काठमाडौं– पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल नम्बर ९८५१०८८३८८ बाट २०७३ असोज ९ गते राति ९.५५ मा उनको एक आफन्तकोमा फोन गयो। करिब २६ सेकेन्ड ती आफन्तले ‘हेल्लो–हेल्लो’ भनिरहे तर दोहोरो संवाद हुन सकेन। भोलिपल्ट बिहान ९.२२ मा पनि चितवन प्रहरीका तत्कालीन प्रमुख एसपी वसन्तबहादुर कुँवरको ९८५५०१५५५५ नम्बरमा घिमिरेको नम्बरबाट फोन आयो। ११ सेकेन्डसम्म कुँवरले ‘हेल्लो–हेल्लो’ भने तर जवाफ आएन।
असोज ९ गते दिउँसो साढे ४ बजे दुर्घटनामा परेका थिए, पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे। तर, उनको मोबाइल फोनबाट घटनाको निकैपछि फरक–फरक २ वटा नम्बरमा फोन गयो। दुर्घटनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनमा ‘मोबाइल फोनमा भएको क्षतिका कारण सर्किटहरु छोइँदा वा उद्दारमा खटिएका व्यक्तिहरु आवतजावत गर्दा छोइएर कल भएको हुनसक्ने,’ उल्लेख छ। तर नेपाल टेलिकम सुन्धाराका इन्जिनियर कमल लामिछाने भन्छन्, ‘यसरी आफैं फोन जाने कुरा सम्भव नै छैन। त्यसमाथि लामो समयको अन्तरमा फरक–फरक नम्बरमा आफैं फोन जानै सक्दैन।’ उक्त मोबाइल घटनास्थलमा असोज १० गते ११ बजेतिरमात्र प्रहरीले फेला पारेको थियो।
कसरी गयो त फोन? घटनाको पर्सिपल्ट असोज ११ गते पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानबिन समितिले यो र यस्ता धेरै रहस्य पहिल्याएकै छैन। समितिमा प्रहरीकै अतिरिक्त महानिरीक्षक केदारप्रसाद साउद, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक प्रेमबहादुर शाही, सशस्त्रकै सडक विभागका उपमहानिर्देशक दयाकान्त झा सदस्य र गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थी सदस्यसचिव थिए।
दुर्घटनामा परेका ५६ वर्षीय घिमिरेको शव अहिलेसम्म पनि फेला परेको छैन। श्राद्ध गर्न असोज ५ गते मुस्ताङ गएका घिमिरे फर्कनेक्रममा उनी सवार बा९च १५३१ नम्बरको स्कर्पियो गाडी असोज ९ मा दुर्घटनामा परेको थियो। दुर्घटनामा घिमिरेबाहेक उनकी ८१ वर्षीया आमा चैतन्यकुमारी, भाइहरु प्रकाश (४८ वर्ष) र मोहन (५० वर्ष), ६२ वर्षे आफन्त नारायण काफ्ले, अंगरक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र कार्कीको पनि मृत्यु भएको थियो। दुर्घटना भएको स्कर्पियो गाडीमा सवार ७ मध्ये एक जनामात्र जीवित पात्र हुन्, सवारी चालक प्रहरी हवल्दार विष्णुबहादुर राई।
करिब ३ महिनाअघिको एक शनिबार मैले राईलाई भेट्न खोजें। ‘म बाँधिएको मान्छे हुँ सर, अफिसको अनुमतिबिना भेट्न मिल्दैन,’ सुरुमा उनले भने। करिब ३ घन्टा निरन्तर मैले फोनमा उनलाई पछ्याएँ। म उनलाई भेट्न, उनी भएतिरै बालाजु पुग्दै थिएँ, उनी भने प्रहरी मुख्यालय नक्साल आइपुगेका रहेछन्।
यसबीच उनी मुख्यालय पुगेर केही जानकारी लिई तयारी अवस्थामा आएका थिए। ‘तपाईंलाई पौडी खेल्न आउछ?’ यस प्रश्नको उत्तरमा उनले भने, ‘आउँछ।’ परीक्षणका लागि आग्रह गर्ने अख्तियारी हामीसँग थिएन। तर, छानबिन समितिको प्रतिवेदन हेर्दा स्पष्ट हुन्छ, समितिले उनलाई पौडन आउँछ, आउँदैनसम्म पनि सोधेको छैन।
चालक राईको बयानअनुसार गाडी घिमिरेले चलाइरहेका थिए। पछाडिपट्टि बसेका उनलाई मुग्लिङ आएकोसम्म सम्झना छ। जम्मा २ दशमलब ६ किलोमिटर अगाडिको घटनास्थल पुग्दासम्म उनी यसरी निदाए कि उनलाई घटनाबारे केही थाह छैन। उनको भनाइ अनुसार एकैपटक पानीमा पसेपछि उनलाई चिसो महसुस भयो, उनी ब्युझिए। त्यसपछि त्रिशुली नदीको त्यो उभारबाट पौडेर पार पाए।
‘गाडी कसरी खस्यो, मलाई केही पनि थाह छैन। एकैपटक पानीको चिसोले ब्युझिएँ र पौडिएर जोगिएँ,’ राई भन्छन्। ३ किलोमिटरभन्दा पनि कम दूरीमा तपाईं यसरी मस्त निदाउनुभयो कि तपाईंलाई कुनै होस नै भएन? यस प्रश्नको उत्तरमा उनले प्रतिवेदनमा समेटिएको आफ्नै बयानभन्दा पृथक जवाफ दिए। भने, ‘म मुग्लिङ पुग्नुभन्दा ४–५ किलोमिटर अघिदेखि नै निदाइसकेको थिएँ।’ जबकि, अन्य प्रत्यक्षदर्शीका भनाइ अनुसार बाटोमा निकै जाम थियो, घटनास्थलभन्दा ५ सय मिटर वरै घिमिरे सवार गाडी करिब १५ मिनेट जाममा परेको थियो।
छानबिन समितिको प्रतिवेदनमा उल्लेख विवरण अनुसार गाडी २८२ फिट तल त्रिशुली नदीमा खसेको थियो। सडकबाट खसेपछि गाडी पहिलोपटक ७९ फिट तल एउटा ठूलो ढुंगामा ठोक्कियो। १३२ फिट तल गाडीको ‘फ्रन्ट बम्पर’ भेटियो। १६०.८ फिटमा आमा चैतन्यकुमारी, २१८.४ फिटमा अंगरक्षक कार्की र २८२ फिटमा घिमिरेका आफन्त काफ्लेको शव भेटिएको थियो। आफू पौडिएर जोगिएको बताएका राईलाई सडकबाट उद्दार गरिएको प्रतिवेदनमा उल्लेख छ।
अहिलेसम्म घिमिरेको शव मात्र होइन, उनी सवार गाडीसमेत फेला परेको छैन। यस्तोमा गाडीको पछाडिको ढोका कसरी खुल्यो र चालक राई कसरी निस्किए भन्ने पक्ष समितिले केलाएको छैन। समितिले प्रत्यक्षदर्शीको बयानलाई आधार मानी गाडी प्रतिघन्टा ८०/९० को गतिमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। जबकि त्यो ठाडो उकालो बाटोमा त्यो गतिमा गाडी कुदाउनु प्रायः असम्भव छ।
हेर्नुहोस् भिडियोः
प्रहरी जवान दिनेशकुमार चौधरी, चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरका सवारी चालक हुन्। दुर्घटनालगत्तै उनी एसपी कुँवरको गाडी चलाएर घटनास्थल पुगेका थिए। गत चैतमा चितवन जिल्ला प्रहरी कार्यालयमा भएको एक भेटमा उनले भने, ‘त्यो उकालो र घुम्ती भएको बाटोमा बढीमा प्रतिघन्टा ४०/५० को गतिमा गाडी कुदाउन सकिन्छ।’
त्यसमाथि घटनास्थलभन्दा ५ सय मिटर वर गाडी करिब १५ मिनेट जाममा फसेको थियो। त्यति छोटो दूरीमै जाम छिचाल्दै त्यो गतिमा गाडी हुइँक्याउन कसरी सम्भव छ? समितिले यसतर्फ कुनै ध्यान दिएको छैन।
दुर्घटनाको २० मिनेटभित्रै घटनास्थल पुगेका थिए, मुग्लिङ प्रहरी इकाइ प्रमुख इन्सपेक्टर योगेन्द्रबहादुर हमाल। गत वैशाखमा मुग्लिङ प्रहरी इकाइमै गरिएको कुराकानीमा उनले पनि त्यो बाटोमा बढीमा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी कुदाउन नसिकने बताए। ‘सवारी चालक राईलाई हामीले सडकमै भेटेर उपचारका लागि चितवन पुर्याएका हौं,’ उनले भने।
प्रतिवेदन भन्छ, ‘पूर्वगृहमन्त्री माधव घिमिरेले हाँकेको गाडी अत्यधिक गतिमा थियो। आफूअघिको ट्रकलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आयो। मोडिन खोज्दा गाडी अनियन्त्रित भई त्रिशुलीमा खस्यो।’ तर, समितिले घिमिरेको अघि रहेको ट्रक र विपरीत दिशाबाट आएको ट्रकको नम्बरसमेत पत्ता लगाउन सकेको छैन।
समितिको प्रतिवेदन अनुसार अगाडिको ट्रकलाई उछिनिसकेको थियो घिमिरेको गाडीले। विपरीत दिशाबाट आएको ट्रकलाई छल्न खोज्दा गाडी खस्यो। तर, समितिमै रहेर विभिन्न व्यक्तिको बयान लिएका इन्सपेक्टर भोला भट्ट, एसपी कुँवरका सवारी चालक चौधरीको भने फरक मत छ। उनीहरुको भनाइ छ– अगाडिको ट्रकलाई उछिनेको भए घिमिरेको गाडी विपरीत दिशाबाट आएको गाडीसँग ठोकिने थियो। ‘ओभरटेक गर्न खोज्दा अगाडि अर्को गाडी देखिएपछि आफ्नै लेनमा फर्किन खोज्दा बढी मोडिएर दुर्घटना भएको हो,’ इन्सपेक्टर भट्टले भने।
यदि यस्तो हो भने घिमिरेको गाडीको गति अझै कम हुन्छ, किनकि अगाडिको ट्रक नउछिनी आफ्नै लेनमा फर्किन खोज्दा गाडीको ब्रेक लगाउनुपर्ने हुन्छ। र स्वभाविक रुपमा गाडीको गति कम हुन्छ। प्रतिवेदनमा समावेश प्रत्यक्षदर्शीका बयानहरु आपसमा बाझिएका छन्। तर, समितिले तिनको स्वतन्त्र परीक्षण गरेको देखिँदैन।
समितिका संयोजक कुवेरसिंह राना भन्छन्, ‘हामीले मूलत २ वटा कुरा मात्र हेर्यौं। पहिलो गाडी कसरी दुर्घटना भयो। दोस्रो, गाडी पूर्वगृहमन्त्री माधव घिमिरेले चलाउनु भएको थियो कि थिएन। त्यसबाहेक अन्य पक्षमा जोड दिएनौं।’ समितिको प्रतिवेदनमा गाडी घिमिरेले नै चलाएका थिए भन्ने कुरा जबरजस्त रुपमा पुष्टि गर्न खोजेको देखिन्छ। जबकि, घुँडाको लिगामेन्टको उपचार गराइरहेका घिमिरेलाई कुनै बेला हिँडडुल गर्न समेत समस्या थियो।
दुर्घटनास्थल
जस्तो कि प्रतिवेदनमा घटनाका बेला साथै नरहेका २ जनाको बयान समेटिएको छ, जसमा गाडी माधव घिमिरेले नै चलाएको भन्ने पुष्टि गर्न जोड दिइएको छ। एक हुन् घिमिरेका अंगरक्षक नेपाल प्रहरीका सई शिवराम न्यौपाने। उनी त्यो यात्रामा साथै थिएनन्। तर उनलाई समितिले सोधेको प्रश्न र उनको जवाफ यस्तो छः
प्रश्नः दमौली, आँबुखैरेनी र मुग्लिङ सडक खण्डमा रहेको सिसिटिभी फुटेजमा देखिएको सेतो रङको जिप पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जिप हो कि होइन? खुलाई, लेखाई दिनुहोस्।
जवाफः दमौली र आँबुखैरेनीको सिसिटिभी फुटेजबाट पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढ्नुभएको गाडी नं. बा९च १५३१ स्पष्ट रुपमा देखिएको हुँदा सो गाडी पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप नै हो। मुग्लिङको सिसिटिभीमा देखिएको सेतो रङको स्कर्पियो जिपको नम्बर स्पष्ट नदेखिएता पनि सो जिप त्यही जिप हो जस्तो लाग्छ।
प्रश्नः दमौली बजार नजिकको सिसिटिभीमा देखिएको रेतो रङको जिपको चालक सिटमा रहेका व्यक्ति को हुन्? साथै, दमौली बजारमै रहेको आकाश मःमः पसल छेउ रोकिएको जिपबाट ओर्लने रातो टिसर्ट लगाएको व्यक्ति को हुन्? त्यसपछि क्रमशः सशस्त्र प्रहरीको युनिफर्म लगाएको, रातो हाफ ज्याकेट लगाएको रातो निलो पाटा भएको टिसर्ट लगाउने व्यक्ति को–को हुन्? खुलाइदिनुहोस्।
जवाफः दमौली बजारको आकाश मःमः पसल छेउ रोकिएको जिपबाट झर्ने रातो टिसर्ट लगाएको व्यक्ति पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको सहोदर भाई प्रकाश घिमिरे हुन्। सशस्त्रको युनिफर्ममा रहेका व्यक्ति प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की हुन्। त्यस्तै, रातो हाफ ज्याकेट लगाएका व्यक्ति नारायणप्रसाद काफ्ले हुन् र सेतो निलो पाटा भएको हाफ टिसर्ट लगाउने कपाल फुलेको व्यक्ति पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे नै हुन्। सो बजार नजिकको फुटेजमा देखिएका चालक सिटमा बस्ने व्यक्ति पनि पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे नै हुन्।
प्रश्नः मुग्लिङ बजारको सिसिटिभी फुटेजमा देखिएको सेतो स्कर्पियो जिप र चालक सिटमा सेतो निलो पाटा भएको टिसर्ट लगाएको हात पाखुरा देखिएको व्यक्तिका बारेमा खुलाइदिनुहोस्।
जवाफः उक्त सिसिटिभी फुटेजमा देखिएको सेतो स्कर्पियो जिप दमौली र आँबुखैरेनीको फुटेजमा देखिएको बा९च १५३१ नम्बरको स्कर्पियो जिप नै हो जस्तो लाग्छ र सो जिपको चालक सिटमा सेतो निलो पाटा भएको टिसर्टसहितको पाखुरा देखिएका व्यक्ति पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसँग हुलियासमेत मिलेको देखिएकाले निज नै हुन् जस्तो लाग्छ।
समितिले घटनाका बेला साथै नरहेकी दिपा आचार्यलाई पनि यस्तै प्रश्न गरी गाडी माधव घिमिरेले नै चलाएको भन्ने आफ्नो निचोडमा बल पुर्या उन खोजेको देखिन्छ। दिपा म्याग्दीका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीकी छोरी हुन्। मुस्ताङ जानेक्रममा उनले सो गाडीमा लिफ्ट लिएकी थिइन्। उनलाई सोधिएको प्रश्न र जवाफ पनि न्यौपानेलाई सोधिएको प्रश्न र जवाफसँग हुबहु मिल्छ, जुन यसप्रकार छः
प्रश्नः दमौली, आँबुखैरेनी र मुग्लिङ सडक खण्डमा रहेको सिसिटिभी फुटेजमा देखिएको सेतो रङको जीप पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जिप हो कि होइन? खुलाई, लेखाई दिनुहोस्।
जवाफः दमौली र आँबुखैरेनीको सिसिटिभी फुटेजबाट पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढ्नुभएको गाडीको नं. बा९च १५३१ स्पष्ट रुपमा देखिएको हुँदा सो गाडी पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप नै हो। मुग्लिङको सिसिटिभीमा देखिएको सेतो रङको स्कर्पियो जिपको नम्बर स्पष्ट नदेखिएता पनि सो जिप त्यही जिप हो जस्तो लाग्छ।
प्रश्नः दमौलीको सिसिटिभी फुटेजमा गाडी चालकको सिटमा गएर बस्ने व्यक्ति को हुन्? साथै दमौली बजारमै रहेको आकाश मःमः पसल छेउ रोकिएको जिपबाट ओर्लने रातो टिसर्ट लगाएको व्यक्ति को हुन्? त्यसपछि क्रमशः सशस्त्र प्रहरीको युनिफर्म लगाएको, रातो हाफ ज्याकेट लगाएको रातो निलो पाटा भएको टिसर्ट लगाउने व्यक्ति को–को हुन्? खुलाइदिनुहोस्।
जवाफः दमौली बजारको आकाश मःमः पसल छेउ रोकिएको जिपबाट झर्ने रातो टिसर्ट लगाएको व्यक्ति पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको सहोदर भाइ प्रकाश घिमिरे हुन्। सशस्त्रको युनिफर्ममा रहेका व्यक्ति प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की हुन्। त्यस्तै, रातो हाफ ज्याकेट लगाएका व्यक्ति नारायणप्रसाद काफ्ले हुन् र सेतो निलो पाटा भएको हाफ टिसर्ट लगाउने कपाल फुलेको व्यक्ति पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे नै हुन्। सो बजार नजिकको फुटेजमा देखिएका चालक सिटमा बस्ने व्यक्ति पनि पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे नै हुन्।
प्रश्नः दमौलीको सिसिटिभी फुटेजमा आकाश मःमः पसल छेउको पुस्तक पसलमा अगाडि उभिएर बस्ने सेतो, निलो पाटा भएको टिसर्ट लगाएको, कपाल फुलेको व्यक्ति को हुन्? खुलाई लेखाई दिनुहोस्।
जवाफः सो फुटेजमा देखिएका व्यक्ति पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे नै हुन्।
प्रश्नः दमौलीको सिसिटिभी फुटेजमा देखिएका चालक सिटमा बसी जिप हाँक्ने भिडियोमा बाहुला सेतो निलो पाटा भएको टिसर्ट लगाउने व्यक्तिबारे खुलाउनुहोस्।
जवाफः सो भिडियोमा देखिएको सेतो स्कर्पियो जिप बा९च १५३१ नम्बरको पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप नै हो। चालक सिटमा देखिएका बाहुला सेतो निलो पाटा देखिएको टिसर्ट लगाउने व्यक्ति र दमौलीको आकाश मःमः पसल अगाडि देखिने व्यक्तिसँग हुलिया मेल खाएको देखिएकाले दुवै व्यक्ति पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे नै हुन् जस्तो लाग्छ।
पूर्वगृहमन्त्री माधव घिमिरेका छोरा सुशान्तले समिति समक्ष घटनाप्रति आफूलाई शंका रहेको बताएका छन्। ‘घटनास्थलमा मैले बुवाको ज्याकेट र टोपी भेटेको थिएँ। घटना भएको स्थानमा बाटोको किनारामा फलामको रेलिङ नभएको, ब्रेक लागेको कुनै चिह्न नदेखिनु, दुर्घटना भएको समय र जानकारी प्राप्त समयको बीचमा अन्तराल भएको देखिएबाट मलाई घटनाबारे शंका लाग्छ।
त्यसैगरी, गाडी ओभरटेक गर्दा दुर्घटना भएको भए पनि सो गाडीको अगाडि र पछाडिका गाडीहरुबारे किन हालसम्म जानकारी पाइएन। चालक विष्णुबहादुर राईले घटनाबारे व्यक्त गरेका भनाइमा पनि मेरो आंशिक मात्र सहमति छ,’ प्रतिवेदनमा समेटिएको उनको बयानमा उल्लेख छ।
संविधानसभाको चुनाव गराउन तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित सरकारमा घिमिरे गृह र परराष्ट्रमन्त्री थिए। भारतीय चाहनाको सो सरकारका एक सूत्रधार नै मानिन्थे मुख्यसचिव रहिसकेका घिमिरे। तर, पछि लोकमानसिंह कार्कीलाई अख्तियार अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्ने क्रममा उनले विरोध जनाए।
भारतीय चाहनामा रेग्मीले कार्कीलाई नियुक्त गर्ने प्रस्ताव ल्याएपछि घिमिरे र तत्कालीन सञ्चारमन्त्री माधव पौडेल नियुक्ति रोक्न राष्ट्रपति समक्ष पुगेका थिए। त्यसबेला दुवै मन्त्रीलाई हिन्दी भाषामा फोन गरेर ‘मन्त्री भएर जोगिने भए मिर्जा दिलसाद बेग पनि मर्दैनथे’ भनेर धम्क्याइएको कुरा सार्वजनिक भएको थियो। मुस्ताङमा रहँदा घिमिरेले कांग्रेस नेता रोमी गौचन थकालीको घरमा तत्कालीन भारतीय राजदूत रणजित रायसँग पनि भेट गरेको समितिको प्रतिवेदनमा छ।
यस्तो ‘हाइप्रोफाइल’ दुर्घटनाको छानबिनमा सरकारले खासै चासो नदेखाउनुले पनि केही शंका उत्पन्न गराएको छ। मन्त्रिपरिषदले गठन गरेको समितिलाई यो दुर्घटनासँगै अन्य २ जिम्मेवारी पनि तोकिएको थियोः असोज ११ गते धादिङको मार्पाकमा भएको यात्रुबाहक बस दुर्घटनाको छानबिन गर्ने, पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणघाट सडक क्षेत्रमा सुरक्षित सवारी आवागमन र दुर्घटना न्यूनीकरण गर्ने उपायहरुको सुझाव दिने। दशैं–तिहारको मुखमा समितिलाई यी तीन वटै काम सम्पन्न गर्न जम्मा १५ दिनको समय दिइएको थियो।
समितिले एक महिनाको अवधि थपिदिन आग्रह गरे पनि सरकारले जम्मा १५ दिन अवधि थप्यो। समितिले पर्वहरुका बीच पनि एक महिनामा हतार–हतारमा यी तीनवटै काम सक्नुपर्यो।
‘नेपालको इतिहासमै विशिष्ट प्रकारको सरकारमा रहेर संविधानसभा चुनाव सम्पन्न गराएका गृहमन्त्रीको गाडी दुर्घटना सम्बन्धमा झारा टार्ने पाराको छानबिन गराईनु नै आश्चर्यजनक कुरा हो,’ छानबिन समितिको प्रतिवेदन पढेका एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘प्रतिवेदन अपूरो र विरोधाभाषपूर्ण छ, यस घटनाको गहन छानबिन भए धेरै रहस्य खुल्न सक्छन्। उच्चस्तरीय आयोग नै बनाएर यो घटनाको बेग्लै छानबिन हुनुपर्छ।’
सम्बन्धित केहीका बयान
विष्णुबहादुर राई, (माधव घिमिरेका सवारी चालक)
मिति २०७३ असोज ९ गते पोखराको मोनालिसा थकाली होटलमा खाना खाएपछि काठमाडौं फिर्ता हुने भनी आमा चैतन्यकुमारी घिमिरे, माधव सर, मोहन घिमिरे, प्रकाश घिमिरे, नारायणप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की गाडीमा बसेर काठमाडौतर्फ लाग्यौं।
गाडी म आफैंले चलाएको थिएँ। करिब १२ बजेको थियो। कोत्रे बजार पार गरेपछि माधव सरले पिसाब लाग्यो गाडी रोक्नु भनेपछि सडकको दायाँतर्फ रहेको पेट्रोलपम्प नजिकै गाडी रोकें। पेट्रोलपम्पको शौचालयमा पिसाब फेरिसकेपछि माधव सरले तिमी थाक्यौ होला पछाडि बस, गाडी म चलाउँछु भनी उहाँले चलाउनुभयो। गाडी फेरि दमौली बजारको चोकमा रोकियो।
त्यहाँको एक पसलमा गई गाडीको मेमोरी कार्डमा रामचन्द्र कार्की, प्रकाश घिमिरे र मैले गीत राखेर त्यहाँबाट हिँड्यौं। गाडी पूर्वगृहमन्त्री माधव घिमिरेले चलाउनुभएको थियो। काठमाडौंतर्फ अगाडि बढ्दै गर्दा विमलनगर भन्ने स्थानमा गाडी रोकियो। त्यहाँ हामीले चिया पियौं। माधव सरले मलाई र रामचन्द्र कार्कीलाई मेमोरी कार्डमा गीत हाल्न भनी पठाउनुभयो।
दुवै जना गई गीत राखेर आएपछि सबैजना जम्मा भई पुनः त्यहाँबाट अगाडि बढ्यौं। गाडी माधव सरले नै चलाउनुभयो। म गाडीको पछाडिको सिटमा बसेको थिएँ। सामानहरु थुप्रै भएकाले म उल्टो दिशातर्फ मोहडा गरी बसेको थिएँ। गाडीको अगाडिको र दाहिने भाग राम्ररी हेर्न सक्ने अवस्था थिएन। त्यहाँबाट गाडी रफ्तारमा चलिरहेको थियो। जब गाडी मुग्लिङ बजारबाट काठमाडौंतर्फ अगाडि बढ्यो, म थकानले गर्दा निदाएँछु।
अचानक पानीको बहावले माथि फ्याँकेर शरीर भिजेर चिसो भएपछि बल्ल म झसङ्ग भएँ। पानीभित्रै जुत्ता फुकालेर पौडी खेली किनारामा आएँ। पानीबाट बाहिर निस्कँदा मैले वरपर केही देखिनँ। बचाउ–बचाउ भनी कराउँदा कसैले नसुनेपछि बिस्तारै, बिस्तारै जराहरु समाउँदै सडकसम्म आइपुगें। सडक किनारामा आएपछि मलाई एक जना पुरुषले अँगालो हाली घाइते रहेछ भनी प्रहरी गाडीमा चढाइदिए।
विष्णु परियार (ना५ख ९८१९ नम्बरको बस चालक)
घटना भएको मिति २०७३ असोज ९ गते म दाङबाट काठमाडौंतर्फ आउँदै थिएँ। दुर्घटना हुने सेतो स्कर्पियो गाडीले मेरो गाडीलाई मुग्लिङबाट साढे २ किलोमिटर दूरी आसपास ओभरटेक गरेर मेरो गाडीभन्दा अगाडि काठमाडौं जाँदै थियो।
सो दुर्घटना हुने गाडी अन्दाजी ८०/९० किमी प्रतिघन्टाको गतिमा गुडेको हुनुपर्छ। तीव्र गतिमा रहेको सो गाडी आफ्नो अगाडि रहेको ट्रकलाई ओभरटेक गरेर अगाडि जान खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आएकाले तुरुन्तै गाडीलाई आफ्नै लेनमा राख्न खोज्दा बायाँतर्फ बढी मोडिन गई त्रिशुली नदीमा खसेको हो।
सुमन केसी भन्ने गोरबहादुर खत्री (प्रत्यक्षदर्शी)
मुग्लिङबाट अन्दाजी एक किलोमिटर पार गर्दै गरेको अवस्थामा म चढेको बसलाई पछाडिबाट सहचालक बस्नेतर्फबाट ओभरटेक गरी हाल नम्बर थाहा हुन आएको बा९च १५३१ नम्बरको सेतो स्कर्पियो गाडी अगाडि गयो। घटनास्थलभन्दा अन्दाजी ६–७ सय मिटर तल सडक जाम भएको कारण गाडीहरु रोकिइराखेको थियो। उक्त गाडी पनि सोही स्थानमा रोकिएको थियो। हाम्रो गाडी पनि रोकियो।
हाम्रो गाडीको ठीक अगाडि उक्त गाडी थियो। बीचमा कुनै गाडी थिएन। अन्दाजी १०–१५ मिनेट जति हामी जाममा पर्यौं। म अगाडि बोनटमा बसेको थिएँ। जाम खुलेपछि गाडी अगाडि बढ्यो। उक्त गाडीको अगाडि नम्बर नखुलेको ट्रक थियो। ट्रकभन्दा अगाडि अन्य गाडी पनि थिए।
उक्त गाडीले अगाडि रहेको ट्रकलाई ओभरटेक गर्न खोजिरहेको थियो। के कति कारणले बायाँतर्फ मोडिन गई सडकबाट तल भिरमा खसेको देखियो। अगाडिको गाडीलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट कुनै सवारी साधन आए नआएको मलाई याद भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।