सुर्खेत- बुधबार बिहान मकालु एयरको जहाज हुम्लाको खार्पुनाथमा दुर्घटना हुँदा चालक दलका दुई जनाले ज्यान गुमाए। कर्णाली प्रदेशमा हवाई दुर्घटना भएको यो पहिलो घटना भने होइन।
कर्णाली सडक दुर्घटनाका हिसाबले निकै जोखिमपूर्ण मानिन्छ। हरेक वर्ष यहाँको सडकमा ठूलासाना दुर्घटना भएर जनधनको क्षति भइरहेको हुन्छ। तर हवाई दुर्घटनामा पनि कर्णालीमा कहालीलाग्दो तथ्यांक रहेको छ।
कर्णालीको आकाशमा हालसम्म १३ हवाई दुर्घटना भएका छन्। तीमध्ये ५ वटा दुर्घटनामा मानवीय क्षति भएको छ भने ८ वटामा भौतिक क्षति मात्र भएको तथ्यांक छ।
२०५६ सालमा जुम्लामा नोकेन इयरको जवाज दुर्घटना भएको थियो। जसमा ५ जनाले ज्यान गुमाए। त्यसयता कर्णालीको आकाशमा १९ वर्षभित्र १३ वटा हवाई दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा २६ जनाले ज्यान गुमाएका छन्। घाइते र अंगभंग हुनेको संख्या पनि ठूलो छ। त्यत्तिकै मात्रामा भौतिक क्षतिसमेत हुने गरेको छ।
नागरिक उड्डयन प्राधिकरण कार्यालय सुर्खेतको तथ्यांक अनुसार २०५८ सालमा फिस्टेल एयरको विमान रारा तालमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो। त्यसैगरी २०५९ मा स्काइलाइनको विमान सुर्खेतमा दुर्घटना भयो। त्यसमा पनि४ जनाले ज्यान गुमाए। २०६३ असार २२ मा यति एयरलाइन्सको डिएच–६ ट्विनअटर विमान जुम्ला एयरपोर्टमा अवतरण क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका ३ सदस्यसहित ९ जनाको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ।
२०७२ फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको ९एन एजेबी विमान कालिकोटको चिल्खायामा दुर्घटना हुँदा चालक दलका २ जनाको मृत्यु भएको थियो। आज बिहानको पछिल्लो दुर्घटनामा चालक दलका २ जनाको मृत्यु भएको छ। बिहान ६:१२ बजे सुर्खेत विमानस्थलबाट हुम्लाका लागि उडेको मकालु एयरको ९एन-एजेयु कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका–२ स्थित राया र थाली गाउँको बीचमा पर्ने बाहुनखर्कमा दुर्घटनाग्रस्त भएको हो। सो दुर्घटनामा पाइलट किरण भट्टराई र आदित्य नेपालीको मृत्यु भएको छ। दुर्घटनास्थल सिमीकोट विमानस्थलबाट ७ दशमलव ७ नटिकल माइल दक्षिणपूर्व रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
यो तथ्यांकले कर्णालीको आकाश असुरक्षित देखाउँछ।
२०७० फागुन ४ गते काठमाडौंबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९एन एबीबी ट्विनअटर विमान पनि अर्घाखाँचीको खिदिममा दुर्घटना भएको थियो। जसमा चालक दलका ३ सदस्य, १ बालकसहित १५ यात्रु गरी १८ जनाको मृत्यु भएको थियो। यसलाई समेत जोड्ने हो भने कर्णालीका लागि उडेका हवाई दुर्घटनामा मृत्यु हुनेको संख्या ४४ पुग्छ। यद्यपि कर्णालीमा नै भएका दुर्घटनामा भने हालसम्म २६ जनाले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।