तिमीले सुनाउनुअघि पनि सुनेथेँ
फेरि त्यो
बालापन सकिएर किशोर हुनुअगावै
तिमीले सुनाएथ्यौ कथा-
एउटा बूढो थियो...
म बडो ध्यानले सुनिराथेँ
'एउटा बूढो थियो, बच्चामै मरेछ´'
त्यसपछि तिमी मज्जाले हाँस्यौ
म नबुझेरै हाँसे
आँखाभरि प्रश्न बोकेर हेरेँ- कथा सकियो र?
तिमीले कथा सकिएको संकेत गर्यौँ।
धेरै वर्षपछि...
अचेल लागिरहेको छ
तिमीले छिटै बुझेछौ जिन्दगी
म भर्खर तिमीले सुनाएको कथा बुझ्दै छु।
एउटा बच्चा मर्नु भनेको
मायालु, निस्छल अनि एउटा अबोध मर्नु न हो।
केही सिकिरहेका, केही चकचक गरिरहेका
खुसी-खुसी बाँचिरहेका/रमाइरहेका
सुन्दर समय बाँचिरहेकाहरु न हुन् बच्चा।
समयले बूढो बनाउँदैमा कहाँ बूढो हुन्छ र मान्छे!
समयसँगै बढिरहने सपना, रहर र कल्पनाले
मान्छे झन्-झन् बच्चा हुन्छ
बालापनको यादलाई झन् बढाउँदै-बढाउँदै आयु घटाउँछ
सपनाको भारी बोकेर बन्दुक समातेका हातहरू
कहिलेकाहीँ थाहै नपाई
अर्को हातबाट आएको बन्दुकको गोली छल्न नसक्दा
अपूरो सपनासँगै सास उडिजान्छ
अनि मर्दो रहेछ एउटा बूढो बच्चामै।
तिमीले जिन्दगी बुझिसकेछो उ बेलै
म सिक्दै छु
म बुझ्दै छु...।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।