काठमाडौं– विमानस्थलबाट भइरहेको सुन तस्करी गिरोहसँग मिलेर हुन्डीको कारोबार गर्ने दुई जना पक्राउ परेका छन्। गृह मन्त्रलायका सहसचिव नेतृत्वको छानबिन समितिले आइतबार दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखाका मोती श्रेष्ठ र झापाका विनोद अधिकारी छन्। दुबईबाट तस्करी भएर आएको सुनको पैसा उनीहरुले हुन्डीमार्फत दुबईमा भुक्तानी दिने गरेको खुलेपछि पक्राउ गरिएको छानबिन समितिका एक अधिकारीले बताए। पक्राउ परेकालाई संगठित अपराध मुद्दामा कारबाही गर्न जिल्ला प्रहरी कार्यालय, मोरङ पठाइएको छ।
चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको थियो। सो समूहले विमानस्थलमा सेटिङ मिलाएर १७ अर्ब रुपैयाँ बराबरको सुन तस्करी गरेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ। त्यसबापतको भुक्तानी सबै हुन्डीमार्फत हुँदै आएको थियो।
गोरेको समूहले माघ ९ गते विमानस्थलबाट तस्करी गरेको साढे ३३ किलो सुन हराएपछि सोही समूहमा आबद्ध सनम शाक्यको हत्या भएको थियो। सो हत्यामा आफू जोगिन गोरेले आफू निकट प्रहरीलाई परिचालन गरेर अनुसन्धान प्रभावित गर्न खोजेपछि गृह मन्त्रालयले छानबिन थालेको थियो। छानबिनका लागि विमानस्थलबाट संगठित रुपमा सुन तस्करी हुँदै आएको र त्यसमा प्रहरीदेखि एयरलाइन्सका कर्मचारीले समेत सघाउँदै आएको खुलेको हो। तस्करी समूहलाई सहयोग गर्ने ८ प्रहरी अधिकारीसहित ३० जना पक्राउ परिसकेका छन्। जिल्ला अदालत मोरङमा उनीहरुको थुनछेक बहस चलिरहेको छ। थप दुई पक्राउ परेसँगै पक्राउ परेका अभियुक्तको संख्या ३२ पुगेको छ। मुद्दा दायर गरिएका ३३ जना फरार छन्।
दोस्रो चरणको छानबिन
छानबिन समितिले सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। जसमा तस्करीको सुन लगानी गर्ने, हुन्डी तथा डलरको अवैध कारोबार गर्नेहरुमाथि केन्द्रित छ। त्यस्तै लुटिएको साढे ३३ किलो खोजी पनि जारी रहेको समितिका एक अधिकारीले भने।
छानबिनका लागि पक्राउ परेका भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङलाई पक्राउ गरी समितिले सोधपुछ गरिरहेको छ। स्रोतका अनुसार हालसम्मको अनुसन्धानमा डा. डेभिड भन्ने छिरिङ वाङ्गेल घलेको समूहले सुन लुटेको खुलेको छ। घले गुरुङका भान्जा हुन्। उनी फरार छन्। गोरेको समूहसँग विवाद भएपछि उनले सुन लुटेको आशंका गरिएको छ।
चैत २० गते गठन भएको समितिलाई ४५ दिनको म्याद दिइएको थियो। म्याद यही साता सकिँदैछ। मन्त्रालयले समितिको म्यान थपको तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।