सुर्खेत– सुर्खेतमा हुने कर्णाली प्रिमियर लिग (केपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक बन्धुविकास सहकारी संस्थाले सहभागी क्लबहरुको समूहसहित शनिबार खेल तालिका सार्वजनिक गरेको हो।
जेठ ३ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल भेरीगंगा स्पोट्र्स क्लब र टीकापुर क्रिकेट क्लबबीच हुनेछ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, रुपन्देही–११, महाकाली क्रिकेट क्लब, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, एबिसि क्लब, धनगढी क्रिकेट एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, भेरीगंगा स्पोर्ट्स क्लब र टीकापुर क्रिकेट क्लब गरी १० टिमले सहभागिता जनाउँदै छन्।
त्रिभुवन आर्मी क्लबमा विनोद भण्डारी, रुपन्देही–११ मा शक्ति गौचन, महाकाली क्रिकेट क्लबमा प्रदीप ऐरी, धनगढी क्रिकेट एकेडमीमा भुवन कार्की, रोयल राइजिङ क्रिकेट क्लवमा विवस गिरी, मध्यपश्चिम क्रिकेट क्लबमा सुबेन्दु पाण्डे, भेरीगंगा स्पोर्ट्स क्लबमा लोकेन्द्र विक, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा सञ्जय बस्नेत, एबिसी क्लबमा रवीन्द्र शाही र टीकापुर क्रिकेट क्लबमा राजन शेरचनले कप्तानी सम्हालेका छन्।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन, टीकापुर, रुपन्देही, भेरीगंगा र महाकाली छन् भने समूह ‘बी’ मा काठमाडौं, मध्यपश्चिम, रोयल राइजिङ, एबिसी र धनगढी छन्।
बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना र रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट बलर तथा ब्याट्सम्यानले १०÷१० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिए। प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ।
कर्णालीमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगिताको यो पहिलो सिजन भएको भन्दै संयोजक शाहीले आगामी वर्षमा पनि नियमित प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए। कर्णालीमा क्षमतावान क्रिकेट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।