आमाको मुख हेर्ने दिन सबेरै फोन गरेको जेठो छोराले आजसम्म पनि सम्पर्क गरेन। व्यस्त छु भन्थ्यो। सायद त्यही भएर फोन समाउन भ्याएन होला।
फोन त आफैंसँग छ, तर कसरी नम्बर थिच्नु! कसरी उसको फोनसम्म पुग्नु। सानै हुँदा पढ्नुपर्छ भन्थे बाले। तर, पढ्न मन लागेन। अहिले यो उमेरमा आएर के पढ्नु! जन्मेको उमेर पनि भूलिसकेँ। ९० सालको सेरोफेरोमा जन्म भएको भनेर बाले सुनाउँथे। तर, मिति यकिन छैन।
दिन बिताउन गाह्रो छ भनेर कसरी भनूँ, सन्तोक नै छ। छोराछोरीको याद र सम्झनाले बेलाबेलामा झकझकाउँछ। पोल्छ। पहिले–पहिलेको जस्तो निद्रा छैन। बुढ्यौलीले छोपेपछि निद्रा घट्छ भन्छन्। त्यही भएर नै होला।
प्रिय मान्छेले संसार छाडेको पनि धेरै वर्ष भैसक्यो। धेरै सन्तान जन्माएपछि उः बेलामा अलिक दुःख सहियो। अभावमै जसोतसो छोराछोरी हुर्काइयो। परिवारको स्याहार–सुसार गर्न धौधौ नै भयो। पानी लिन आधा घन्टा हिँडेर पधेँरो पुग्नुपर्थ्यो। कुटानी–पिसानी जाँतो र ओखलमा। घाँस–दाउरा काट्न ज्यानको बाजी लगाउनुपथ्र्यो। अहिलेको जस्तो स्वास्थ्य चौकी थिएनन्। उपचारको जरुरत परे पनि घरकै औखतीमूलोले टारियो।
सन्तान धेरै भएर के गर्नु, अहिले कोही नजिक छैनन्। एउटा छोरा विदेश, अर्को शहर। छोरीहरु पनि बिहेपछि शहरमै पुगे। बेला–बेलामा फोन गर्छन्। सन्चो–बिसन्चो सोध्छन्। तिनीहरुलाई जहिल्यै हतार हुन्छ। खाली कामकै कुरा गर्छन्। सोच्छु, काम त हाम्ले पनि भ्याएकै हो। तर, शहरमा रहेकाहरुको गाउँकाको जस्तो काम कहाँ हुन्छ र!
मैले नै बूढासँग कचकच गरी किन्न लगाएका खेतबारी अहिले बाँझिए। तिनमा अहिले वनमारा र घाँस भरिएका छन्। अन्नका गेडा लटरम्मै फल्ने ठाउँमा घाँस भरिएको देख्दा सुर्ता लाग्छ। खेतीयोग्य जमिन घाँसयोग्य भए। वनले चारैतिर ढाकेको गाँउमा घाँसको जरुरत थिएन। तर के गर्नु, खेतीपाती गर्न छाडेपछि उम्रने त्यही नै रहेछ। नयाँ घर पनि बन्न छाडिसके। शहर भरियो भन्छन्। जग्गाको मोल आकाशियो भन्छन्।
गाउँघर सुनसान छ। भर्खरै भित्रिएको बिजुलीले केही भए पनि रमाइलो बनाएको छ। टिभीमा एकहोरो बोलिरहने साथी भएका छन्। बिजुली नहुँदा रेडियो खोल्छु। त्यहाँ पनि एकहोरो बोलिरहन्छन्। आफ्नै सुर–बेसुरका कुरा गर्छन्। कोही हामी जस्तै बनेर बोल्न खोज्छन्। त्यो सुन्दा मन खोलेर हाँस्न मन लाग्छ। मान्छे कति धेरै जान्ने छन् भन्ने लाग्छ।
गाउँमा म जस्तै बूढापाका मात्रै छन्। बुहारीहरु केटाकेटी पढाउन भन्दै शहरतिर लागे। तन्नेरी जति विदेश पसे। भनेको सुन्छु, त्यहाँ नेपालको जस्तो हावापानी छैन रे। बिचरा, कति दुःख सहेका होलान्। उम्दो गर्मीले पोलिएर काममा जोतिँदा तिनका मन कति रुँदा हुन्! सोच्दा पनि गाह्रो हुन्छ, झन् भोग्नेहरुको पीडा कस्तो होला? हाम्रो कान्छो पनि घामको रापले कालो भैसक्यो होला।
रित्तिएका गाउँघरको कथा आफ्नै छ। भरिएका शहरको कथा पनि आफ्नै होला। जसोतसो गाउँलाई हामी जस्तै बूढापाकाले बचाएका छौं। गाउँको सम्झना गर्नलायक बनाइदिएका छौं। नभए गाउँमा बस्ती रहने थिएन। गाउँ, गाउँ हुने थिएन।
पोहोर साल तल्लाघरे साइला बित्दा नसोचेकै बित्यास पर्यो। गाउँमा लाश उठाउने मान्छे भएनन्। ३ दिनपछि लाशलाई शहरबाट पूर्व गाउँलेलाई बोलाएर घाटसम्म पुर्याउन सकियो। अब पनि कोही तल–माथि परे अवस्था यस्तै छ। आफ्नो पनि त यस्तै हुने होला। जे होस्, बासी बनेर जल्न नपरोस् भन्ने इच्छा हो। तर, के हुने हो, भगवान भरोसा!
वर्ष दिनका चाडबाडमा गाउँमा केही दिन रमाइलो हुन्छ। अस्थायी रमाइलोले भए पनि केही दिन मन खुसीले भरिन्छ। अर्थोक के चाहिन्थ्यो र! आफ्ना गाउँका सबै सँगै भए कत्ति रमाइलो र बिसेक लाग्थ्यो। त्यसैगरी भविष्यका सहारा भनेर जन्माएका प्राणप्रिय आफ्ना सन्तति पनि सँगै भए!
उमेरको चढाइले होला। जोश र जाँगर घटेको भान पर्न थालेको छ। शरीर पहिले जस्तो स्फूर्त पनि छैन। यादले बाँच्दा बेलाबेलामा मन गाँठो पर्छ।
अस्ति टिभीमा हेरेकी थिएँ, आजभोलि बाआमालाई छोराछोरीले लगेर वृद्धाश्रममा राख्दा रहेछन्। त्यहाँ रहेका ती मेरै उमेरकाहरुको अवस्था देख्दा रातभरि निदाउन सकिनँ। मनले के–के सोच्यो। हुन त म पनि आश्रममै छु। मात्र फरक छ, जेनतेन आफैं पकाएर आफ्नै घरमा खाएर बसेकी छु। सहारा कोही छैनन्। यो अवस्था रहेपछि गाउँमा बस्ने हामीलाई पनि अब वृद्धाश्रम भनेर नामकरण गरिदिए हुन्न र!
सन्तानले निको नमान्लान् भनेर धेरैपटक बिरामी भएर थला पर्दा पनि ढाँट्दै आएकी छु। तिनीहरुलाई के तनाव दिनु। अवश्य म ढलेपछि काजक्रिया गर्न त फुर्सद पाउलान्। मनले पनि के–के सोच्छ। यो उमेरकै विशेषता होला, नभए यस्तो सोच पहिले कहिल्यै आउँदैनथ्यो।
आशा र इच्छा धेर छैनन्। गाउँमा केही छैन भन्नेहरुका लागि गाउँमा सबै छ भन्ने होस्। शहर जस्तै गाउँमा पनि विकास होस्। अनि आफ्ना प्रिय सन्ततिसँग धित मरुन्जेल यो जुनीमा गाउँमै बस्न पाइयोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।