सुर्खेत- सुर्खेत विमानस्थलबाट कार्गो लिएर हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ स्थित राया र थाली गाउँको बीचमा पर्ने बाहुनखर्कमा ९एन-एजेयु कलसाइन विमान दुर्घटनाग्रस्त हुँदा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। दुर्घटनास्थल सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिणपूर्व रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
बिहान ६:१२ बजे उडेको विमानको नेपालगन्ज टावरसँग ६:२७ बजे अन्तिम सम्पर्क भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उक्त विमान बुधबार बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको थियो। प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर वलीका अनुसार बिहान १० बजेर २५ मिनेट जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। दुर्घटनास्थलबाट शव निकालेर ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
(*यसअघि प्रकाशित समाचारमा सूचना गलत पर्न गएकाेमा क्षमाप्रार्थीसहित हटाइएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले विमान दुर्घटनासम्बन्धी यसअघि जारी भएको सूचना गलत भएको नेपाल लाइभलाई बताएका छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।