काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्रीको अधिकारबारे प्रश्न उठेको छ।
सरकारबाट तर्फबाट बहस गरिरहेका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई संविधानमा नलेखिएको अधिकार हुन्छ भन्ने तर्क गरेपछि इजलासले प्रश्न उठाएको हो।
‘प्रधानमन्त्रीलाई विघटनको अधिकार संविधानमा लेख्न नपर्ने अनि, अविश्वासको प्रस्तावबारे लेख्न पर्ने हो?’, न्यायाधीश सपना प्रधान मल्लले सोधिन्, ‘सन्तुलनको कुरा गर्दा प्रधानमन्त्री मात्रै बलियो हुनुपर्ने भन्नुहुन्छ। कसरी सन्तुलन मिल्छ ? प्रधानमन्त्रीले सबै अधिकार मैले मात्र प्रयोग गर्न पाउँछु भन्न मिल्छ ?’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए। संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा सोमबारदेखि सरकारी पक्षको बहस जारी छ।
रिट निवेदकका तर्फबाट १३ दिन लामो बहस भएको थियो। महान्यायाधिवक्ता अग्नि खरेलले आफूहरूलाई पनि १३ दिन नै चाहिने यसअघि इजलासमा माग गरिसकेका छन्। उनले सोमबार र मंगलबार बहस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।