काठमाडौं– बृहद् महाभारत पदमार्गको सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न समृद्ध सिन्धुली अभियानको टोली त्यसतर्फ प्रस्थान गरेको छ।
अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाँडैडाडा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो। ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाव्यता अध्ययन गर्न टोलीले महाभारतका डाँडैडाँडा पदयात्रा गर्नेछ। टोलीमा पर्यटनविज्ञ, 8शास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्ता लगायतका विज्ञहरु सहभागी छन्।
समृद्ध सिन्धुली अभियानको टोली पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्ने अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए।
राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकता अनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ। यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र वनस्पत्ति अध्ययनमा उपयोग गर्न सकिने अभियानको यसअघिको अध्ययनले देखाएको संयोजक घिमिरेले बताए।
बाटोमा पर्ने गाउँहरुमा होमस्टे सञ्चालनन, पदमार्गको सुधार र स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउने अभियानको उद्देश्य रहेको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए। राजधानी र तराईबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने सम्भावना देखिएको उनले बताए।
यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाति, संस्कृति, रहनसहन, वातावरण, वनस्पति, सार्वजनिक स्थलहरु, झरना, गुफा लगायत स्थल, होमस्टेको सम्भावनासमेत अध्ययन गर्ने अभियानले जनाएको छ। अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटल, एनालग नक्सा, फोटो, भिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरिने संयोजक घिमिरेले बताए। यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरुसौरभ ढकाल, दीपक श्रेष्ठ, फोटोग्राफर गणेश भण्डारी लगायत छन्।
महाभारत ट्रेल अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।