काठमाडौं– बाराका ६७ वर्षिय नारायण प्रसाद पाठक गत २६ गते विभिन्न सामान र ७ लाख ५५ हजार रुपैयाँ लिएर काठमाडौं आएका थिए। बल्खुमा सुमोबाट झरेपछि सामानहरु ट्याक्सीमा लोड गरी कमलादीतर्फ लागे।
सामानहरु ट्याक्सीको पछाडी लोड गरेका थिए। पैसा रहेको झोला अगाडि आफुसँगै राखे।
कमलादीमा उनका छोरा रमेश पाठकको पसल थियो। कमलादी चोकमा ट्याक्सी रोकेर सामान झारे। पछाडीको सामान झार्दा पैसा रहेको अगाडीको झोला भने उनले लिन बिर्सिए।
ट्याक्सी गइसकेपछि उनको होसहवास उठ्यो।
ट्याक्सी नम्बर पनि उनलाई थाहा थिएन।
तर, पनि प्रहरीले पत्ता लगाउन सक्ने आशा लिएर उजुरी बोकेर ट्राफिक प्रहरीमा पुगे।
ट्राफिक प्रहरीले उनी कमलादीमा झरेको समय लिएर ट्याक्सी नम्बरको पहिचान प्रयास गर्यो । त्यसका लागि सिसी क्यामेरा बाहेक अरु अनुसन्धानको उपाय थिएन।
सडकमा रहेका सिसी क्यामेरा हेर्दै जाँदा पाठक चढेको ट्याक्सी नम्बर पत्ता लाग्यो ।
बा १ ज ३६५ नम्बरको ट्याक्सीले उनको चढेका थिए।
ट्याक्सी नम्बर खुलाएर ट्राफिक महाशाखाले थप खोजी गर्न महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई पत्राचार गर्यो। कमलपोखरी वृत्तले शनिबार ट्याक्सी पत्ता लगाई चालक अशोक थापालाई पक्राउ गरेको हो।
चालकले भेटिएको ७ लाख ५५ हजार रुपैयाँमध्ये ६ लाख फेला गर्यो। वर्षा गुरुङ नामक युवतीको कोठामा लगेर उनले पैसा लुकाएका थिए।
ट्याक्सीमा छुटेको पैसा फिर्ता गर्नुको सट्टा लुकाउन खोजेकाले उनलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअनुसार कारबाही अघि बढाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले पाठकलाई पैसा फिर्ता दिएको छ।
यदी सडकमा सिसी क्यामेरा जडान नगरेको भए पाठकको यो पैसा भेटिने थिएन। सहरमा सबै सडक कभर गर्ने गरी सिसी क्यामेरा जडान गर्न सके सबै जसो अपराधहरु यसैगरी सजिलै पत्ता लाग्ने प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।