जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिलाई लिएर प्रदेश २ को प्रदेशसभामा चर्काचर्की भएको छ।
मंगलबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको अभिव्यक्तिबारे सांसदहरु दुई भागमा बाँडिए। सत्तारुढ दल संघीय 8वादी फोरम तथा राजपाका सांसदहरुले मुख्यमन्त्री राउतको अभिव्यक्तिको खुलेर प्रशंसा गरे भने नेकपा एमाले, नेपाली कांग्रेस तथा माओवादी केन्द्रका सांसदहरुले आपत्ति प्रकट गरे।
बैठकमा राजपाका सांसद परमेश्वर साहले मुख्यमन्त्री राउतले यो अभिव्यक्ति दिएर साहसिक काम गरेको टिप्पणी गरे। सदनमा आक्रामक रुपमा प्रस्तुत भएका सांसद साहले भने, 'भारतीय दूतावासको भत्ता खान मिल्ने, सिफारिसमा छोराछोरीलाई पढाउन मिल्ने तर भारतको सरकार प्रमुख आउँदा आफ्नो दुःख पोख्न पनि नमिल्ने?'
सांसद साहले २००७ सालको सम्झौता र माओवादी तथा सरकारबबीचको सम्झौता कहाँ भएको थियो भन्ने प्रश्न गर्दै भने, 'ती सम्झौता भारतको भूमिमा गर्न सकिन्छ भने आफ्नै भूमिमा आफ्नै पीडा किन पोख्न मिल्दैन?'
कांग्रेसका सांसद शिवचन्द्र चौधरीले संविधान संशोधनको कुरा भारतीय प्रधानमन्त्रीलाई सुनाएर हुनेवाला केही नभएको टिप्पणी गरे। 'यसका लागि देशभित्रै आपसमा छलफल गरेर अगाडि बढ्न सकिन्छ', उनले भने।
सांसद चौधरीले मोदी अभिनन्दन कार्यक्रमको सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिनुपर्ने भए पनि प्रदेश सरकारले त्यसो गर्न नदिएको भन्दै आपत्ति जनाए।
यस्तै, माओवादी केन्द्रकी सांसद ज्वालाकुमारी साहले विदेशी पाहुनाको अगाडि आफ्नो देशको आन्तरिक कुरा राख्नु कूटनीतिक मर्यादा विपरीत भएको बताइन्।
माओवादीकै सांसद दिलीप साहले भारतीय प्रधानमन्त्रीको अभिनन्दन कार्यक्रममा त्रुटि नै त्रुटि देखिएको भन्दै सरकारले मोदीको भ्रमणलाई व्यवस्थित बनाउन नसकेको आरोप समेत लगाए।
बैठकमा मोदीको जनकपुर भ्रमणमा भएको खर्चको हिसाब पेश गर्न समेत माग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।