नुवाकोट– नुवाकोटलाई आगामी जेठ ८ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ।
नुवाकोटको सदरमुकाम विदुरमा बिहीबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय विदुरमा संचारकर्मीहरुसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नुवाकोटका प्रमुख मोहनलाल जीशीले उक्त जानकारी दिएका हुन्।
नुवाकोटमा रहेका १२ स्थानिय तहहरुमध्ये ६ वटा स्थानिय तहहरु खुल्ला दिसामुक्त भैसकेको भन्दै खानेपानी तथा सरसफाइ प्रमुख जीशीले अबको करिब २० दिनमा नुवाकोट खुल्ला दिसामुक्त जिल्ला घोषणा हुने दावी गरे। उनले नुवाकोटमा रहेका करिब १३ सय घरधुरीमा केही दिनमै शौचालय बनाउने तयारी भएको र त्यसपछि समग्र जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने बताए।
कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नुवाकोटकी भवानी सापकोटाले नुवाकोटको ९८ प्रतिशत जनतामा शौचालयको पहुँच पुगेको दावी गर्दै अब नुवाकोट केही दिनमै खुल्ला दिसामुत्त क्षेत्र घोषणा हुने बताइन्। सापकोटाले देशभर ५१ जिल्ला खुल्ला दिसामुत्त क्षेत्र भइसकेको बताउँदै निर्धारित समयमै काम भए नुवाकोट ५२औँ खुल्ला दिसामुत्त जिल्ला हुने जिकिर गरिन्।
नुवाकोटका १२ स्थानीय तहमध्ये विदुर नगरपालिका, लिखु गाउँपालिका, मेघाङ गाउँपालिका, किस्पाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, ताँदी गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने वेलकोटगढी नगरपालिका, तारकेश्वर, ककनी, पन्चकन्या र सुर्यगढी गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र हुन बाँकि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।