काठमाडौं- जेठ महिनाको पहिलो कारोबारको दिन मंगलबार परिसूचकसँगै कारोबारमा भारी रकमको गिरावट आएको बजार बुधबार भने सम्हालिएको छ।
धितोपत्र बोर्डले ग्राहक पहिचान विवरण (केवाइसी) नवीकरण नगर्ने ग्राहकलाई जेठ १ गतेदेखि कारोबार नगराउन निर्देशन दिएपछि मंगलबारको सेयर कारोबारमा गिरावट आएको थियो। मंगलबार अधिकांश लगानीकर्ताले केवाइसी नवीकरण गराएकाले परिसूचकसँगै कारोबार रकममा सुधार आएको ब्रोकरहरुले बताएका छन्।
बुधबार नेप्से परिसूचकमा ४ दशमलब १६ अंकको वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक १ हजार ३ सय ३८ दशमलब शून्य १ को बिन्दुमा पुगेको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। १ सय ५८ वटा कम्पनीको २२ करोड २० लाख ५१ हजार ७ सय ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। जबकि मंगलबार कारोबार रकम १७ करोडमा खुम्चिएको थियो।
कारोबारमा आएका फाइनान्स र उत्पादन तथा प्रशोधन समूह बाहेकका अरु समूहमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूहमा ६ दशमलब ८७ अंकको गिरावट आएको छ भने फाइनान्स समूह २ दशमलब ८४ अंकले घटेको छ।
बुधबार सर्वाधिक कमाउनेमा होटल समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर ४६ दशमलब १४ अंकले बढेको छ। लघुवित्त समूह २२ दशमलब ८४ अंकले बढेको छ। त्यस्तै, जलविद्युत् समूह अन्तर्गतका लगानीकर्ताले १३ दशमलब १३ अंकको नाफा हात पारेका छन्।
बुधबार वोमि माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार सर्वाधिक भएको छ। कम्पनीको १ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल टेलिकमको ८२ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजै मात्र ३० दशमलब ८० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको मिर्मिरे माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २ सय ५१ रुपैयाँ अथात् ९ दशमलब ९७ प्रतिशत कमाएका छन्। त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता १ सय ९५ रुपैयाँ कमाएका छन्।
यता सर्वाधिक गुमाउनेमा वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका लगानीकर्ता रहेका छन्। फाइनान्सको सेयर मूल्यमा प्रतिकित्ता ५ रुपैयाँ अर्थात् ४ दशमलब ३१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ३९ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।