काठमाडौं- नेकपा एमालेको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
पार्टी एकताको विषयमा छलफल गर्न बसेको बैठकबाट एमाले नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट बाहिरिएका छन्। बाहिरिने क्रममा नेता ज्ञवालीले एकता धेरै टाढा नरहेको र केही विधि प्रक्रिया मात्र पूरा गर्न बाँकी रहेको बताए।
उनले बिहीबार बिहान १० बजे बस्ने एकता संयोजनक समिति बैठकले पार्टी एकताबारे ठोस निर्णय लिने जानकारी दिएका छन्। उनले भने, 'पार्टी एकताका धेरै कुरा मिलिसकेका छन्, अब एकता संयोजन समितिको बैठक बसेर त्यसलाई टुंग्याउँछ। पार्टी एकता धेरै टाढा छैन।'
पार्टी एकताबारे आजै बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बालुवाटारमा भएको वार्तामा सहमति जुटेको जनाइएको छ।
यसैबीच, माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।