न्युयोर्क- अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेक मिलेर बनाइरहेको कोरोनाविरुद्धको भ्याक्सिनको अन्तिम विश्लेषण सार्वजनिक गरिएको छ। यो भ्याक्सिन ६५ वर्षभन्दा माथि उमेर भएका मानिसमा ९४ प्रतिशत सफल भएकाे विवरण सार्वजनिक गरिएकाे हो।
समग्रमा ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष निकालिएको हाे। बुधबार कम्पनीले तेश्रो चरणको परीक्षणको अन्तिम तथ्यांक विश्लेषण सार्वजनिक गरेर यसकाे जानकारी दिएकाे छ।
अब यो भ्याक्सिनले सुरक्षाको मुख्य चरण पार गरेकाे गरेको छ। केही दिनमा नै अमेरिकाको खाद्य तथा औषधि प्रशासनबाट प्रयोगका लागि स्वीकृतिको आवेदन दिने भएको छ। एफडिएले स्वीकृति दिएमा यो भ्याक्सिन एफडिए स्वीकृत पहिलो कोरोनाविरुद्धको भ्याक्सिन हुनेछ। सरकारबाट स्वीकृति पाएमा यो भ्याक्सिनले आगामी डिसेम्बरमा करोडौं डोज भ्याक्सिन सप्लाई गर्ने योजना बनाएको छ।
गतसाता मात्र प्रारम्भिक विश्लेषणमा यो भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो। ४३ हजार स्वयंसेवकहरुमा गरिएको परीक्षणपछि यस्तो निष्कर्ष निकालिएको थियो। सहभागीमध्ये सुरुमा ९४ जनामा र पछि कुल १७० जनामा कोरोनाको लक्षण देखिएको थियो।
१७० मध्ये १६२ जनामा सलाइन सटमात्र दिइएको थियो भने वास्तविक भ्याक्सिन दिइएका ८ जना पनि संक्रमित भएका थिए। यसको अर्थ फाइजर भ्याक्सिन लक्षणयुक्त कोरोना संक्रमण रोक्नमा औसतमा ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको हाे। ६५ वर्षमाथिका मानिसमा पनि याे प्रभावकारी देखिएमा काेराेना नियन्त्रणमा नयाँ उत्साह आउने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।