कैलाली– धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेहडाबाबा मन्दिरमा रहेको सार्वजनिक शौचालयले मन्दिर क्षेत्रमै दुर्गन्ध फैलिएको छ। पानीको धारा नजोडिएको शौचालयमा नाक थुन्दै जानुपर्छ। पानी सहज नहुँदा मन्दिर मात्र होइन, अधिकांश सरकारी र सार्वजनिक शौचालयको अवस्था यस्तै दयनीय छ।
पानीको अभाव र शौचालय व्यवस्थापनमा उपेक्षाका कारण सरकारी तथा सार्वजनिक शौचालय दुर्गन्धित हुने गरेका छन्। धनगढी उपमहानगरपालिकाको १८ र १९ नम्बर वडाको संयुक्त वडा कार्यालयको शौचालयको अवस्था पनि अरुभन्दा फरक छैन। कार्यालयले ह्यान्ड पम्पबाट बाल्टिनमा पानी भरेर राख्ने व्यवस्था गरे पनि प्यान भने दागले कटकटिएर बस्ने गरेको छ।
उता जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले भने सबै शौचालयमा पानी उपलब्ध भइरहेको दाबी गरेको छ।
डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद काफ्लेले भने, ‘शौचालयमा खानेपानीको धारा पुर्याउन नसकिए पनि ह्यान्ड पम्पबाट पानी उपलब्ध गराइएको छ।’
कार्यालयको प्रतिवेदन अनुसार, उपमहानगरमा चर्पीको शतप्रतिशत प्रयोग भई चर्पीको अवस्था सफा रहेको र ९० प्रतिशत चर्पीमा सरसफाइ सामग्री रहेको उल्लेख छ।
कैलाली जिल्लालाई देशको ५१औं जिल्लाका रुपमा आइतबार खुला दिसामुक्त क्षेत्र घोषणा गरियो। तर, सरसफाइको अवस्था भने डिभिजन कार्यालयको कागजी तथ्यांकमै सीमित देखिन्छ। जिल्लाका एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो। तर, जिल्लामा सरसफाइको अवस्था निकै दयनीय छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लामा धारा, ह्यान्ड पम्प लगायत गरी ९७ प्रतिशत भागमा आधारभूत खानेपानीको पहुँच रहे पनि अझै तीन प्रतिशतले नदी तथा खोलाकै दूषित पानी प्रयोग गरिरहेका छन्।
डिभिजन कार्यालयका प्रमुख काफलेले खानेपानीको पहुँच ९७ प्रतिशत रहे पनि कुल घरधुरीको ६० प्रतिशत मात्र शुद्ध खानेपानीको पहुँचमा रहेको जानकारी दिए। कार्यालयले खानेपानी र सरसफाइको अभाव हटाउन बेहडाबाबा मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा खानेपानी आयोजना अघि बढाए पनि हालसम्म सम्पन्न हुन सकेका छैनन्।
डिभिजन प्रमुख काफ्लेले स्थानीयको जनश्रमदान नहुनु, मन्त्रालयबाट न्यून बजेट विनियोजन हुनु लगायतका कारणले आयोजना सक्न समस्या भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।