काठमाडौं- पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण असफल भएको बताएका छन्। शनिबार ट्विट गर्दै डा भट्टराईले ज्ञवाली भारत भ्रमणबाट रित्तो कुटुरो बोकेर फर्किएको बताएका हुन्।
डा भट्टराईले मन्त्री ज्ञवालीको भ्रमणको बेला नमिलेको समेत टिप्पणी गरेका छन्। 'विदेशमन्त्री ज्ञवाली कुवेलाको भारतभ्रमणपछि ‘कुराकानी भएको’ ‘छळफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ,' उनले लेखेका छन्।
उनले ओली सरकारले देशको जटिल भूराजनीतिक स्थिति कहिल्यै बुझ्न नसकेको समेत आरोप लगाएका छन्। 'देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ,' डा भट्टराईको ट्विटमा लेखिएको छ।
नेपाली कांग्रेसका नेता गगन थापाले पनि मन्त्री ज्ञवालीको भारत भ्रमणलाई भारतले महत्व नै निदिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित विरोध सभामा प्रदर्शनलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटन गरेकाले सरकारको धरातल नै कमजोर भएको उल्लेख गरेका छन्।
प्रतिनिधि सभा विघटन गरेकै कारण भारतले नेपाललाई महत्व नदिएको समेत उनले बताए। 'प्रदीप ज्ञवाली कमजोर धरातलका परराष्ट्रमन्त्री रहेकाले मोदीले भेट दिएनन्,' उनले भने।
यस्तै नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिमालले पनि मन्त्री ज्ञवालीको भ्रमणमा सार्वजनिक मर्यादा समेत पालना नगरिएको बताएका छन्। भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण गर्दै उनले लेखेका छन्, 'भारतीय विदेश सचिव नेपाल आउँदा हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि विपक्षी नेतासम्मलाई भेटेर फर्किनुभएको थियो। हाम्रा परराष्ट्रमन्त्री भारत जाँदा चाहिँ भारतीय प्रधानमन्त्रीलाई पनि नभेटेर फर्किनुभएछ। लोकलाजका लागि पनि सार्वजनिक मर्यादा कायम गर्न सकेको भए!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।