जनकपुरधाम– नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा आज आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनको अवलोकनका लागि जनकपुरको बाह्र बिगाहा क्षेत्रमा उल्लेख्य संख्या भीड लागेको छ। प्रदेश २ का ८ जिल्ला तथा अन्य क्षेत्रबाट पनि बाह्र बिगाहामा उपस्थित हुने क्रम चलिरहेको छ।
मोदीको स्वागतका लागि जनकपुर आउने जिल्लावासीका लागि प्रदेश २ का सबै जिल्लाबाट सवारीको व्यवस्था मिलाइएको थियो। प्रत्येक स्थानीय तहबाट कम्तिमा ८ देखि १० वटा बस, जिप, कार तथा मोटरसाइकल जनकपुर आएको बताइएको छ।
दुई दिनअघि नै प्रदेश २ का गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवले मोदीको स्वागतका लागि स्थानीय तहका प्रमुखहरुलाई अनिवार्य उपस्थित हुन र स्थानीय जनतालाई अभिनन्दन स्थलसम्म ल्याउन निर्देशन दिएका थिए।
नागरिक अभिनन्दनको अवलोकनका लागि बाह्र बिगाहामा भिआइपी, पत्रकार तथा आम जनताको लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको छ।
बाह्र विगाहा मैदानमा प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने र ‘कलात्मक चावी’ हस्तान्तरण गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।