काठमाडौं- असीको दशक जतिबेला अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोना विश्व फुटबलमा सनसनी मच्चाइरहेका थिए। नेपालमा एउटा युवा खेलाडीको तुलना उनीसँग हुन थाल्यो। उस्तै उचाइ। लामो र कर्ली परेको ‘हेयर कट’। देब्रे खुट्टाले प्रहार गर्न सक्ने गजबको समानता। फेरि दुवै मैदानमा उत्रिन्थे, १० नम्बर जर्सी पहिरिएर।
करिब एक दशक नेपालको राष्ट्रिय टोलीबाट खेल्दा मणि शाहको परिचय बनिसकेको थियो, ‘नेपाली म्याराडोना’।
सुन्दा अचम्म लाग्न सक्छ, म्याराडोनाको खेलको भक्त मणिसँग आफ्नो लोकप्रिय खेलाडीको कुनै चिनो छैन। बरु अन्तर्राष्ट्रिय फुटबलमा म्याराडोनाका कट्टर प्रतिस्पर्धी मानिने ब्राजिली फुटबलका महान् हस्ती पेलेले पठाएको उपहार छ।
आखिर कसरी पेलेले ‘नेपाली म्याराडोना’लाई आफूले हस्ताक्षर गरेको ब्राजिलको १० नम्बर जर्सी पठाए?
यसको कहानी रोचक छ।
ब्राजिलको साओ पाउलो फुटबलका लागि चर्चित छ। यहाँको सडक मात्र होइन, रेस्टुराँमा समेत फुटबलको चहलपहल मज्जाले अनुभव गर्न सकिन्छ। यसमा पनि ब्राजिललाई तीनपल्ट विश्वकप उपाधि दिलाउने मेघास्टार खेलाडी पेलेको पोस्टर र टिसर्ट जताततै देखिनु अनौठो होइन।
ब्राजिलको यही सहरमा आफ्ना कट्टर समर्थकलाई अटोग्राफ दिन पुग्ने गर्छन, पेले। तर रोचक विषय, उनको अटोग्राफ सबैले पाउँदैनन्। पेलेको अटोग्राफ लिन महिनौंअघि आफ्नो नामसहित सम्पूर्ण विवरण पठाउनुपर्ने हुन्छ। यही विवरणको आधारमा पेले आफ्ना कट्टर समर्थक र प्रतिभावान् खेलाडीलाई अटोग्राफअंकित टिसर्ट प्रदान गर्छन्। करिब १० वर्षअगाडि ब्राजिलमा रहेका मणिका एक समर्थक गणेश रिमालले सम्पूर्ण विवरण टिपाएका थिए।
नेपाली भए पनि मणिको खेल जीवन लोभलाग्दो थियो। त्यसैले पेलेले १० नम्बर जर्सीमा आफ्नो नाम सम्बोधन गर्दै हस्ताक्षर गरे। साओ पाउलोमा आफ्नो लागि पेलेले ब्राजिलको १० नम्बर अंकित जर्सीमा हस्ताक्षर गरिरहँदा मणि भने नेपालमा अनभिज्ञ थिए।
रिमालले जर्सी काठमाडौं पठाए। मणि चकित परे।
अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष हुँदा मणिलाई सन् २००२ विश्वकपको सेमिफाइनल र फाइनल जापानको रंगशालामा गएर हेर्ने मौका जुरेको थियो। यतिबेला उनले आफ्ना आदर्श म्याराडोनासँग भेट हुने अपेक्षा गरेका थिए। म्याराडोनाका लागि फिफाले रंगशालामा बसेर हेर्ने विशेष व्यवस्था मिलाएको थियो। फुटबल हेर्न म्याराडोना जापान त पुगे तर भिसा विवादका कारण उनले खेल रंगशालामा नभएर होटलमा बसेर हेर्नुपर्यो। यसपछि मणिको म्याराडोना भेट्ने सपना त्यहीँ तुहियो।
मणि शाह सन् १९८५ दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए। यतिबेला उनको उमेर १७ वर्ष मात्र थियो। उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा आयोजित एसियाडमा देशको झन्डा बोक्दै इतिहास रचेका थिए। एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन्।
मणिको नेपाली फुटबलमा सम्झनलायक थुप्रै खेलहरू छन्। सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको एक मात्र स्वर्ण फुटबलबाट प्राप्त भएको थियो। त्यतिबेला नेपाललाई स्वर्ण दिलाउन उनकै भूमिका निर्णायक थियो।
भारतविरुद्ध फाइनलमा खेल सकिन ३० सेकेन्ड बाँकी हुँदा पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै हारको संघारमा पुगेको नेपाललाई जोगाएका थिए। उनले गोल गर्नुअघि नेपाल २–१ गोलले पछाडि थियो। उनको ‘ट्रेडमार्क’ बायाँ खुट्टाको फ्रि-किक गोलपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। र, नेपालले अन्ततः पेनाल्टी सुटआउटमा भारतलाई ४–३ गोलले जित्यो। पेनाल्टीमा पनि उनले महत्वपूर्ण गोल गरे।
फर्ममा रहेकै अवस्थामा उनले १९९७ मा फुटबलबाट संन्यास लिए।
उनै शाहको सोमबार ५१ वर्षको उमेरमा निधन भएको छ। शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। नेपाली फुटबलमा लामो समय योगदान दिएका शाहलाई नेपाली फुटबलप्रेमीले सधैं सम्झिरहनेछन्। अलविदा मणी शाह।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।