगको मिति घोषणा गर्न शर्मालाई जिम्मेवारी दिएको थियो।
लिगका लागि एक क्लबले बढीमा ३५ खेलाडी र कम्तिमा १८ खेलाडी दर्ता गराउनु पर्ने एन्फाले निर्णय गरेको छ। एन्फाले एक टिमले चार विदेशी खेलाडी टिममा राख्न पाइने र एक पटकमा तीन खेलाडी मैदान उत्रन पाउने जनाएको छ।
लिगको हुने स्थानबारे एन्फाले स्पष्ट पारेको छैन। एन्फाका प्रवक्ता किरण राईका अनुसार संचालन हुने मैदानबारे पछि टुंगो लगाइनेछ। 'हामीले सुरुमा लिगको मिति घोषणा गरेका हौं। अब लिग संचालन हुने स्थान लगायतका कुराहरु छिट्टै टुंगो लगाउने छौं।'
गत वर्षपनि तीन पटक लिगको मिति सार्वजनिक गरिएपछि एन्फाको निर्वाचन र थ्रीस्टार क्लबसँगको विवादका कारण लिग हुन सकेको थिए।
एन्फाले पछिल्लो पटक पुस दोस्रो सातादेखि लिग गर्ने तयारी गरेको थियो। तर, पुस ११ गते भइसक्दा एन्फाले लिगमा भाग लिने क्लबसँग छलफल नगरेकाले तोकिएको समयमा लिग हुन सकेन।एन्फाले गत साउन अन्तिम साता मंसिर १४ गते 'ए' डिभिजन लिग गर्ने निर्णय गरेको थियो। तर, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण मंसिरको लिग स्थगित भएको थियो। त्यसअघि सुरुमा बैशाख र पछि भदौमा गर्ने तय गरिएको लिग सारिएको थियो।
एन्फाले सुरुमा बैशाख दोस्रो सातादेखि लिग गर्ने तयारी गरेकोमा थ्रीस्टार क्लबसँगको विवाद र स्थानीय तहको निर्वाचनका कारण लिग सरेको थियो। लगत्तै थ्रीस्टारसँगको विवाद मिलेपछि एन्फाले भदौमा लिग गर्ने तयारी थालेको थियो। तर, साउन अन्तिम साता बसेको एन्फाको बैठकले एकाएक मंसिरमा लिग गर्ने निर्णय गरेको थियो।
एन्फाले विगत ३ वर्षदेखि लिग गराउन सकेको छैन। एन्फाले पछिल्लो पटक ०७२ मा राष्ट्रिय लिग आयोजना गरेको थियो। ए डिभिजन लिग भने ०७० सालदेखि हुन सकेको छैन।
आगामी लिगमा १४ ए डिभिजन टिमबीच प्रतिस्पर्धा हुनेछ।
ए डिभिजन लिगमा भाग लिने क्लबहरु-
थ्रीस्टार, फ्रेन्ड्स, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज, जावलाखेल युथ, च्यासल युथ र न्युरोड टिम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।