इन्दोर- आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलावेन पञ्जावलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। जितपछि १२ खेलबाट १० अंक जोड्दै बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना बढाएको छ।
समूह चरणका अन्तिम २ खेल बाँकी छदा कोलकता नाइटराइडर्स, राजस्थान रोयल्स, पञ्जाव र बैंग्लोरको समान १२-१२ अंक छ। अब यी चार मध्ये २ टिम प्लेअफमा पुग्नेछन्। १८ अंक जोडेको सनराइजर्स हैदरावाद र १६ अंक जोडेको चेन्नई सुपरकिंग्स यसअघि प्लेअफमा पुगिसकेका छन्।
सोमबार पञ्जावले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले विकेट नगुमाई ८.१ ओभरमा पार गर्यो। बैंग्लोरका लागि कप्तान विराट कोहलीले नटआउट ४८ र पार्थिव पटेलले नटआउट ४० रन जोडे। कोहलीले २८ बलमा ६ चौका र २ छक्का तथा पटेलले २२ बलमा ७ चौका प्रहार गरे।
त्यअघि बैंग्लोरका उमेश यादवले ३ विकेट लिएपछि पञ्जाव १५.१ ओभरमा ८८ रनमा अलआउट भयो। पञ्जावका ओपनरद्वय लोकेश राहुल २१ रन तथा क्रिस गेल १८ रनमा आउट भए। दुवैलाई म्यान अफ दि म्याच उमेश यादवले सिकार बनाए। आरोन फिन्चले २६ रन जोड्दा पञ्जावका ८ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाई आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।