काठमाडौं– नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच आइतबार साँझ सहमति जुटेको छ। पटक-पटकको भेटवार्ता र छलफलपछि दुई संघबीच सहमति जुटेको नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाले नेपाल लाइभलाई जानकारी गराए।
आर्थिक पारदर्शिता, ५०/५० प्रतिशत सेयर बाँडफाँट, बक्सअफिस कार्यान्वयन, हलमा पोस्टर, ट्रेलर, टिजरको नि:शुल्क प्रदर्शन लगायतका माग राखेर निर्माता संघले आन्दोलनको घोषणा गरेको थियो। संघले जेठ ४ देखि हलमा फिल्म चल्न नदिने संघर्षको कार्यक्रम पनि तय गरेको थियो।
सहमति अनुसार अब निर्माता र चलचित्र हलवालाले सिंगल थिएटरबाट फिल्मले प्राप्त गरेको ५०/५० प्रतिशत आम्दानी प्राप्त गर्नेछन्। त्यसैगरी २के पिक्चर क्वालिटी भएका र प्रति टिकट मूल्य रु २५० तोकिएका मल्टिप्लेक्स हलहरुबाट प्राप्त आम्दानीको सेयर भने पहिलो हप्ता ५०/५० प्रतिशत तथा दोस्रो हप्ताबाट निर्माताहरुले ४५ प्रतिशत, तेस्रो हप्ताबाट ४० प्रतिशत र चौथो हप्ताबाट ३५ प्रतिशत सेयर पाउनेछन्।
आर्थिक पारदर्शिताका सम्बन्धमा पनि नयाँ सहमति अनुसार फिल्म प्रदर्शनमा आएको २/२ हप्तामा फिल्म निर्माताहरुलाई नगदमा आयव्ययको हिसाबकिताब बुझाउने २ पक्षबीच सहमति भएको छ।
राणाका अनुसार नेपाल सरकारले दिएको समय अनुसारनै बक्सअफिस लागू गर्न २ पक्षले सहमति जनाएका छन्। यस्तै जेठ २ गतेबाट उपत्यकाभित्र र साउन १ गतेबाट नेपालभर बक्सअफिस लागू गर्न दुवै पक्ष सहमत भएका छन्।
हलहरुमा फिल्म प्रदर्शनमा आउनुभन्दा २ हप्ताअघिबाट फिल्मका पोस्टर, ट्रेलर तथा टिजर प्रदर्शनका लागि कुनै लागत नलाग्ने भएको छ। यदि निर्माताहरुको इच्छा अनुसार २ हप्ताभन्दा बढी फिल्मको विज्ञापन गर्नुपरेमा भने हलवालालाई शुल्क बुझाउनुपर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।