काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपाका नेताहरुलाई लोकतन्त्रमा सबै कुरा लोकतान्त्रिक विधि प्रक्रियाबाटै पूरा हुने बताएका छन्।
हायात होटलमा शनिबार दिउँसो पौने १ बजे भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न गएको राजपा अध्यक्ष मण्डलको टोलीलाई छोटो प्रतिक्रिया दिँदै मोदीले ढिलो चाँडो भए पनि सबै कुरा लोकतान्त्रिक विधिबाटै पूरा हुने बताएको राजपा स्रोतले जनाएको छ।
मोदीसँगको भेटमा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली मधेसका मुद्दा समेटेर संविधान संशोधन गर्ने पक्षमा सकारात्मक रहको र आफूहरु आशावादी रहेको बताएको राजपा स्रोतले जनायो।
राजपा स्रोतले नेपाल लाइभलाई भन्यो, 'मोदीजीले राजापा नेताहरुसँग जनकपुरमा पाएको सम्मान र नेपालको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताउनु भयो।'
राजपा नेता ठाकुरले प्रदेश २ को जनकपुरबाट नेपालको यात्रा शुभारम्भ गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए।
भेटका क्रममा मोदीले नेता ठाकुरसँग मात्र कुरा गरेका थिए। राजपा अध्यक्ष मण्डलका नेतालाई उदृद् गर्दै स्रोतले भन्यो, 'मोदीजीले छुट्ने बेलामा महन्थजीको स्वास्थ्य अवस्थाबारे जिज्ञाशा राख्नु भएको थियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।