हामी स्कुल पढ्दा सबैभन्दा मनपर्ने शिक्षक हुनुहुन्थ्यो, नेपाली पढाउने मिस वा सर। नेपाली पढाउने शिक्षक मनपर्ने हुनुको एकमात्र कारण थियो– नेपाली महेन्द्रमाला किताबका मीठा-मीठा कविता, नाटक र कथाहरु उहाँहरुले लय हालेर हाउभाउसहित पढाउनुहुन्थ्यो। ती सुन्दा हाम्रो आत्मा नै रसाएर आउँथ्यो। शिक्षकसँगसँगै हामी लय र स्वर मिलाएर कविता पाठ गर्थ्यौं, गाउँथ्यौं।
नेपाली विषय पढ्ने घन्टी कति बेला बज्ला भनेर हामी मीठो प्रतीक्षा गरिरहन्थ्यौं।
मलाई नेपाली किताबप्रतिको मोहनी कस्तो थियो भने, चार कक्षाको वार्षिक परीक्षा सकिएको भोलिपल्टै पाँच कक्षाका पाठ्यपुस्तकहरु खोजेर ल्याउँथेँ र सबैभन्दा पहिले नेपाली किताबका सबै कविता र कथा पढिसक्थेँ। अनि आफूसँगै पढ्ने साथीहरुलाई ईर्ष्याले भुतुक्क पार्नेगरी उनीहरुले नसुनेका/नपढेका कविता र कथा सुनाउँथेँ।
त्यसो गर्दा आफू हिरो भएको महसुस हुन्थ्यो। त्यसैले यस्तो सिलसिला हरेक कक्षा चढेपिच्छे चलिरहन्थ्यो। नेपाली किताबका सबै कविता र कथा पढिसकेपछि पालो आउँथ्यो, नैतिक शिक्षाको किताबको। त्यसमा पनि दधिचीको, भगीरथ लगायतका घतलाग्दा कथाहरु हुन्थे।
अहिले म सम्झिन्छु– त्यतिबेलै हामी साहित्यप्रेमी थिएनौं र! कक्षाका अन्य ६ वटा विषयका पाठ्यपुस्तक पनि हामी राम्रैसँग पढ्थ्यौं। तर, अहिलेसम्म नेपाली किताबका कथा र कविता मात्र किन सम्झिन्छौं हँ?
विशेषगरी नेपाली किताब र कुनै-कुनै अंग्रेजी किताबका कथा/कविताहरु हामी लोभिँदै पढ्दैन थियौं र?
'चरीको विलाप', 'बालकै बालक', 'सरस्वती वन्दना', 'दाउरे र बञ्चरोको कथा', इच्छा कविता, गुरुप्रसाद मैनालीका कथाहरु, भवानी भिक्षुको कथा, महाकवि देवकोटाका कविताहरु के कहिले बिर्सिएर बिर्सिएला र?
सानै छँदा पढेका कविताहरु अहिलेसम्म पनि कण्ठस्थ छन्। बरु आफैंले लेखेको कविता पो नहेरी भन्न सक्दिनँ।
'चरीको विलाप' शीर्षकको यो कविता पढ्दा कसको आँखा रसाएन होला?
'सिकारीको झम्टा तनबीच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरीकन कठै व्याकुल बनी
म मर्ने बेला भो तर मनुज तिम्रो मनुजता
कता भाग्यो, त्यसको भरसक गर है तिमी पता।'
अर्को एउटा कविताले पनि मलाई गहिरो गरी छोएको रहेछ, जिब्रोमा झुण्डिएको छ।
सिड्नी आएदेखि हामी बस्ने हरेक घरमा मौरी र चराहरुले गुँड लगाइरहे। पहिलेको घरमा भान्साकोठाको ढोकाको चरमै मौरीले गुँड लगाए, हामीलाई र अरु धेरै मान्छेलाई टोके। तिनलाई धपाउन पेस्ट कन्ट्रोल नै बोलाउनुपर्यो। तर, मौरीहरु त्यहाँबाट गएनन्। हाम्रो बेडरुमको झ्याल बाहिर गुँड लगाएर बसे। हामीलाई टोक्न छाडेपछि हामीले पनि धपाएनौं।
अहिलेको घरमा पनि बाहिर दलानमा चराले गुँड लगाएको छ। बिहान निकै मीठोगरी हामीलाई ब्युँझाउँछ। तर, बदमास बच्चा जस्तो कहिलेकाहीँ लुगा सुकाएको ठाउँमा बिस्ट्याइदिन्छ।
यस्तो देख्दा मलाई सधैं स्कुलमा पढेको एउटा कविताको पंक्ति याद आइरहन्छ-
'तिमीले भन्छौ यही घर मेरो
म पनि कहन्छु यही घर मेरो
वास्तवमा तिम्रो हो या मेरो
खुब लगाऊ मनमा फेरो
इँट काठको बटुली रास
यो घर ठाडो पार्ने खास
सकल बिलाए कर्मी ज्यामी
ओत बसेका छौं हामी।'
साँच्चै यो घर मेरै हो त? अहिले म ध्यान गर्छु र पो झन् बुझ्दै गएको छु, यो कविताले संसारको नश्वरतालाई बुझ्न मलाई सानैमा सिकाएको रहेछ।
बाल्यकालमा 'मुना', 'युवामञ्च' जस्ता पत्रिका नियमित रुपमा घरमा आउँथे। हामी स्वाद मानीमानी पढ्थ्यौं। 'मुना'को लागि हुलाकमा गएर कविता पठाएको अझै याद छ।
स्कुलमा हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकलाका साथै कविता र निबन्धका प्रतियोगिता हुन्थे। म सबै प्रतियोगितामा भाग लिन्थेँ र प्राय:मा पुरस्कार जित्थेँ। अहिले सोच्दा लाग्छ– त्यतिबेलैदेखि हामीलाई सिर्जनशील हुन सिकाइएको रहेछ। पाँच कक्षामा पढ्दा स्कुलस्तरीय कवितामा म प्रथम भएको थिएँ। मभन्दा माथिल्लो कक्षामा पढ्ने प्रतियोगीहरुले ईर्ष्या गरेको सम्झिँदा अहिले खूब रमाइलो लाग्छ।
बालसाहित्यको कुरा गर्दा नेपाल टेलिभिजन र रेडियो नेपालको प्रभाव पनि म र मसँगैका उमेरका धेरैमा परेको छ। रेडियो नेपालको बाल कार्यक्रममा आउने वासुदेव मुनाल दाइ र नुपुर दिदीलाई म अहिले पनि सम्झिरहेको छु, भलै उहाँहरुसँग भेट हुन सकेन। तर, उहाँहरुको कार्यक्रममा प्रस्तुत हुने आवाजले एउटा आत्मीय सम्बन्धको लहरोमा बाँधिदिएको छ। मेरी दिदी र म साँझमा दाउराको चुह्लोमा रोटी पकाउँदै रेडियोमा बाल कार्यक्रम सुन्थ्यौं। नाटकहरु, कविताहरु, गीतहरु, कथाहरु कति सुनियो कति!
साल याद नभए पनि सम्झनामा ताजा छ, रेडियो नेपालबाट बालगीत महोत्सव आयोजना भएको थियो। त्यतिबेला बजेको एउटा गीत थियो-
'स्कुल किन नगएको भन्छन् साथीभाइ,
कलम छैन, किताब छैन, स्कुल जानलाई'
त्यो गीत सुनेर दिदी रोएकी थिई। म चाहिँ बुझ्दिन रैछु कि क्या हो, रोएको थिइनँ। तर, त्यो गीतले हामीलाई विपन्न वर्गको संसारसँग परिचय गराइदिएको थियो।
नेपाल टेलिभिजनको बाल कार्यक्रम पनि हामी निकै चाख मानेर हेर्थ्यौ। शनिबार दिउँसो बाल कार्यक्रम आउन थालेपछि काठमाडौंका धनाढ्यका सुकिला बच्चाहरु मात्र देखिन थाले। हामी उमेरले ठूला हुँदै गयौं कि बाल कार्यक्रम हाम्रो स्तरभन्दा माथिकाको हुँदै गयो, हामीले हेर्न छाडिदियौं।
यतिबेला अन्तर्राष्ट्रिय नेपाली साहित्य 8, अस्ट्रेलियाको आयोजनामा हामी सिड्नीमा पहिलो बालसाहित्य महोत्सवको आयोजना गर्दै छौं। बालसाहित्यबारे आम मानिसमा अभिरुचि पैदा गर्ने र नेपाली बालबालिकालाई नेपाली भाषा र साहित्यसँग परिचय र रुचि जगाउने उद्देश्यसहित यही मे २७ मा एस्फिल्डको पोलिस क्लबमा आयोजना गर्न लागिएको यो कार्यक्रममा आफ्ना बच्चाहरु लिएर आउन हामीले अभिभावकहरुलाई आग्रह गरेका छौं।
सानो छँदा हामी सहभागी भएका कार्यक्रमहरुको छाप हामीमा अहिलेसम्म परिरहे जस्तै हाम्रा बच्चाहरुलाई पनि यस्तो कार्यक्रममा सहभागी गरायौं भने उनीहरुको मस्तिष्कमा पनि नेपाली भाषा र साहित्यप्रति प्रेमको बिउ रोप्न सक्छौं कि? यही भावनाले हामीले राखेको यो कार्यक्रममा यहाँका अभिभावकहरु साथ र सहयोगको पाउने अपेक्षा राखेका छौं।
अहिले अस्ट्रेलियाको प्रवासी नेपाली समुदायमा हाम्रा बालबालिका नेपाली भाषा बोल्दैनन्, लेख्दैनन् भन्ने गुनासो र चिन्ता एकातिर छ। अर्कातिर, आफ्नो घरमा बच्चासँग नेपाली भाषा बोल्दै नबोल्ने अभिभावक पनि उत्तिकै छन्। केही नेपाली पाठशालाले नेपाली भाषा सिकाउने पाठ्यक्रम नै बनाएर सञ्चालन गरिरहेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य 8 आफैंले पनि नेपाली प्रवासी बालबालिकाहरुको लागि नेपाली भाषाको एउटा पाठ्यक्रम निर्माण गरिसकेको छ।
वास्तवमा हाम्रा बच्चाहरु नेपाली भाषा र साहित्यमा उदासीन छन् कि जागरुक? उनीहरुलाई यसप्रति कत्तिको रुचि छ? नेपाली भाषाप्रति उनीहरुको क्षमता र कमजोरी के-कति छ? यसबारे हामीले अनुमान गर्न सकिरहेका छैनौं। मलाई विश्वास छ, यो बालसाहित्य महोत्सवले त्यसको अनुमान र मापन गर्ने अवसर हामीलाई दिनेछ।
हाल: सिड्नी, अस्ट्रेलिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।