जकार्ता– इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा हमलाहरु जारी रहेको बताइएको छ।
इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम विष्फोट गराइएको छ।
बुधबार बिहान राजधानी जकार्ताबाट नजिक पर्ने रियाउ प्रान्तको प्रहरी मुख्यालयमा आतंककारीहरुले बम हमला गरेका छन्। सो हमलामा भने ४ जना आतंककारीकै मृत्यु भएको थियो।
प्रहरीकाअनुसार सो प्रहरी चौकीमा प्रहरीको सेतो भ्यानमा आएका ८ जना आतंककारी हतियारधारीले बम आक्रमण गरेका थिए। तर त्यस आक्रमणमा ४ जना आत्मघाती हमलाकारी नै मारिएका छन्।
अन्य केही घाइते भएका छन्। आक्रमणपछि प्रहरीको जवाफि कारबाहीका दौरानमा केही घाइते भएका तथा भागेका बताइएको छ। यस आक्रमणबाट प्रहरीतर्फ भने कुनै क्षति भएको छैन।
उता इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा गएको आइतबार मात्र ३ वटा चर्चमा आतंककारी हमला भएको थियो। ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका ११ जनाको ज्यान गएको प्रहरीले जनाएको थियो।
आतंककारीहरुले सोमबार र मंगलबार पनि बम हमला गरेका छन्। सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो। २ वटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए।
बुधबार हमला गर्ने आत्मघातीको परिचय खुलेको छैन। उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाइ छ। उनीहरुले रमादान पर्वको पूर्वसन्ध्यामा बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान गरेको छ।
इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो। यहाँका मुस्लिमहरुले विभिन्न समयमा चर्चमा हमला गर्ने गरेका छन्। इन्डोनेसियाली मुस्लिमले यसै हप्ता रमादानको व्रत बस्ने तयारी गरिरहेका छन्।
त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ। रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।