तोपचराले घरछेउको ठूलो रूखमा
तुर्लुङ्ग झुन्ड्यायो गुँड
मेरो सपनाको घर जस्तै।
'आहा कस्तो मोहनी
कस्तो सुन्दर !
… …
… … …!'
कुरूसले न्यानो बुट्टेदार स्विटर बुने झैं
तोपचराको मिहिनेतलाई बुनेर बुट्टेदार कविता लेखेँ।
तपाईँले त्यो कविता पढेर थाहा पाउनुभयो होला
म सौन्दर्य पारखी हुँ
मिहिनेती छु।
माफ गर्नुहोस्
वास्तवमा मैले झुठो कविता लेखेँ।
यथार्थमा त
मेरो कोठाको भुइँमा
सिँगान पुछेर फालेका टिस्यु पेपरका डल्लाहरू छन्
हतार-हतार खोलेका मैला लुगा छन्
अल्छी यात्राबाट फर्कँदा गन्हाएका मोजाहरू छन्
भान्सामा जुठा भाँडा छन्
यथार्थमा त
दराजको खापामा मुसा छिरेर
मेरो नयाँ कोट काटिरहेको छ
सिलिङबाट घरले मलाई जिस्क्याइरहेको छ।
प्रत्येक बिहान अर्लाम घडीलाइ अटेर गर्दै उठ्नु अघि सोच्छु-
कुनै झुटमुट कविता लेख्न छाडूँ
र सरकार चलाइरहेको राजनीतिक पार्टीको सदस्यता लिऊँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।