काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे भारत भ्रमण क्रममा दीर्घकालीन असर पार्ने सन्धि-सम्झौता नगर्न विभिन्न क्षेत्रका १५ जना व्यक्तिले सचेत गराएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ ठहर गर्दै उनले महत्त्वपूर्ण सन्धि-सम्झाैता नगर्न सुझाएका हुन्।
‘सरकार निर्माण र सञ्चालनसम्बन्धी उत्तरदायित्व निर्वहन र अनुगमनको संविधान निर्दिष्ट वैध संसदीय संयन्त्रको अभावमा उत्तरदायित्वबिनाको अधिकारको यथारुचि प्रयोग संवैधानिक, राजनीतिक र नैतिक दृष्टिले विधिको शासनविपरीत, स्वेच्छाचारी र अस्वीकार्य मानिन्छ। लोकतन्त्र र संविधानवादमा आधारित सुशासनमा विश्वास गर्ने कुनै पनि सरकारले अहिलेको अवस्थामा दीर्घकालीन प्रकृतिका र नीतिगत निर्णय गर्दैन र गर्नु पनि हुँदैन,´ विज्ञप्ति भनिएको छ।
विज्ञप्ति जारी गर्नेमा इन्दिरा दली, डा. ऋषि अधिकारी, कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाई, दीपेन्द्रबहादुर क्षेत्री, निनु चापागाईं, मानवी पौडेल, युवराज पाण्डे, लीलामणि पौड्याल, सूर्यनाथ उपाध्याय, डा. सूर्यराज आचार्य, डा. सोमलाल सुवेदी, शारदाप्रसाद त्रिताल, डा. शूरवीर पौड्याल, हिरण्यलाल श्रेष्ठ छन्।
सरकार काम चलाउ भएकाे अवस्थामा वैदेशिक मामिलामा त सरकारले कुनै सन्धि वा सम्झौता, समझदारी वा दीर्घकालीन दायित्व सिर्जना हुनेजस्ता काम गर्ने कुराको कल्पना पनि गर्न नसकिने बताइएकाे छ।
भ्रमणमा जानु नै पर्ने कूटनीतिक प्रतिबद्धताको अवस्था हो भने बृहत्तर राष्ट्रिय सहमतिबिना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा मुलुकलाई न्यून लाभ हुने वा तत्काल न्यूनाधिक लाभ हुनेजस्तो देखिए पनि दीर्घकालमा त्यसबाट क्षति पुग्ने वा गम्भीर दायित्व सिर्जना हुने गरी सहमति जनाउने वा समझदारी गर्ने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नेजस्ता काम-कारबाही नगर्न उनीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
भ्रमणका क्रममा कोभिड-१९ विरुद्धको भ्याक्सिनको विषयलाई प्राथमिकतामा राखेर सम्झाैता गर्न सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।