काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालको असर देशका मुख्य-मुख्य सहरी क्षेत्रमा देखिएको छ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरमा सार्वजनिक सवारी ठप्प प्राय भए। निजी सवारी भने छिटपुट रुपमा चले। राजधानीको सामाखुशीमा बिहानै बन्दकर्ताहरुले एउटा ट्याक्सीमा आगजनी गरेका थिए।
१८८ पक्राउ
आमहड्तालको नाममा तोडफोडमा उत्रिएका १८८ जनालाई देशभरबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी बसन्त कुँवरले बताएका छन्। तीमध्ये काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी ८६ जना पक्राउ परे।
पक्राउ परेकामध्ये १७१ जना पुरुष छन्। प्रचण्ड-नेपाल पक्षका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित ७ जना महिला पनि पक्राउ परेका थिए। शाक्यलाई भने प्रहरीले कलंकीबाट पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये अहिलेसम्म ४० जनालाई रिहा गरिएको प्रवक्ता कुवँरले बताएका छन्। अन्यको हकमा भने साधेपुछको काम भइरहेको उनले बताए। तोडफोडमा संलग्न भएको नपाइए छाडिने प्रहरीले जनाएको छ।
३२ सवारीमा क्षति, ३ सरकारी गोडी तोडफोड
आमहड्ताल उल्लघंन गरेर सवारी चलाएको भन्दै बन्दकर्ताहरूले सवारी साधनमा समेत तोडफोड गरेका छन्। तोडफोडबाट देशभर ३२ वटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
केही गाडीमा सामान्य क्षति पुगेको छ भने केही गाडीमा ठूलो क्षति पुगेको छ। तोडफोड भएकामध्ये ३ वटा सरकारी गाडीसमेत रहेको प्रवक्ता कुँवर बताएकाछन्।
१ वटा गाडीमा भने आगजनी भएको छ। सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेका थिए। प्रहरीले पानीको फोहरामार्फत् आगो नियन्त्रणमा लिएपनि गाडीमा ठूलो क्षति भएको थियो।
जनकपुरमा २७ राउन्ड हवाइ फायर
बन्दकै क्रममा जनकपुरमा भने २७ राउन्डसम्म गोली चलेको छ। बन्दको विरोध गर्दै जनकपुरका व्यवसायीहरुले पसल खालेका थिए। त्यसपछि बन्दकर्ता र व्यवसायीबीच झडपको स्थिति बनेको थियो।
सो क्रममा स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाई फायर गर्नु परेको प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहले बताए। त्यसभन्दाअघि प्रहरीले १२ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो।
स्थायी कमिटी सदस्य यादव र प्रहरी पनि घाइते
जनकपुरमै भएको झडपमा नेकपा स्थायी कमिटी सदस्य मातृका यादव केन्द्रीय कमिटी सदस्य रामचन्द्र झासहित प्रहरीसमेत घाइते भएका छन्।
दुई प्रहरी र एक सशस्त्र प्रहरी घाइते भएको प्रवक्ता कुँवरको भनाइ छ। अन्यत्र भने सामान्य झडप भएपनि घाइते भने भएका छैनन्।
कहाँ-कहाँ प्रभाव?
पोखरामा बन्दको सामान्य प्रभाव देखिएको छ। बन्दकर्ताले गुडिरहेको कारलाई तोडफोड गर्न लागेपछि पोखराको महेन्द्रपुलमा प्रहरी र बन्दकर्ताबीच विवाद भएको थियो। बन्दको प्रभाव पोखरामा आंशिक परेको थियो।
पोखराका सडकमा छिटपुट रुपमा मोटरसाइकल चलेका थिए। सार्वजनिक सवारी साधन न्यून मात्रामा संचालन भए।
यस्तै, प्रहरीले आमहड्तालमा उत्रिएका ५ जनालाई प्रहरीले मोरङबाट नियन्त्रणमा लिएको थियो। मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित महानगर संघर्ष समितिका सहसंयोजक मीरा दाहाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
बन्दकर्ता शारदा मैनाली, चम्पा कार्की, मीना पोखरेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विराटनगरमा सरकारी गाडी तोडफोड गरेपछि प्रहरीले पक्राउ गरिएको थियो।
यसैगरी, धरानमा भने मजदूर र बन्दकर्ताहरूबीच झडप भएको थियो। धरानको भानुचोकमा बन्दकर्ता नेकपा कार्यकर्ताले टेम्पोमा तोडफोड गर्न खोजेपछि मजदूरहरू र बन्दकर्ताबीच झडप थियो।
अन्य ठाउँका तुलनामा काठमाडौं उपत्यकामा बन्दको प्रभाव बढी देखियो। उपत्यका भित्रिने मुख्य नाकाहरूमा भने बन्दको प्रभाव बढी रहेको छ। मुख्य नाका छिर्ने ठाउँमा ठूलो संख्यामा प्रचण्ड-नेपाल पक्षका नेता कार्यकर्ताको उपस्थित रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।