म्याड्रिड- प्रवासी नेपाली मञ्च स्पेनले स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई ज्ञापनपत्र बुझाएको छ। नेपाली मञ्च स्पेनले म्याड्रिडस्थित राजदूतलाई कूटनीतिक नियोगको सुरक्षा लगायतका दृष्टिकोणले सुरक्षित स्थानमा कार्यालय राख्नुपर्ने, अन्य राष्ट्रको जस्तै नेपाली दूतावासलाई व्यवस्थित गर्नुपर्ने लगायत माग गरेको छ।
स्पेनबासी नेपालीको गुनासो आएपछि प्रवासी नेपाली मञ्च स्पेनले नेपाली राजदूत रायमाझीलाई ज्ञापनपत्र बुझाएको हो। राजदूत रायमाझी स्पेन आएको ४ महिनासम्म कार्यालय खोल्न सकेका थिएनन्।
नेपाल सरकारले २०७४ माघ १० मा स्पेनका लागि प्रथम नेपाली राजदूत रायमाझीलाई स्पेन पठाएको थियो। राजदूत रायमाझीले ४ महिनापछि आफ्नो निजी निवासको एउटा कोठाबाट कार्यालय सञ्चालन गरेको चर्चा चलेपछि, छुट्टै कार्यालय स्थापना गर्न नेपालीहरुले दबाब दिएका छन्।
नेपालीहरुले उपयुक्त स्थानमा दूतावास कार्यालय राखिनुपर्ने, बालमैत्री, अपाङ्ग मैत्री कार्यालय हुनुपर्ने, नेपालीको बाक्लो बस्ती भएका ठाउँमा घुम्ती सेवा प्रदान गर्नुपर्ने, परिवार पुनर्मिलनमा आइपरेका समस्या समाधान हुनुपर्ने जस्ता १० बुँदे माग राखेका हुन्।
दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले आफू स्पेन आएको एक महिना भएको जनाउँदै कार्यालय व्यवस्थित गर्न नसकिरहेको स्वीकार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।