राजविराज– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ।
सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिए। उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए।
सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाइ उमेश साहले बताए।
यसैबीच, मृतक साहको साउदीबाट नेपालमा शव ल्याउने कार्यमा पहल गरिदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनको परिवारजनले आग्रह गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।