काठमाडौं- दुई महिनाअघि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट लागि नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले पहिलो बोलीमै टिममा भित्राएको थियो। २० लाख भारुमा सोचेभन्दा सहज रुपमा आवद्ध भएका सन्दीपका लागि आइपिएलमा डेब्यू भने सहज हुन सकेन। किनकी सन्दीपले ११ खेलमा मौका पाएनन्। ११ मध्ये ३ खेलमा मात्रै जित हात पारेकाे दिल्ली समूह चरणबाटै बाहिरिसकेकाे छ। समूह चरणबाट बाहिरिएको दिल्लीले १२औं खेलमा भने सन्दीपलाई मौका दियो।
रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार डेब्यूको मौका पाउँदा सन्दीपसामू चुनौतीको पहाड थियो। किनकी सन्दीपले आइपिएलकै सबैभन्दा राम्रा ब्याट्सम्यान आवद्ध टिमविरुद्ध बलिङ गर्दै थिए। पहिले ब्याटिङ गरेको दिल्लीले बैंग्लोरसामू १ सय ८२ रनको लक्ष्य पेश गर्यो। जहाँ सन्दीपलाई दिल्लीका कप्तान श्रेयस एेयरले पहिलो ओभरमा बलिङ दिएर जोखिम मोले।
सन्दीपले पहिलो ओभरमै प्रभावशाली बलिङ गर्न सफल भए। उनले पहिलो ओभरमा केवल ६ रन खर्चिदा बैंग्लोरका पार्थिव र मोइन अली खुल्न सकेनन्। पहिलो ओभरमा 'भेरियसन'मा बल फ्याँकेकाले 'टेलिभिजन कमेन्टेटर'ले सुरुवातमै सन्दीपको प्रशंसामा शब्द खर्चिन सुरु गरेका थिए।
तेस्रो ओभरमा तेस्रो बलमा पार्थिवले सन्दीपलाई चौका प्रहार गरेका थिए। चौथो बलमा उनले विकेट लिएपछि सन्दीपले आइपिएलमा 'ड्रिम डेब्यू' गर्न सफल भए। उनले आइपिएलमा पहिलो विकेट लिने क्रममा पटेललाई ६ रनमा सिकार बनाए। उनले पटेललाई एलबिडब्लूको धरापमा पारेका थिए। ३३ वर्षीय पटेल भारतीय टिमका अनुभवी खेलाडी हुन्। उनले भारतीय टिमबाट २५ टेस्ट र २८ एकदिवसीय खेल खेलेका छन्।
विकेट लिएकै ओभरमा सन्दीपले दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र भारतीय कप्तान विराट कोलही विरुद्ध बलिङ गरे। ४ ओभर बलिङ गर्दा १ विकेट लिएर २५ रन दिए। १० बल डट फ्याँकेका उनले २ चौका र १ छ्क्का मात्र खाए। खेलमा दिल्लीका सबैभन्दा किफायती बलर बन्ने क्रममा उनको इकोनोमी ६.२५ थियो।
उनले भिलियर्सलाई ७ बल बलिङ गर्दा १० रन दिएका थिए। सन्दीपविरुद्ध सावधानीपूर्वक खेलेका भिलियर्सले १ छक्का मात्र प्रहार गरेका थिए। त्यसो त भिलियर्सले खेलमा सर्वाधिक रन बनाउने क्रममा नटआउट ७२ रन जोडेका थिए। जसमा ४ चौका र ६ छक्का सामेल थिए।
सम्बन्धित : सन्दीपको डेब्यू खेलमा बैंग्लोरले दिल्लीलाई हरायो
आइपिएलमा सन्दीप लामिछानेको 'ड्रिम' डेब्यू
भारतीय कप्तान विराट कोलहीले पनि सन्दीपविरुद्ध खुलेर ब्याटिङ गर्न सकेनन्। उनले सन्दीपका ८ बल खेल्दा ९ रन मात्र जोडे। जसमा १ चौका मात्र सामेल थियो। आइपिएलकै महँगा खेलाडी कोहलीविरुद्ध २० लाख रुपैयाँका 'सस्ता' खेलाडी सन्दीपले पहिलो खेलमा गरेको प्रदर्शनको भिलियर्सले समेत प्रशंसा गरे। खेलको म्यान अफ दि म्याच बनेका भिलियर्सले पोस्ट म्याच प्रिजेन्टेसनमा सन्दीपको प्रशंसा गरे। उनले भने, '१७ वर्षिय लामिछानेको प्रदर्शन प्रशंसनिय छ।'
विश्वकै लोकप्रिय तथा महंगो क्रिकेट लिग आइपिएलको डेब्यू खेलमा प्रभावशाली प्रदर्शनसँगै उनले विश्व क्रिकेटको ध्यान खिँचेका छन्। सँगसँगै उनले आफ्नो क्षमता पनि प्रमाणित गरेका छन्। अब उनीसामू बाँकी खेलमा पाएको मौकालाई सदुपयोग गर्ने चुनौती भने सधैं रहिरहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।