नयाँ दिल्ली- भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति भग्नावशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
वाराणसीको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासेपुल भत्किँदा यस्तो मानवीय क्षति भएको हो। मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक प्रत्यक्षदर्शीले बताए।
भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासेपुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति भएको हो। घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको संख्या गम्भीर छ।
एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको मृत्यु भए पनि उद्धार जारी रहेकाले मृतकको संख्या यकिन भइनसकेको बताए।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै मृतकको परिवारलाई पाँच लाख र घाइतेहरुलाई दुई लाख दिने घोषणा गरेका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।