बेइजिङ– चीनको ग्रामिण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुसीसाथ जीवनयापन गरेको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ।
चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ अनुसन्धान केन्द्रले सन् २००० पछि हरेक ५ वर्षमा निरन्तर गर्दै आएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै ६० वर्ष पार गरेका २ लाख २२ हजार ७ सय व्यक्तिलाई सोधिएको प्रश्नमा अधिकांशले बुढ्यौलीका बाबजुद पनि आँफूहरू खुसीसाथ जीवनयापन गरेको बताएका थिए। पछिल्लो सर्वेक्षण सन् २०१५ मा गरिएको भएपनि नतिजा भने हालैमात्र सार्वजनिक गरिएको हो।
सन् २००० को सर्वेक्षणमा जम्मा ४८ दशमलब ८ प्रतिशत वृद्धवृद्धाले आफूहरू सुखसाथ जीवन यापन गरेको बताएका भएपनि यो दर सन् २०१५ मा आइपुग्दा वृद्धि भएर ६० दशमलब ९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। सर्वेक्षणले बुढ्यौलीकाबीच पनि खुसी रहेका पुरूषको सङ्ख्या महिलाको भन्दा बढी देखाएको छ।
उच्च शिक्षा आर्जन गरेका बुढाबुढी निम्न शिक्षा पाएका बुढाबुढीभन्दा बढी सुखी पाइएको पनि अध्ययनले देखाएको छ। सर्वेक्षणमा जम्मा ५२ दशमलब १ प्रतिशत अनपढ अथवा साक्षर वृद्धवृद्धाले आफूहरूको जीवनशैली सुखी रहेको बताएका थिए तर ८४ प्रतिशत शिक्षित वृद्धवृद्धा सुखी भएको बताए।
सर्वेक्षणमा कुनैपनि व्यक्ति बूढो हुँदै गएपछि कम सुखी हुने गरेको पाइएको थियो। सर्वेक्षण अनुसार ६०–६४ उमेर समूहका ६२ दशमलब ३ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुसीसाथ जीवनयापन गरेको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ५५ दशमलब ७ प्रतिशत बुढाबुढीले सुखसाथ बाँचेको बताए।
यसैगरी ६०–६४ उमेर समूहका ५ दशमलब ८ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुसी नभएको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ७ दशमलब ६ प्रतिशत बूढाबूढीले आफूहरूको जीवनयापन सहज नहुने गरेको बताए।
कुनैपनि चिनियाँको सुखलाई उनीहरूको वैवाहिक अवस्था, बालबालीकासँगको सम्बन्ध, स्वास्थ्य र आर्थिक अवस्थासँग जोडेरसमेत मुल्याङ्कन गरिएको थियो। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।