काठमाडौं– युवा स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्न थालेको २ वर्षमा चर्चाको शिखरमा छन्। १५ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका सन्दीप छोटो समयमै टिमका भरपर्दा बलरको रुपमा स्थापित भइसकेका छन्। आइपिएल र क्यारेबियन लिगको टिममा आबद्ध भएका सन्दीप पछिल्लो पटक विश्व-११ टिममा ऐतिहासिक सफलता हात पार्न सफल रहे। त्यसैले उनको चर्चा र लोकप्रियता नेपाली क्रिकेटमा मात्र होइन विश्व क्रिकेटमा पनि बढ्न थालेको छ।
सन्दीपले २०७२ माघमा बंगलादेशमा भएको यू–१९ विश्वकपमा डेब्यू गर्दा सनसनी मच्चाएका थिए। त्यतिबेला उनकै उत्कृष्ट प्रदर्शनले नेपाल सुपर–८ मा समावेश हुन सफल भएको थियो। हाल टेस्ट राष्ट्रको मान्यता पाएको आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि सन्दीप स्टार बन्न पुगेका थिए। दायाँ हातले बल घुमाउन पोख्त सन्दीपलाई आयरल्यान्ड विरुद्धको खेलपछि अन्तर्राष्ट्रिय मिडियाले समेत ‘नेपाली– शेन वार्न’ को संज्ञा दिएका थिए।
१७ वर्षीय सन्दीपलाई युवा टिममा जोड्ने काम भने नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका थिए। २०७२ भदौमा चितवनको नारायणगढस्थित क्याम्पाचौर मैदानमा नेट अभ्यास गरिरहेका सन्दीपलाई देखेपछि पुबुदु प्रभावित भएका थिए। पहिलो नजरमै सन्दीपको प्रतिभा थाहा पाएका पुबुदुले सन्दीपलाई यू–१९ टिमको क्याम्पमा बोलाएका थिए। क्याम्पाचौरमा लुकेको प्रतिभा त्रिवि मैदानमा प्रस्फुटन भएपछि सन्दीप युवा राष्ट्रिय टिममा पर्न समय लागेन। युवा टिममा आबद्ध भएको ६ महिनाभित्रै उनले विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए।
युवा विश्वकपकै दौरान अस्ट्रेलियाका धुरन्धर लेगस्पिनर वार्नसँग तुलना गरिएका सन्दीप अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँगको विशेष सम्बन्ध बनाएर चर्चामा रहे।
नेपालका सबै क्रिकेटरलाई विश्वविजेता कप्तानसँग संगत गर्ने मौका मिल्दैन। तर, क्लार्कसँग गहिरो सम्बन्ध बनाइसकेका सन्दीपले नेपाल लाइभलाई भनेका थिए, ‘यो अर्थमा म आफूलाई भाग्यमानी ठान्छु।’
क्लार्कसँग भेट्नुअघि सन्दीप उनको ठूलो प्रशंसक थिए। क्लार्कका खेल नछुटाई हेर्थे।
बंगलादेशमा भएको युवा विश्वकपपछि सन्दीपका लागि सिनियर टोलीमा मात्र होइन, विदेशी क्लबबाट पनि क्रिकेट खेल्ने प्रस्ताव आउन थाले। जसमध्ये हङकङबाट आएको एउटा प्रस्तावमा सन्दीप बढी नै हौसिए। किनभने त्यो प्रतियोगितामा क्लार्क पनि खेल्दै थिए। सन्दीपको खुसीको सीमा त्यतिबेला झन् बढ्यो, जब उनलाई फेरि खबर आयो- उनी खेल्ने क्लबको कप्तानी क्लार्क स्वयंले गर्दै छन्।
हङकङ टी–२० ब्लिट्ज–२०१६ मा कोलुन कान्टोन्सबाट खेल्न हङकङ पुगेको दिन सन्दीप र क्लार्कको पहिलो भेट भएको थियो। पहिलो भेटमा दुवै आपसमा त्यति खुल्न सकेनन्, सामान्य परिचय मात्र भयो। तर, टिम बैठकमा क्लार्कले सन्दीपबारे थप जानकारी पाए। यसपछि क्लार्कले विस्तारै सन्दीपको विषयमा चासो राख्न थाले।
क्लार्क सन्दीपलाई क्रिकेटको टिप्स दिइरहन्थे।
सन्दीपको बलिङबाट प्रभावित क्लार्कले त्यतिबेलै उनलाई अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्न गएका बोलाए। नेपाल फर्किएपछि सन्दीप निरन्तर क्लार्कको सम्पर्कमा रहिरहे। यही क्रममा क्लार्कले आफ्नो एकेडेमीमा क्रिकेट सिक्न र ए श्रेणीको क्रिकेट खेल्न उनलाई निम्तो पठाए। सन्दीप खेल्नका लागि अस्ट्रेलिया आउन लागेको कुरा सबैभन्दा पहिले क्लार्कले ट्विटरमार्फत सार्वजनिक गरेका थिए। यसपछि सन्दीप र क्लार्कको सम्बन्धले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो। अस्ट्रेलिया र नेपालको मिडियाले मात्र होइन, भारतीय मिडियाले पनि सन्दीपको विषयमा समाचार प्रकाशित गरेका थिए।
सन्दीपले गत माघमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा आबद्ध भएर नेपाली क्रिकेटमा इतिहास बनाए। सन्दीप आइपिएलमा छनोट हुने पहिलो नेपाली क्रिकेटर हुन्।
फागुनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि छनोट हुन सफल भए। सन्दीपलाई सिपिएल टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले ५ हजार अमेरिकी डलर (५ लाख १७ हजार रुपैयाँ) मा आबद्ध गरेको थियो।
आइपिएल टिम दिल्ली डेयरडेभिल्सले सन्दीपलाई सुरुवाती ११ खेलमा भने मौका दिएन। १२ औं खेलमा रोयल च्याजेन्जर्स बैंग्लोर विरुद्धको खेलमा मौका पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि सबैको ध्यान खिच्न सफल भए। उनले बैंग्लोरका पार्थिव पटेललाई आउट गर्दै डेब्यू खेलमा विकेट लिए। विश्वकै धुरन्धर ब्याट्सम्यान विराट कोहली र एबी डी भिलियर्सविरुद्ध उत्कृष्ट बलिङ गरेका कारण सन्दीपको चर्चा परिचर्चा भइरहेको छ।
आइपिएलमा विकेट लिएको चार दिनपछि सन्दीपले अर्को सफलता हात पारे। सन्दीपलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वका स्टार खेलाडी समावेश विश्व ११ टिममा राखेको हो। आइसिसीले सन्दीपको प्रतिभा पहिचान गर्दै विश्व ११ टिममा राखेको जनाएको छ।
आगामी ३१ मेमा इंग्ल्यान्डको लन्ड्समा विश्व ११ र वेस्ट इन्डिजबीच मैत्रीपूर्ण टी–२० खेल हुँदैछ। १७ वर्षीय सन्दीप विश्व ११ का कान्छा खेलाडी हुनेछन्। विश्व ११ टिममा इयान मोर्गन (कप्तान), साहिद अफ्रिदी, तमिम एकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने हुनेछन्। वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन्। वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।