जनकपुरधाम– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज २ दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन्। उनी भारतीय वायुसेनाको हेलिकप्टरबाट सुरुमा जनकपुर आउने कार्यक्रम छ। बिहान सवा १० बजे जनकपुर विमानस्थलमा प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने बताइएको छ।
प्रधानमन्त्री ओलीले भने समकक्षी मोदीलाई जानकी मन्दिरमा स्वागत गर्ने र दुवै प्रधानमन्त्रीले सँगै पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ।
मोदी भ्रमणलाई लिएर जनकपुरको सुरक्षा अवस्था कडा बनाइएको छ। मोदीको सुरक्षार्थ ५ तहको सुरक्षा घेरा तय गरिनुका साथै हाल ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
जनकपुर विमानस्थलदेखि जानकी मन्दिरसम्मको सडक तथा बाह्र विघामा गरी कुल ४६ वटा सिसी क्यामेरा जडान गरिएको छ। जानकी मन्दिरमा ८, मोदीको नागरिक अभिनन्दन हुने बाह्र विगाहामा ८ तथा विमानस्थलदेखि जानकी मन्दिरसम्मको सडकमा ३० वटा सिसी क्यामेरा जडान गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले मोदीको सवारी रहने रुटका सबै पसलहरु बिहानैदेखि बन्द गराइसकेको छ। यसअघि बुधबार प्रहरीले मोदीको सवारी हुने समयभन्दा १ घण्टाअघिदेखि पसल बन्द गर्नुपर्ने बताएको थियो। जनकपुरका विभिन्न चोक तथा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
यतिबेला भिआइपी सवारी साधनहरुलाई मात्र सो क्षेत्रमा प्रवेशको अनुमति दिइएको छ। थप सुरक्षाका लागि भन्दै अहिले जनकपुरमा नेपाली सेनाको हेलिकप्टरले हवाई गस्तीसमेत गरिरहेको बताइएको छ।
सुरक्षाको लागि भन्दै प्रहरीले मोदीको सवारीमार्ग, जानकी मन्दिर तथा बाह्रबिघाको एक सय मिटर क्षेत्रमा मास्क प्रयोगमा समेत निषेध गरेको छ। रिङरोड भित्रका सबै रोड तथा शाखा बाटोका छेउछाउमा कुनै पनि सवारी पार्क गर्न नपाइने प्रहरीले जनाएको छ। यस्तै मोदीको आवागमन हुने सडकमा पर्ने घरको झ्यालढोका बन्द गर्न तथा घरको अटली तथा छतबाट हेर्न समेत रोक लगाइएको छ।
नागरिक अभिनन्दनमा सहभागी हुन ढल्केबरबाट आउने सवारीलाई कभर्ड हल तथा मणिपालको एरिया, जलेश्वर तथा जट्ही तर्फबाट आउनेलाई रत्नसागर तथा बालुवा चौकी एरिया, औरही तर्फबाट आउनेलाई कपिलेश्वर बसपार्क तथा तेतरिया तर्फबाट आउने सवारीलाई पुल्चोक बसपार्कमा पार्किङको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।