काठमाडौं- प्रहरीले काठमाडौंका विभिन्न स्थानमा गरी ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ।
प्राप्त सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानमा खानतलासी गर्दा दुई करोड ६० लाख ६३ हजार नेपाली नक्कली नोट बरामद गरेको हो।
पक्राउ पर्नेमा फिल्म निर्माता माधवराज वाग्ले, छापाखानाका सञ्चालकहरु प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई कमलपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लुभू बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङ रहेका प्रहरीले जनाएको छ।
बुधबार काठमाडौंको चारढुंगेमा रहेको प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठामा खानतलाली गर्दा एक हजार दरका नेपाली नक्कली नोट दुई करोड ५२ लाख बरामद भएको थियो। वाग्ले 'लुट' र 'चंगाचेट' फिल्मका निर्माता हुन्। उनीसँगै बागबजारस्थित नवज्योति प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदी र जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक भक्तपुर ८ निवासी ३९ वर्षीय विकेश नापितलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले फिल्म 'चंगाचेट'को सुटिङका लागि नक्कली नोट छापेको बताएका छन्। नोटमा नक्कली भनेर लेखिएको छ।
सुवेदीले नक्कली नोट छाप्न नापितको छापाखानालाई दिएपछि नोटहरु छापिएको प्रहरीले जनाएको छ। सुवेदीको छापाखानाबाट नक्कली नोट बनाउन प्रयोग गरिएको चार थान प्लेट पनि बरामद गरिएको छ।
यसअघि मंगलबार प्रहरीले फिल्म निर्माण युनिटकै तीन युवालाई नक्कली नोटसहित पक्राउ गरेको थियो। बोगटीबाट एक लाख २० हजार तथा सुजित र साजनको कोठाबाट ७ लाख ४३ हजार नक्कली नोट बरामद भएको जनाइएको छ।
मित्रनगरको एक खाजाघरमा बोगटीले खाजा खाएर पैसा तिर्दा दिएको नोट नक्कली भएको आशंकामा खाजाघर सञ्चालकले खबर गरेपछि महानगर प्रहरी प्रभाग गोंगबुबाट गएको टोलीले उनीसँग सोधपुछ र खानतलासी गरेको थियो।
बोगटीले नै दिएको सूचनाका आधारमा सुजित र साजन तामाङको कोठाबाट नक्कली नोट बरामद भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नक्कली नोट छाप्नेलाई बिगो बमोजिम जरिवाना गरी दस वर्ष कैद गर्नुपर्ने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।