काठमाडौं- जनकपुरको जानकी मन्दिरमा पूजा गरेर शुक्रबार नेपाल भ्रमणको सुरुवात गरेका नरेन्द्र मोदीले भ्रमणको दोस्रो दिन पनि पूजा र दर्शनबाटै सुरु गर्ने भएका छन्।
शनिबार बिहानै ६ बजे मुक्तिनाथ जाने तयारीमा रहेका मोदीले त्यहाँबाट फर्किएर पशुपतिनाथमा विशेष पूजा गर्ने तालिका छ। नेपाल आएको २४ घन्टामै नेपालका तीनै भू–भाग समेट्ने गरी भ्रमण तालिका बनाएका मोदीको योजनालाई मौसमले साथ देला या नदेला भन्न सकिने अवस्था छैन।
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा मे–जुन महिनामा अरुबेला हिउँ नपर्ने भए पनि यो वर्ष भने हिउँ परेकाले शनिबारको मौसम चिन्ताको विषय बनेको छ।
कस्तो हुनेछ मुक्तिनाथको मौसम?
१२ मे २०१८ अर्थात् २९ वैशाखमा मुक्तिनाथमा आंशिक बादल लाग्ने तर दिउँसोको समयमा बादल बढ्न सक्ने र पानी वा हिउँ पर्ने सम्भावना अधिक रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
राजधानी काठमाडौंको मौसम?
काठमाडौंमा पनि बिहानीको समयमा आशिंक बादल लाग्न सक्ने, दिउँसोको समयमा बादल लाग्न सक्ने र मध्याह्नमा फाटफुट वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। हिउँ वा पानी परेर मौसममा खराबी आयो भने मोदीको मुक्तिनाथ दर्शन अधुरै हुन सक्ने सम्भावना छ।
हेलिकोप्टरबाट जानेछन् मुक्तिनाथ
भारतीय प्रधानमन्त्री मोदी भारत बिहारको पटनाबाट जनकपुर आउँदा नै हेलिकोप्टरमा आउने भनिएको थियो, तर अन्तिम समयमा उनी भारतीय राजधानी नयाँ दिल्लीबाट एअर इन्डियाको विमानमा जनकपुर ओर्लिए। जनकपुरबाट सोही विमानमा काठमाडौं आए।
मोदी मुक्तिनाथ भ्रमणका लागि जाने भएपछि मंगलबारदेखि नै अन्नपूर्ण पदमार्ग बन्द गरिएको थियो भने मन्दिरको सरसफाइ पनि गरिएको थियो। शनिबार मोदी मुक्तिनाथ जाने भएपछि त्यहाँ शनिबार बिहानैदेखि कसैलाई पनि प्रवेश नदिने तयारी गरिएको छ भने सुरक्षा सतर्कर्ता बढाइएको छ।
'प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानमा नेपाल आए पनि मुक्तिनाथ भ्रमणका लागि अर्को एक विशेष चार्टर्ड हेलिकोप्टर आइसकेको छ। उहाँ त्यही हेलिकोप्टरबाट शनिबार बिहान मुक्तिनाथ दर्शनका लागि जानुहुनेछ,' नेपालस्थित भारतीय दूतावास स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
शनिबार बिहान मुक्तिनाथको दर्शन गरिसकेपछि मोदी पोखरा हुँदै काठमाडौं फर्किने तालिका रहेको पनि स्रोतले दाबी गरेको छ।
कार्यतालिका अनुसार शनिबार दिउँसो ४ बजे मोदी भारततर्फ प्रस्थान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।