काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा बहस गर्न काठमाडौंबाट गएका वरिष्ठ अधिवक्ताहरुले नेपालमा सुन नै नआएकाले तस्करी भएको भनी गरिएको जिकिर गलत भएको बताएका छन्।
यसरी बहस गर्ने वरिष्ठ अधिवक्ताहरुमा शम्भु थापा, रमण श्रेष्ठ र यदुनाथ खनाल हुन्। १७ अर्बको सुन तस्करी भएको भनी आरोपपत्र बनाइए पनि सो आरोप पुष्टि हुने आधार नदेखिएको भन्दै उनीहरुले अभियुक्तहरुले सफाइ पाउनुपर्ने तर्क गरेका छन्।
सुन तस्करी प्रकरणमा आइतबार सरकारी वकिलको कार्यालयको बहसपछि प्रतिरक्षामा बहस गर्न उत्रेका वरिष्ठ अधिवक्ताहरुले आरोप पुष्टि हुन तस्करी भएको भए सुन फेला पर्नुपर्ने तर्क समेत न्यायाधीश समक्ष पेश गरे।
प्रतिवादीहरुका तर्फबाट बहस गर्नेमध्येका श्रेष्ठले सुन तस्करी हुनका लागि सुन फेला पर्नुपर्ने तर्क इजलास समक्ष आफूहरुले गरेको बताए।
‘सुन नै फेला नपरेको अवस्थामा तस्करी गरेको भनी झुटा आरोप आफ्ना प्रतिवादीहरुलाई लगाएको तर्क हामीले श्रीमान् समक्ष राखेका छौं’, श्रेष्ठले भने, ‘कुनै फिल्मको कहानी जस्तो लाग्ने कथामा घुमाएर सबैलाई एकै ठाउँमा राखी अभियोगपत्र पेश भएको देखिन्छ।’
१७ अर्बको सुन तस्करी भएको भनिए पनि ५ देखि १७ लाखसम्म घुस दिएको भनी गलत प्रमाण पेश भएको तर्क गर्दै वरिष्ठ अधिवक्ताहरुले इजलासमा बहस गरेका छन्।
वरिष्ठ अधिवक्ताका साथै अधिवक्ताहरु राजु बस्नेत र उद्धव केसीले पनि अभियुक्तहरुको पक्षमा बहस गरेका थिए।
सुन तस्करी र हत्या प्रकरणमा जिल्ला अदालतमा बहसका लागि १० वरिष्ठ अधिवक्ता र अधिवक्ताहरु गरी ८० जनाले नाम लेखाएका छन्। पहिलो दिन आइतबार राजधानीबाट गएका वरिष्ठ अधिवक्ताहरुलाई पालो दिइएको थियो।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।
सरकारी वकिलको कार्यालय मोरङले गत बुधबार बहालवाला एसएसपी, अन्य प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विरुद्ध मुद्दा दायर गरेको थियो।
मिलेमतोमा सुन तस्करी गर्ने चुडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्यािएको दाबी गरिएको थियो। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
कसले कसको तर्फबाट बहस गरे?
रमण श्रेष्ठ : भुजुङ गुरुङ, पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल
शम्भु थापा : भुजुङ गुरुङ र एसपी विकासराज खनाल
यदुनाथ खनाल : विकासराज खनाल
राजु बस्नेत : त्रिभुवन विमानस्थलका कर्मचारीहरु
उद्धव केसी : थाई एयरलाइन्सका कर्मचारीहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।