काठमाडौं– नेपाली कांग्रेका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली महालम्पसारवादी भएको आरोप लगाएका छन्।
संसद्मा आज सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीमा हीनताबोध देखिएको बताए। 'प्रधानमन्त्रीले भन्नुभयो, देशको हित विपरीत काम गरेको छैन', थापाले भने, 'कसले भनेको थियो? न सडकमा कसैले भनेको थियो, न संसद्मा। यो हीनताबोध किन?'
'ओलीभन्दा अघि दुई जना प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गर्नुभएको थियो', थापाले भने, 'तर, उसैगरी कुरा गर्दा कसैलाई सिंगडा खान गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनियो। आफूले गर्दा पुण्य, अरुले गर्दा पाप?'
'सुशील कोइरालाको अडानका बीचमा संविधान आयो, त्यही अडानका बीचमा नाकाबन्दी लागाइयो। त्यही सुशील कोइरालालाई लम्पसारवादी भन्नेले आज नेपालभित्र भारतको सेना किन आयो भन्दै गर्दा सत्तासीन पार्टीका एकजना सांसद उठेर भन्दै हुनुहुन्छ– नेपालको सरकारले सुरक्षा दिन सकेन। त्यसैले भारतको सेना नेपाल आएको हो', थापाले भने, 'कतै कालापानी दोहोर्याउन खोजिएको त होइन?'
'भारतीय राष्ट्रपतिको तामझामलाई व्यंग्य गर्दै एमाले अध्यक्षले त्यतिबेला भनेका थिए– भ्रमण ठीक छ। तर, यो तामझाम हेर्दा भन्न मन लागेको छ कि सरकार लम्पसारवादी भएको छ', थापाले भने, 'उहाँकै परिभाषा अनुसार यो तामझामलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने?'
'हिजो भारतसँग कुराकानी मात्रै गर्नुपर्छ भन्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दाखेरी घुँडामा घाउ भयो भन्नुभएको थियो', थापाले भने, 'तर, हिजो अबदेखि नाकाबन्दी हुँदैन भनेर जिम्मा लिएर भन्ने प्रधानमन्त्रीलाई मैले भन्न पाउने कि नपाउने– तपाईंको घुँडामा भ्वाँङ पर्यो कि परेन?'
'हिजो चुनावका बेला मैले मात्र नेपाल बचाएको छु, अरु सबै नेता नेपाल बेच्न उद्दत छन् भनेर भन्नुभएको, मैले त्यही क्षण सम्झाएको छु', थापाले थपे, 'हिजो अरुलाई कुरीकुरी भन्नुभएको थियो, आज नांगै हिँड्नुभएको छ।'
थापाले सरकारले चाकडी र लम्पसारवादी व्यवहार देखाएको आरोप लगाए। उनले नाकाबन्दी बिर्सेका छैनौं भन्नेहरुलाई सरकारले देखाएको व्यवहारको आलोचना समेत गरे।
'हिजो एमालेका साथीहरुले भारतीय राजदूतावासको अगाडि गएर प्रदर्शन गर्न पाउने, तर आज कसैले आफ्नो पार्टी कार्यालयको अगाडि ब्यानर राख्न नपाउने? कोही पत्रकारले प्रवेश गर्न नपाउने? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने', थापाले प्रश्न गरे, 'यो कस्तो लम्पसारवाद हो? यो कस्तो चाकडी हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।