रसुवा– हाकु क्षेत्रमा जलविद्युत सञ्चालन गर्ने एक निजी कम्पनीले प्रभावित क्षेत्रका विद्यालयलाई मंगलबार कम्प्यूटर वितरण गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली वान जलविद्युत् आयोजनाले हाकु, राम्चे र धुञ्चे क्षेत्रका १७ वटा विद्यालयलाई ९८ वटा कम्प्यूटर वितरण गरेको छ।
विद्यालयमा प्राप्त सहयोगले कम्प्यूटरको सिकाइमा छात्रछात्रालाई सानो उमेरबाटै क्षमता अभिवृद्धि गराउन सहज भएको रसुवा मावि, धुञ्चेका प्रधानाध्यापक तेम्पा रिसाङ घलेले बताए।
विद्यालयजस्तो पवित्र संस्थालाई दिइएको सहयोग उपयोगी र समयसापेक्ष भएकाले आगामी दिनमा पनि सहयोगी हात बढ्दै जाने अपेक्षा गरेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।
कोरियाली लगानीमा नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको २ सय १६ मेगावाट क्षमताको जलविद्युत् आयोजना आगामी अक्टोबरदेखि निर्माण शुभारम्भ हुने उक्त कम्पनीले जनाएको छ।
आयोजनाका संरचना सबै भूमिगत हुने र सुरुङको लम्बाइ ९ किलोमिटर हुने प्राविधिकले बताएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।