काठमाडौं– भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठमाथि गठ्ठाघरमा गत बैशाख ८ गते साघांतिक आक्रमण भयो। निवास अगाडि उनको गाडीमाथि अन्धाधुन्द आक्रमण गरी आक्रमणकारीहरु फरार भए।
गम्भीर घाइते भएका श्रेष्ठ अस्पताल भर्ना भए।
भोलिपल्टैदेखि प्रहरी टोली आक्रमणकारीको खोजीमा जुट्यो। अनुसन्धानको क्रममा भोलिपल्टै प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको माओवादीका कार्यकर्ताले श्रेष्ठमाथि आक्रमण गरेको पत्ता लाग्यो। आक्रमणमा संलग्न केही व्यक्तिहरु पक्राउ पनि परे।
तर, मुख्य नाइके कुशल बोगटीलाई पक्राउ गर्न प्रहरीलाई निकै हम्मे पर्यो। पर्सिपल्टै प्रमुख योजनाकार बोगटी भएको खुले पनि उनी मंगलबार मात्र पक्राउ परेका छन्।
प्रहरीको अनुसन्धानलाई झुक्याउन उनले धेरै तरिका अपनाएका थिए। सधैं ठाउँ परिवर्तन गरेर बस्दै आएका थिए। यो बीचमा उनले सीमकार्ड मात्र १३ वटा र मोबाइल ५ वटा प्रयोग गरेको अनुसन्धानमा खुलेको छ। यसरी करिब तीन साता प्रहरीलाई छक्याए पनि अन्ततः उनको केही लागेन। मंगलबार उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बागबजारबाट पक्राउ गरेको छ। छैंटौं प्रयासमा उनलाई पक्राउ गरिएको अपराध महाशाखाका डिएसपी सोमेन्द्रसिंह राठौर बताउँछन्।
महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार उनी नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी हुन्। मेयरहरुलाई तर्साएर पैसा असुल्नका लागि आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
आक्रमणमा प्रयोग भएका २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेक उपर ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।