ad

अब कसरी अघि बढ्नेछ कांग्रेस? के भन्छन् युवा नेता?

प्रवक्ता विश्वप्रकाश शर्मा, नेता गगन थापा र कल्याण गुरुङका तर्क

SHARES
Nepal Live

काठमाडौं- चुनावी पराजयको समीक्षा र पार्टीको आगामी रणनीति तय गर्ने भन्दै बसेको नेपाली कांग्रेसको बैठक केही दिनअघि सकिएको छ। ३८ दिन लगाएर बसेको १४ वटा बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्ना धारणा राखेका थिए। केही गरमागरम बहस, केही आलोचना र संवादका बीच केन्द्रीय कार्यसमिति अन्ततः सर्वसम्मत निर्णयमा पुग्यो। वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्णय सर्वसम्मत भए पनि आफ्ना असन्तुष्टि पत्रकारमाझ राखे। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको सेरोफेरोमा कुरा गर्न नेपाल लाइभको 'समय संवाद'मा हामीले निम्त्याएका छौं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापाकल्याण गुरुङ। संवादमा सहभागी छन् नेपाल लाइभका सम्पादक विजय पौडेल, समाचार सम्पादक जनक पौड्याल र वरिष्ठ सम्वाददाता किशोर दहाल:

नेपाल लाइभः मेरो प्रश्न विश्वप्रकाशजीलाई, निर्वाचनमा पराजयको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै ३८ दिन लगाएर बसेको १४ वटा बैठकमा के-के समीक्षा भयो?

विश्वप्रकाश शर्माः नेपाली कांग्रेसको यो केन्द्रीय कार्यसमिति बैठक लामो हुनु विल्कुल स्वभाविक थियो। बाहिर लामो बैठक भनेर प्रचारित भयो। तर, जुन विषयमा बैठक बसेको थियो, त्यो नै लामो कालखण्डको समीक्षाको विषय थियो। त्यस हिसाबले भन्दा यसका लागि थप पर्याप्त समय जरुरी थियो भन्ने मलाई लाग्छ। एउटा राजनीतिक दल जो ६८/७० वर्षको हुन्छ, उसले स्थापना कालमा देखेको जुन राजनीतिक संरचनाको सपना हो त्यो सपना पूरा भएको अवस्था मुलुकमा छ।

तर, आफ्नै नायकत्वमा निर्माण भएको संविधान र आफ्नै नायकत्वमा कार्यान्वयन गर्न सफलता प्राप्त गरेको दलले निर्वाचनको परिणामचाहिँ आफ्नो अनुकूल बनाउन किन सक्दैन? किन सकेन? कारण के हो? भन्ने सन्दर्भमा छलफल हुँदै गर्दा त्यसले लामो समय लिने कुरा स्वभाविक थियो। बैठकले नेपाली कांग्रेसलाई अगाडि जानका लागि केही सहज मार्ग बनाएको छ। बैठक नबस्दा बैठकसम्म बस्न सकेन भन्ने अभिव्यक्ति आउने र बैठकमा उठेका, छलफल भएका कुरालाई आरोप–प्रत्यारोप भन्ने कुरा राजनीतिमा सामान्य हो। यो बैठक समग्रमा नेपाली कांग्रेसको विगतको समीक्षा र आगतको यात्राको कोसेढुंगा बन्न सक्यो कि सकेन भन्दा, सक्यो। तर, यसले गतिलो साँघु वा पुल निर्माण गर्‍योभन्दा त्यो चाहिँ अपर्याप्त छ।

नेपाल लाइभः यसैमा जोड्न चाहें। गतिलो साँघु भयो कि भएन भनिरहँदा, बैठक सकिइसकेपछि खुसियालीका एजेन्डाका के-के मिठाइ बाँड्यौं? समस्या समाधानका के-के औषधि बाँड्यौ?

विश्वप्रकाशः त्यहाँ खुसियालीको मिठाइ एउटै मात्र हो। नेपाली कांग्रेस आगामी यात्रामा एकताबद्ध ढंगले अघि बढ्ने संकल्पमा पुग्यो। एउटा राजनीतिक दल निर्वाचनको मैदानबाट हारेर फर्किंदै गर्दा स्वभाविक रुपमा त्यसले धेरै विश्लेषणको सन्दर्भमा तत्काल र ठोस विषय बनाउने क्रममा कमजोरी भएका हुनसक्छन्। नेपाली कांग्रेसले विगतको गौरवलाई स्मृति गरेको छ।

नेपाली कांग्रेसले चुनाव हार्दा हामीले समग्र गुमायौं, हाम्रो आइडियोलोजी नै असफल भयो अथवा आगामी दिनमा नायकत्व गर्न सक्दैनौं, यो कुरा मात्रै होइन। हामीले समीक्षा गर्दै गर्दा, बदलिएको चुनावी चुनौतिलाई चिर्ने ढंगले हामी बदलिएर जान सकेनौं, नेपाली कांग्रेसलाई संरचनागत रुपमा रुपान्तर गर्ने काम गर्न सकेनौं। बैठकमा मैले बोलेको सम्झिन्छु, बोल्नेले हिमालमा फ्रिज बेच्न सक्छ, बोल्न नसक्नेले मधेसमा आइसक्रिम बेच्न सक्दैन। यी समग्र विश्लेषणका तात्कालीन सन्दर्भ हुन्। तर, केन्द्रीय कार्यसमितिको दस्तावेजमा जति छन्, त्यो नेपाली कांग्रेसको एउटा साझा सम्पत्ति हो। सँगै छलफलमा आएका जति विषय छन्, त्यसलाई केन्द्रले आत्मसात् गरको छ। त्यसमा मनोवैज्ञानिक पृष्ठभूमिदेखिको विश्लेषण छन्।

आजको दिन आजको कारणले मात्रै उत्पन्न भएको होइन। आजको कारण निश्चय नै हो, तर चुनावमा इतिहासको गौरवभन्दा वर्तमानको रौनकले प्रभाव छोड्छ। त्यो कुराको सन्दर्भमा हामी चुकेको हो। नेपाली कांग्रेस पार्टीलाई एउटा सुदृढ, समुन्नत र लोक दलका रुपमा चाहिँ व्यवस्थित गर्न नसकेको पाटो होस् अथवा ०४६ सालको आन्दोलनअघि ढुंगाको भर माटो र माटोको भर ढुंगाजस्तो हाम्रो बीचमा रहेको आत्मीयता मुर्झाएर गएको पाटो। हामीले गिरिजाप्रसाद कोइरालालाई प्रशंसा गर्दै गर्दा कृष्णप्रसाद भट्टराईको निन्दा गरेको पाटो होस् या कृष्णप्रसाद भट्टराईको प्रशंसा गर्दै गर्दा गणेशमान सिंहको आलोचना गरेको पाटो। त्यही संस्कृतिलाई विरासतमा निरन्तर लिएर जाँदै गरेको अवस्था र त्यो बेलाको द्वन्द्वको प्रकृति र प्रवृत्ति। र, त्यसले दिनसक्ने परिणामको सन्दर्भमा गम्भीरताको पाटो। केन्द्रीय कार्यसमितिको दस्तावेजमा जति छन्, त्योभन्दा अझै बढी यस्ता घनिभूत विषयहरु आएका छन्। त्यसैले यति भन्नु उपयुक्त हुन्छ कि, पर्याप्त छलफल र बहस भएका छन्। कांग्रेस पार्टीको पहिचान र कमजोरीको सन्दर्भमा छलफल भएको छ। एकताबद्ध रुपमा त्यसलाई सामना गरेर जाने संकल्प भएको छ र यो विषयलाई आगामी दिनमा अझै घनिभूत बनाउने सन्दर्भमा गम्भीर भएका छौं।

नेपाल लाइभः मेरो प्रश्न कल्याणजीलाई, तपाईंहरुले चुनावी हारको कारण वामगठबन्धन र त्यसको जिम्मेवारी केन्द्रीय समितिले लिने भन्नुभएको छ। यो न्यायोचित छ?

कल्याण गुरुङः हामीले केन्द्रीय कार्यसमिति बैठक बस्दै गर्दा १५ जनाका तर्फबाट ९ बुँदे प्रस्ताव प्रस्तुत गरेका थियौं। खुसीको कुरा के भने, ती ९ वटै बुँदा पास भएको छ। तपाईंले भनेको जस्तो दुईवटा कुरामा रहेर विश्लेषण गर्‍यौं भने यो अपर्याप्त हुनसक्छ। यसमा पर्याप्तता खोजौं भनेर पहल गर्‍यौं। खासगरी विश्वप्रकाशजीले नै त्यसको मध्यस्थता गर्नुभयो।

निर्णयको क्रममा एउटा वाक्य आएको छ– 'पार्टीको पराजय सम्बन्धमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रममा प्रकट गर्नुभएका विविध विषयमा विमर्श हुँदै जानेछ।' विमर्शलाई रोकिएको छैन। विचारलाई रोकिएको छैन। विमर्शलाई निरन्तरता दिएको छ। त्यसैले हामी अन्य विषयमा विमर्श गर्दै जानेछौं।

नेपाल लाइभः बैठकभित्र जसरी कुराहरु उठे, हारको कारण मुख्यगरी वाम गठबन्धन भयो र जिम्मेवारी केन्द्रीय समितिले पूर्णरुपमा लियो। टिकट बाँड्नेदेखि उम्मेदवार छान्नेसम्मका सबै काम केही केन्द्रीय नेताले लिने र अप्ठ्यारो परेका बेला सम्पूर्ण केन्द्रीय कार्यसमितिलाई जिम्मेवार बनाइएको जस्तो देखिइराखिएको छ। त्यसैले न्यायोचित भएन कि भन्ने हाम्रो प्रश्न हो। तपाईंहरुले उठाउनुभएको कुरालाई शतप्रतिशत यसले सम्बोधन गर्‍यो भन्ने ठान्दै हुनुहुन्छ?

कल्याणः शतप्रतिशत हामी भनिरहेका छैनौं। हामीले के भनिरहेका छौं भने, हामीले ९ वटा बुँदामा जुन प्रस्ताव दियौं, त्यो पास भयो। त्यसबाहेक पनि तपाईंले जुन कारणहरु भन्नुभएको छ, ती पनि अपूर्ण हुनसक्छन् र तीबाहेक पनि कारणहरु हुनसक्छन्। सबै कारण यही केन्द्रीय कार्यसमितिको बैठकबाट छिनोफानो नहुन सक्छ। त्यसमा विचार विमर्शको आवश्यकता हुनसक्छ। तर, अहिले केन्द्रीय कार्यसमितिको बैठकबाट जे निर्णय भयो त्यसमा हाम्रो सहमति छ। त्यसमा हामी पूर्णरुपमा नै सहमत छौं।

हामी कसैले 'नोट अफ डिसेन्ट' लेखेका छैनौं। त्यसैले हामीले उठाउनुपर्ने थप विषयहरु छन्, त्यसलाई हामी पार्टीको वैधानिक थलोहरुमा उठाउनेछौं। महासमितिको बैठकमा पनि उठाउँछौं। त्यसलाई यो केन्द्रीय कार्यसमिति बैठकले वैधानिक मान्यता दिएको छ। विमर्श खुला राखिएको छ।

नेपाल लाइभः पार्टी पराजयको मूल कारणमा सञ्चालन पद्धति भएन, पार्टिभित्र मोनोपोली भयो, टिम स्पिरिटमा चल्नुपर्ने तर चलेन भन्ने आरोप पनि थियो। फेरि, भोलिपल्टै पार्टीको पदाधिकारी चयनका लागि एकलौटी रुपमा बैठक बोलाइयो भनेर बाहिर रामचन्द्रजीहरु बोलिरहनुभएको थियो। खै त पाठ सिकेको?

कल्याणः यसमा हामीले स्पष्ट रुपमा भनेका छौं कि, विधानमा आधारित भएर सहमतिका आधारमा अघि बढ्नुपर्छ। विधान मिचेर भने सहमति गर्न पाइँदैन। सायद त्यो दिन उहाँले अकस्मात बोल्नुभयो, तर भोलिपल्ट २१ गतेलाई बैठक सार्नुभयो। भोलिपल्ट हामीले छलफल र सहमतिबाट अघि बढ्नुपर्छ भन्यौं, सभापतिले सुन्नुभयो। यो एउटा सकारात्मक विषय हो।

नेपाल लाइभः तपाईंहरुले चुनाव गराएको जसचाहिँ सभापतिलाई दिनुभयो। तर, हारको दोष दिनुभएन। किन डराउनुभएको?

विश्वप्रकाशः तपाईंले भनेजस्तै शब्दमा भएन होला। तर, पारित भएका विषयहरुलाई हेर्नुभयो भने सबैले मात्रात्मक रुपमा दोषलाई स्वीकार गरेको अवस्था छ। जस्तो, सभापतिलाई दोषी भनेर बैठक टुंगिएको भए सभापति दोषी बन्नुहुन्थ्यो। संसदीय बोर्ड त्यसमा पर्दैनथ्यो। अर्थात् सभापतिभित्र संसदीय बोर्ड पर्दैन। कार्य सम्पादन समिति पर्दैन। केन्द्रीय समिति पर्दैन। तपाईं हेर्नसक्नुहुन्छ, संसदीय बोर्ड खारेज भयो। त्यसको अर्थ के हो भने, उम्मेदवार चयनका बेलामा कमजोरी स्वीकार गरियो। यहाँ हामी तीन जना छौं। गगनजी उम्मेदवार बन्नुभयो र विजयी हुनुभयो। म उम्मेदवार भएँ र पराजित भएँ। कल्याणजी उम्मेदवार नै बन्न पाउनुभएन। ५ जना केन्द्रीय सदस्य उम्मेदवार नै बन्नुभएन। उम्मेदवार नहुँदै गर्दा त्यसको कारण के हो त भन्ने कुराको संसदीय बोर्डसँग पर्याप्त कारण थिएन। जसको कारण त्यो विघटन हुनुपर्‍यो।

नेपाल लाइभः गगनजी! तपाईंहरुले ५१ पाने प्रतिवेदन मार्फत धेरै कुरा बुझाउनुभयो। त्यसको प्रतिबिम्ब निर्णय पुस्तिकामा आएको पाउनुभयो?

गगन थापाः यो समीक्षा बैठकमा मुख्यगरी तीनवटा विषय थिए। एउटा, निर्वाचनमा नेपाली कांग्रेसले किन पराजय भोग्यो त भन्ने विषयमा हाम्रा फरकफरक मत थिए। जुन स्वभाविक थियो। त्यसलाई आफैंमा गुम्स्याएर राखेर वा पार्टीभन्दा बाहिरको फोरममा राखेर वा बाझेरमा मात्रै केही हुँदैनथियो। निर्वाचनको पराजयमा हामी सबैले मान्ने केही फरक र केही साझा कारणहरु हुन्छन्। के-के कारणलाई हामी सबैले मान्न सक्छौं र के-के कारणलाई फरक-फरक रुपमा मान्न सक्छौं भनेर हेर्नुपर्ने थियो। त्यो गरिसकेपछि त्यसले हामीलाई एकै ठाउँमा उभ्याउँथ्यो। दोस्रो कुरा, हामी एकै ठाउँमा उभिनुपर्ने थियो। त्यो काम पनि गर्‍यौं। तेस्रो कुरा, अगाडि कसरी बढ्ने? त्यसका लागि तत्काल के गर्ने, पार्टीभित्र के गर्ने, बाहिर के गर्ने? त्यसमा केही कुराहरु थिए। हामीले केही कार्यक्रमहरु पनि बनायौं।

हारको सन्दर्भमा एउटा वाम गठबन्धन, अर्को मधेस गठबन्धन नै मुख्य कारण हो भन्ने हाम्रो समान धारणा थियो। सबैले त्यसलाई मान्यौं। दोस्रो कुरा संगठन परिचालनको तरिका र निर्वाचन वरपर भएका निर्णयहरु र काम गर्ने तरिका अर्थात् तात्कालिक कारणहरु थिए। जसमा नेतृत्वले गरेका कामहरु र सरकारमा बस्दा गरेका कामहरुबारे फरक-फरक धारणाहरु थिए। यस्ता कुरामा खुलेर छलफल भयो। कतिपय साथीले माओवादीसँग मिल्ने कुरा नै गलत थियो भन्नुभयो।

हामीले हाम्रो दस्तावेजमा के कुरा भन्यौं भने, पार्टी नेतृत्वले कि जोखिम उठाउँनै हुँदैनथ्यो, तर उठाइसकेपछि पूरा गर्नुपर्थ्यो। सभापतिले जोखिम उठाएको बताउनुभयो। उहाँले माओवादीलाई एमालेले दिएकोभन्दा बढी दिन्छु भन्नेसम्मको प्रस्ताव लगेँ भन्नुभयो। तर, एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीलाई सजिलै मत हाल्न सक्छ। त्यसका थुप्रै कारण छन्। तर, कांग्रेसका कार्यकर्ताले पार्टीले निर्णय नै गरे पनि मत हाल्ने कुरा गाह्रो हुँदोरहेछ। चितवनको अनुभवका कारण माओवादी नेतृत्व तयार भएन भन्ने सभापतिले कुरा राख्नुभयो।

अर्को महत्त्वपूर्ण कुरा, १ सय जनाले मत हाल्दा रुखमा हाल्ने मतदाता करिब-करिब ३० जना छ। ७० जना मतदाताले रुखमा मत हाल्दैनन्। त्यसमध्ये करिब ४८-५० जनाले कुनै न कुनै कम्युनिस्ट पार्टीमा मत हाल्छन्। २० जना जतिले कम्युनिस्ट बाहेकका पार्टीलाई मत हाल्छन् तर कांग्रेसलाई हाल्दैनन्। उसले फोरम, नयाँशक्ति, विवेकशील साझाजस्ता पार्टीलाई मत हाल्छन्। हाम्रो चुनौति भनेको हामीलाई मत हाल्ने ३० मात्रै रह्यो, किन कम्युनिस्टको ५० पुग्यो? त्यो २० किन हाम्रो भएन र छुट्टै भयो? यी कुरालाई हामीले छलफल गर्‍यौं, उठायौं।

अघि कल्याणजीले पनि भन्नुभयो, यी सबैकुरा बैठकमा टुंगिँदैन। तर, केही कुरा हामी सबैले मान्यौं। कतिपय नेताका कुरा आज अन्तिम भयो भन्ने थियो। हामीलाई हाम्रो फरक धारणा रहन्छ भन्ने भयो। हामी महासमितिमा नै लान्छौं यसलाई भनिसकेपछि महासमितिमा जाऊँ र छलफल गरौं भन्ने भयो। अगाडि पनि त बढ्नुथियो। त्यसैले हामीले केही लाइनहरु 'क्वाइन' गर्‍यौं। त्यसको सन्दर्भ हेर्नुपर्छ। अब के भयो त भने, बाहिर सार्वजनिक मञ्चहरुमा हामी धेरै छलफल गर्दैनौं। पार्टीका अरु कामलाई अघि बढाउँछौं।

जहाँसम्म तपाईंले भनेको जिम्मा लिने कुरा थियो, मैले भनिरहेकै कुरा हो कि पार्टी किन हार्‍यो, छुट्टै विषय हो। एउटा मात्रै कारण छैन। एउटा मात्रै व्यक्तिलाई दोष लगाउनुभयो भने त्यो अन्याय हुन्छ। त्रुटीपूर्ण हुन्छ। एउटा निर्णयले पार्टी हार्‍यो भन्ने कुरा हावादारी कुरा हुन आउँछ। यसको 'क्युमुलेटिभ' छ, थुप्रै कुरा छ। तर, हारको जिम्मा कसले लिने भन्ने विषयमा म लगायतका केही साथीले भनेको चाहिँ पार्टीको नेतृत्वकर्ताका रुपमा सभापतिले लिनुपर्छ। जिम्मा लिनुपर्छ भनेको रुनुपर्छ भनेको होइन।

सभापतिका कारण हारियो भनेर कसैले भनेको छैन। तर, जिम्मेवारी सभापतिले लिनुपर्छ भन्ने विषयमा हाम्रो माग र अडान रह्यो। सभापतिले जिम्मा लिने कुरामा अगाडि नसरिसकेपछि पार्टी त त्यहीँ अड्केर बस्न सक्दैन। त्यसैले मलाई लाग्छ, नेपाली कांग्रेसको केन्द्रीय समितिले विवेक पुर्‍यायो। अब पार्टी अगाडि त बढ्नुपर्‍यो। त्यसका लागि कसैले जिम्मेवारी लिनुपर्थ्यो। त्यसैले हामीले जिम्मेवारी लियौं। अब यसमा हाम्रो कुनै गुनासो छैन। किनकि, हामीले लेखिसक्यौं, भनिसक्यौं कि हाम्रो जिम्मेवारी हो।

नेपाल लाइभः जे निर्णय आयो त्यो सर्वसम्मत हो भन्ने कुरा आयो, त्यो सर्वसम्मत नै हो त्यसो भए! थप कुरालाई छलफल गर्दै जाने भन्ने कुरालाई 'क्वाइन' गरिएको छ। त्यही हो?

गगनः वरिष्ठ नेताको पत्रकार सम्मेलन आएको छ, उहाँको कुरामा प्रस्टीकरण दिन त उहाँले मात्रै सक्नुहुन्छ। पार्टीमा फरक मत आउने कुरालाई एकदम स्वभाविक रुपमा लिनुपर्छ। त्यसलाई म्यानेज कसरी गर्ने भन्ने मात्रै मुख्य कुरा हो। सचिवालयले निर्णय यस्तो छ भन्ने कुरा प्रस्तुत गरोस्, हामी चित्त बुझे सही गर्छौं नभए फरक मत राख्छौं भन्ने कुरा आउँदै गर्दा उहाँ (विश्वप्रकाश) ले निकै मिहिनेत गर्नुभयो, फरक मत नआओस् भनेर। फेरि हाम्रो पार्टीमा फरक मत राख्ने खासै परम्परा पनि छैन। केही अन्डरस्ट्यान्डिङ भयो। संसदीय समिति विघटन गर्ने, कार्यसम्पादन समिति पुनर्गठन गर्ने ठूलो कुरा हो। हेर्दा सानो भए पनि विधानबाट मात्रै चल्छु भन्ने यो कुरा हाम्रो लागि ठूलो कुरा हो। त्यो कुरा ठीक हो।

तर, वरिष्ठ नेताले के कुरा भनिराख्नुभएको थियो भने, 'मचाहिँ यो प्रस्ताव हेर्दिनँ, तपाईंहरुको चित्त बुझ्छ भने त्यो तपाईंहरुको कुरा भो। प्रस्ताव प्रस्तुत भइसकेपछि जब सभापतिजीले बैठकलाई सम्बोधन गर्नुहुन्छ, सभापतिको भावना के हुन्छ, त्यो कुरा सुन्छु। सुनिसकेपछि चित्त बुझ्यो भने ठीक छ भनेर भन्छु। बुझेन भने आफ्नो कुरा राख्छु।'

वरिष्ठ नेताले भनिराख्नुभएको थियो कि, सभापतिले हारको जिम्मा लिनुपर्छ। त्यो उदारता देखाउनुस्। तर, बैठक समाप्त भयो। अब हामीले बैठकमा छलफल गर्ने कुरालाई पनि अलि व्यवस्थित बनाउनुपर्छ। त्यसो भयो भने यस्तो खालको कन्फ्युजन रहँदैन।

बैठक सुरु गर्नेबेला हाम्रो अवस्था कस्तो थियो? पार्टीका साथीहरुको अवस्था, छलफल गर्ने तरिका कस्ता थिए? तर, बैठक सकिँदै गर्दा सबै साथीलाई एकखालको आश्वस्त भएका छन्। अझै छलफल हुनुपर्थ्यो भन्ने साथीहरुलाई किन आश्वस्त बनायो भने, अब पनि छलफल हुन्छ, हामी महासमितिमा गर्छौं। मर्यादित ढंगले गर्छौं भन्ने हो।

नेपाल लाइभः वाम गठबन्धन भएकाले चुनाव हारियो भन्ने कुरा आयो। तर, चुनाव मंसिरमा थियो। उनीहरुले असोजमा गठबन्धन बनाएका थिए। दुई महिनाको समय बाँकी हुँदा पनि आँकलन गर्न नसकिएको त हो नि! यसले पार्टी सञ्चालन पद्धतिमा र कार्यकर्तालाई सन्देश पुर्‍याउने कुरामा कहीँ न कहीँ कमजोरी त देखियो नि!

गगनः हामीले निर्णयमा चुनाव हार्नुका केही कारणहरु लेखेका छौं। जस्तो कि उम्मेदवारी चयन प्रक्रियामा गृहकार्य पुर्‍याएनौं, पार्टीको उम्मेदवारमाथि कतै निस्क्रियता र कतै अन्तर्घात भयो, आफ्ना कुरा भन्न सकेनौं, सामाजिक परिवर्तनको दिशामा भएका महत्त्वपूर्ण कुरालाई पूँजीकृत गर्न सकेनौं। हामीले हाम्रा कमजोरी यहाँयहाँ रहे भनेर बकाइदासाथ लेखेका छौं। विधानविपरीत काम नभएको कुरालाई 'विधान विपरीत काम गर्‍यौं' भन्ने लेखेनौं। तर, त्यसको महसुस निर्णयबाट गर्‍यौं।

नेपाल लाइभः कल्याणजी! यति कुरा हामीले महसुस गरेका रहेछौं। निर्णयमा त्यो महसुस भयो कि भएन? अर्थात् कार्यकारी अधिकार लिएर बसेको नेतृत्व छ, उसलाई कांग्रेस पुरानो तरिकाले चल्दैन भन्ने महसुस भएको छ?

कल्याणः यसमा हामीले सुरुदेखि नै दुईवटा पाटोलाई विश्लेषण गरौं भनेका थियौं। 'हिस्ट्री अफ ओनरसिप' निर्माण गर्ने कि 'नो हिस्ट्री अप ओनरसिप' निर्माण गर्ने? कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा हाम्रो जोड नै 'हिस्ट्री अप ओनरसिप' निर्माण गरौं भन्नेमा थियो। 'हिस्ट्री अफ ओनरसिप' त हामीले निर्माण गर्‍यौं। साथै 'क्युमुलेटिभ हिस्ट्री अफ ओनरसिप' निर्माण गर्‍यौं। मलाई लाग्छ 'नो हिस्ट्री अफ ओनरसिप' बनाउनुभन्दा 'क्युमुलेटिभ हिस्ट्री अफ ओनरसिप' बनाउनु अलिकति राम्रो हो। केही नहुनुभन्दा केही हुनु जाति हो। त्यसमा हामी सबैको सहमति थियो, सहमति अनुसार नै निर्णय भएको हो।

अबका दिनमा तपाईंले भने जस्तै, जुन कुरा अभिव्यक्त भए, ती कुरा केबल बैठक समापन गर्नका लागि मात्रै भएका थिए कि वास्तवमा नेपाली कांग्रेसको भावी कार्यदिशा निर्माणका लागि, भोलि बहुमतसहितको नम्बर एक पार्टी बनाउने क्रममा अत्यन्त क्रियाशील हुनका लागि भएका थिए? भन्नेजस्ता कुरा हामीले पर्ख र हेरको रणनीतिमै जानुपर्छ। जस्तो भोलिपल्टकै बैठक सार्न भनेर सभापतिलाई अनुरोध गर्नुपर्ने स्थिति आयो। तर, हामीले बारम्बार अनुरोध गर्नुपर्ने स्थिति नआओस्। ताकि, जसरी हामी 'क्युमुलेटिभ हिस्ट्री अफ ओनरसिप' निर्माण गर्दैछौं, यो परम्परा रहोस्। यसमा हामीले बारम्बार ध्यान दिनुपर्ने कुरा के हो भने विधानलाई आधार बनाएर सहमति अनुसार पार्टीका निर्णयहरु अगाडि बढाउनुपर्ने जिम्मेवारी, कार्यान्वयन र नेतृत्व सबै सभापतिज्यूको हुन्छ। उहाँले विधानको पालना गर्दै सहमतिको आधारमा निर्णय अगाडि बढाउनुपर्छ भन्ने हो।

नेपाल लाइभः विश्वप्रकाशजी! बैठक सकिएपछि गरिएको पत्रकार सम्मेलनमा भन्नुभएको थियो, एकताबद्ध रुपले बैठक सम्पन्न भएको छ। तर, लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकार सम्मेलन गरेर भन्नुभयो कि– एकताबद्ध होइन, परम्परा नबिग्रियोस् भनेर मात्रै नोट अफ डिसेन्ट नलेखिएको हो। एकताबद्ध त होइन रहेछ नि!

विश्वप्रकाशः साथीहरुको कुरा तपाईंले सुनिहाल्नुभयो, निर्णय सर्वसम्मत रुपमा नै भएको हो या होइन। निर्णय सर्वसम्मत हुँदा कहिले कस्तो हुन्छ भने, तपाईंले भनेका सबै कुरा भए भने सर्वसम्मत हुन्छ। कहिले के हुन्छ भने, मैले भनेका कतिपय कुरा भए, कतिपय साथीले भनेका कुरा भए, कतिपय मैले राखेका कुरामा विमर्शका लागि ढोका खुला छ। यसरी हुनसक्छ सर्वसम्मत।

राज्य सञ्चालनको कुरा या राजनीतिक दल सञ्चालनको कुरा न्यूनतम सहमतिहरुको बीचबाट जान्छ। जस्तो भावनात्मक एकताको पाटोको कुरा गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डका बीचमा बढी हुन्छ, तर विवाहपछि उनीहरु समझदारीको बाटोबाट चल्नुपर्छ। त्यसैले त्यो एउटा समझदारीको दस्तावेज हो। यहाँनेर स्वीकारोक्तिको कुरा के छ भन्ने कुरामा मैले बेलाबेलामा उदाहरण दिने गरेको छु, एउटा गल्तीका तीनवटा चरित्र गाँसिन्छन्। गल्ती गर्दिनँ भनियो भने त्यो अप्राकृतिक कुरा हुन्छ। मैले सभापतिलाई एक्लैमा गफ गर्दा भनेको थिएँ, गल्ती गर्नु प्रकृति हो। गल्तीलाई आत्मसात् गरेर जाने कुरा संस्कृति हो। त्यसलाई रुपान्तरित गरेर जान्छु भन्ने कुराले प्रगतिमा पुर्‍याउँछ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेलको राजनीतिक सम्बन्ध मात्रै होइन, उहाँहरुको मित्रताको उमेर झन्डै ५० वर्ष नाघ्यो। उहाँहरुका बीचमा प्रेम पनि भयो, द्वन्द्व पनि भयो। बैठक टुंग्याउँदै गर्दा सायद गगनजीले भनेजस्तो मनोविज्ञानले काम गर्‍यो। अथवा पदाधिकारी मनोनयनको सन्दर्भमा मसँग पर्याप्त छलफल नगरी किन घोषणा गरियो भन्ने पनि होला। चुनावी समीक्षासम्बन्धी बसेको यो बैठक चुनावपछिको पाँचौं बैठक थियो।

हुनसक्ला कि पदाधिकारी चयन गर्न भनेर बस्ने भनिएको छैटौं बैठकमा प्रस्तावित हुन लागेको कुनै विषयमा सभापति र उहाँबीचमा विमति थियो। तर त्यसको प्रभावले पाँचौं बैठकमा साझा भएको विषयलाई प्रभावित हुन नदिने सतर्कता पार्टीको वरिष्ठ नेताले राख्नुपर्थ्यो। यद्यपि, राखिसकेपछि पनि त्यसले के कुरामा बल पुर्‍यायो भने, भोलिपल्टको बैठकमा सहमतिपूर्वक अघि बढौं न त भन्ने कुरामा सकारात्मक योगदान पुग्यो।

नेपाल लाइभः कल्याणजीलाई सोध्न चाहन्छु, पार्टीभित्रको भुसको आगो निभेको हो? त्यो संकेत पाइन्छ?

कल्याणः भुसको आगो भन्ने कुरा नै होइन। चुनावी हार किन भयो त भन्ने कुरामा हामी क्रियामा मात्रै अल्झियौं। कर्ताबिना क्रिया त हुँदैन। तर, चुनावी समीक्षामा कर्ताबिनाको क्रियामा अल्झियौं। अब यसलाई विचार विमर्शका रुपमा अघि बढाउने भनेर निर्णय गरेका छौं।

पार्टीको जिल्ला सभापतिको भेलामा, महासमितिको बैठकमा हामी हाम्रा कुरा लिएर जान्छौं। विचारका कुरा पनि थिए, कतिपय नीतिगत कुरा पनि थिए, प्राविधिक कुरा थिए, सबै कुरा अहिलेकै बैठकमै अट्न सक्दैन। र सबै ठाउँको पराजयको कारण फरकफरक थिए। १ सय ६५ प्रतिनिधिसभाका कुरा छन्, ३ सय ३० प्रदेशसभाका कुरा छन्। हामीले केन्द्रका कुरा मात्रै सुनेर हुँदैन। महासमिति बैठकमा सबै निर्वाचन क्षेत्रका प्रतिनिधि आउनुहुन्छ। उहाँहरु सबैले बोल्ने मौका पाउनुपर्छ। के कारणले हामी हार्‍यौं भन्ने पत्ता लाग्नुपर्छ। कसैलाई कुनै रोग लाग्यो भने जन्मदेखि नै कारण हुनसक्छ। डाक्टरले जाँच गरेर पत्ता लगाउँछ कि तत्कालीन कारण हो या जन्मैदेखिको कारण हो।

यो चुनावमा हामी हार्‍यौं, कुनै बेला जितेका थियौं। यस्तो चलिरहेको छ। जुन बेला जित्यौं वा हार्‍यौं, त्यो बेलाको तात्कालिक कारण के-के हुन्, प्रभाव पार्ने तत्त्वहरु के-के हुन्? त्यसमा जानुपर्छ। तर, हामीले जन्म बेलाको कुन्डली पल्टाएर विश्लेषण गर्न थाल्यौं भने त्यो कुन्डलीको मात्र विश्लेषण हुन्छ।

नेपाल लाइभः गगनजी! नेपाली कांग्रेसको भविष्य तपाईंहरु हो भनेर यो छलफल भइरहेको छ। तपाईंहरुले आफ्नो धारणा बैठकमा ल्याउनुभएको थियो। त्यसलाई पढ्दा कति कार्यकर्ता आश्वस्त हुन्छन् कि यसरी पार्टी चल्यो भने राम्रो हुन्छ। तर, निर्णय पढ्दै गर्दा ऊ आश्वस्त हुन सक्दैन। तपाईंहरुले राम्रोसँग सम्प्रेषण गर्न नसकेको हो कि खासमै निर्णय आश्वस्त हुननसक्ने खालको हो?

गगनः पार्टीको केन्द्रीय समितिका एकजना सदस्यले एउटा पुरानो कुरा स्मरण गर्नुभएको थियो। किशुनजीको नेतृत्वमा पार्टी रहेका बेला महाधिवेशन हुँदाखेरि थुप्रै नेताले हामीले पनि बोल्न पाउनुपर्छ भन्ने माग राखे। किशुनजीले 'ल ठीक छ, म जय नेपाल भन्छु, तपाईंहरु सबैले त्यसलाई दोहोर्‍याउनुहोला' भन्नुभएछ। सबैले 'जय नेपाल' भने। किशुनजीले 'सबैले बोल्नु भयो, ल धन्यवाद' भन्नुभयो। यसैगरी, बैठक टुंगियो। त्यो ठाउँबाट बिस्तारैबिस्तारै यहाँसम्म हामी अगाडि आइपुगेका हौं। म यसपटकको बैठकबाट निराश छैन। पटक्कै छैन।

नेपाल लाइभः तपाईंहरुले के बुझ्नुभयो। त्यसले महत्त्व राख्छ। तर, कार्यकर्ताले के बुझ्यो भन्ने कुराले झन् महत्त्व राख्ला। तपाईंहरुले बुझेजस्तै बुझेको छ भने त ठीकै भयो। के उस्तै बुझेको होला?

गगनः विषयहरुलाई हेर्ने फरक-फरक धारणा छ भन्ने कुरालाई स्वीकार गर्नुपर्ने थियो। मैले यस्तो निर्णय भइदियोस् भन्ने चाहेको जस्तै हुन्थ्यो भने निर्णय अर्कै हुने थियो। अर्को साथीले लेख्न पाएको भए पनि फरक हुनेथियो। हाम्रो पुस्ताको साथीहरुको जिम्मा के पनि हो भने, पार्टीमा फरक धारणा आउने कुरालाई 'ब्ल्याक एन्ड ह्वाइट' गरेर बुझ्नुहुँदैन। कतिपय अवस्थामा त्यसलाई स्वीकार गर्दै, अलिअलि ठाउँ खोज्दै, अलिअलि कुरा बाझ्दै, अगाडि बढ्दै पनि जानुपर्छ।

हामीले आफ्नो कुरा राख्यौं र त्यसमा विमर्श हुँदै जानेछ। तर, त्यसलाई हामी मर्यादित ढंगले अघि बढाउँछौं। त्यो भनेको फेरि कुनै व्यक्तिको कुरा मात्रै, पात्रको कुरा मात्रै पनि होइन। कल्याण दाइले भनेजस्तो कर्ताको कुरा महत्त्वपूर्ण छ, तर त्यो मात्रै होइन। आज १ सय जनाले मत हाल्दै गर्दा ३० जनाको मात्रै रोजाइ कांग्रेस किन भयो भन्ने कुरा गर्दा कांग्रेसको कमजोरी सिद्धान्त र विचारभन्दा पनि अन्य थुप्रै पक्ष छन् भनेर बुझ्नुपर्छ। यी सबै विषयबारे हामीले खुला छलफल गर्दै जाने भनेका छौं। म बैठक चल्दै गर्दा विभिन्न जिल्लाको कार्यक्रममा गएको थिएँ। बैठक सकिसकेपछि पनि विभिन्न कार्यक्रममा सहभागी भइसकेको छु। मैले के अनुभव गरेको छु भने, तपाईंले भनेजस्तो आश्वस्त नभएको अवस्था छैन।

नेपाल लाइभः अघि कल्याणजीले भनेजस्तो तपाईं पनि पर्ख र हेर भन्नेमा हो? अथवा शतप्रतिशत भयो भन्नेमा हो?

गगनः हामी हाम्रो धारणा जिल्ला सभापतिको भेलामा लैजान्छौं। महासमितिमा लैजान्छौं। अन्य फोरममा लैजान्छौं। पार्टी किन हार्‍यो भन्ने हाम्रो धारणा छ, त्यसलाई लगिराख्छौं। महाधिवेशनसम्म लिएर जान्छौं। तर, सँगसँग हाम्रो राष्ट्रिय जिम्मेवारी छ। पर्सिबाट संसद बैठक सुरु हुँदै छ। त्यहाँ हाम्रो भूमिका निर्वाह गर्नु छ। राष्ट्रिय मुद्दाहरु छन्।

यी सबैमा हामीले सहीसही काम गर्दै गयौं भने हामीले भोट हालेको मतदाताले मैले भोट हालेको पार्टीले ठीक गर्दै छ भन्दै जान्छ। हाम्रो प्राथमिकता त त्यहाँ हो नि अहिले। मतदाता बढाउने कुरा त्यसपछि हुन्छ। हामीलाई मत हाल्ने प्रत्येक मतदाताप्रति हाम्रो जिम्मेवारी छ। धर्म छ। त्यो हामीले निर्वाह गर्नुपर्छ। त्यसैले बैठक बस्यो, यो पहिलो स्टेप हो। यो ठीक छ। अब पुनर्जागरण अभियान सुरु हुन्छ। त्यसमा देशभरका कांग्रेस सदस्यलाई एक ठाउँमा ल्याउँछौं, यही निर्णयको भावनामा। जिल्ला सभापतिलाई ल्याउँछौं, महासमितिलाई ल्याउँछौं। त्यसपछि हामी आम सुभेच्छुक मतदातामा जानु छ। त्यसपछि बल्ल आमनागरिकको लेयरमा पुग्नुपर्नेछ। त्यहाँसम्म ठीक बाटोमा छौं भन्ने लाग्छ मलाई।

नेपाल लाइभः रामचन्द्रजीको अभिव्यक्तिले पार्टीभित्र विवाद रहेको संकेत त गर्छ। विवादका बीच तपाईंहरु प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्न सक्नुहोला?

गगनः हामी जहिले पनि एउटा यस्तो अवस्था बनोस् भन्ने कल्पना गर्छौं, त्यो कहिले पनि हुँदैन। जस्तो नेकपा एमाले चुनाव जितेर आयो, त्यहाँभित्र एक ढिक्का छ त? समस्याहरु छन्। एउटा जीवन्त पार्टीभित्र समस्या र अन्तर्विरोध भइराख्छ। अन्तर्विरोधका रुपहरु फेरिँदै जान्छ।

केन्द्रीय समितिमा साथीहरुले धेरै कोणबाट पराजयको कुरा राख्नुभएको छ, धेरै सैद्धान्तिक कुराहरु उठेका छन्, दैनिकीमा अल्झिएर तत्कालका कुरामा अल्झिएर ती कुरा छाड्ने पो हौं कि भन्ने एक खालको डर चाहिँ छ।

नेपाल लाइभः जसरी हार–हार–हार भनिएको छ, यसले यस्तो संकेत दिइरहेको छ कि कांग्रेस सकि नै सक्यो। यदि, कांग्रेसले जितेको भए पार्टी ठीकै थियो त? पार्टी सञ्चालन पद्धति र आम कार्यकर्तासम्मलाई पुनर्जागरण गर्नुपर्ने आवश्यकता पर्दैन थियो होला त?

विश्वप्रकाशः निश्चय नै। तपाईंको प्रश्नको उत्तर एक शब्दमा भन्दा, थिएन नै भन्छु। थिएन भन्ने शब्द कुन अर्थमा भने जितेको भए सबै ठीक थियो त? थिएन। त्यसैले म फुटबल खेलको उदारहण दिएर भन्छु, सामान्यतया के हुन्छ भने हारेको टिममा स्ट्राइकरले किपरले त्यति गोल किन छाड्यो भनिरहेको हुन्छ। किपरले के भनिरहेको हुन्छ भने, मैले त एउटा गोल छाडें, स्ट्राइकरले चारवटा अवसर किन गुमायो भनिरहेको हुन्छ। दोष दुवैको हुन्छ। दुवैले के सम्झिनु पर्छ भने विगतको खेल टिम स्पिरिटले जितेका थियौं।

यो समीक्षापछि पनि के सोच्नुपर्छ भने भोलिको खेल जित्न पनि टिम स्पिरिट चाहिन्छ। मैले भन्ने गरेको छु, हामी ढल्यौं त्यो मात्रै होइन। जित्नेहरु उठ्नुका कारणहरु के-के थिए? नेपाली समाजलाई कुन कुराले प्रभाव पारे, संरचनात्मक रुपमा उनीहरुले कुन खालको 'मिलिट्यान्सी' विकास गरे, मुद्दालाई कसरी सम्प्रेषण गरे, हाम्रो कमजोरीमाथि कसरी प्रहार गरे, सामाजिक सञ्जाल लगायतको माध्यम कसरी प्रयोग गरे? यी विषय केलाउनुपर्छ। त्यसैले हामीले हिमालमा फ्रिज बेच्ने कुरा गरेको हो। हिमालमा फ्रिज जरुरी नै नपर्ने ठाउँ हो नि त। जसलाई जे कुराको आवश्यकता नै थिएन, तर आवश्यकता छ भनेर बेच्न सके कसैले, आइसक्रिम त सहजै बेच्न सकिने हो नि मधेसमा! त्यसमा ब्रान्डिङ गर्ने क्षमताको कुरा आयो। त्यसैले नेपाली कांग्रेसको 'रिभाइभ' गर्ने कुरा चुनाव जितेको भए पनि जरुरी हुन्थ्यो।

यहाँभित्र दुई वटा मनोवैज्ञानिक कारण छन्। हामीले के गर्दै आयौं भने, नयाँ नेतृत्व उठ्नुपर्छ भन्दै गर्दा उठ्नका लागि नीति तथा कार्यक्रमको जग बलियो र भविष्यदृष्टि बनाउनुपर्नेमा त्यो भन्दा पनि अघिल्लो नेतृत्वको कमजोरी र असफलताको जगमा उठ्दै आयौं। अहिले पनि कांग्रेसले महासमितिदेखि महाधिवेशनसम्म पहिलो खण्ड र महाधिवेशनदेखि महानिर्वाचनसम्म दोस्रो खण्ड गरेर दुई खण्डमा आफूलाई व्यवस्थित गर्नुपर्छ।

महाधिवेशनसम्म यो नेतृत्व रहन्छ। त्यसपछि मात्रै नयाँ नेतृत्व आउँछ। व्यक्तिगत रुपमा को आउँछ त्यसलाई छाडिदिऊँ। तर, संस्थागत रुपमा नयाँ नेतृत्व आउँछ। त्यहाँदेखि लिएर महानिर्वाचनमा जाने कांग्रेसको डिजाइन एउटा हुन्छ। यो गम्भीरताको कालखण्ड हो।

तर, कांग्रेसले एउटा एकीकृत तरंग भने सिर्जना गर्नु जरुरी छ। त्यो भनेको तपाईंले भनेजस्तै जितेको भए पनि हामी ठीक थिएनौं, जितेको भए पनि हाम्रो सम्प्रेषण क्षमता राम्रो भएको थिएन, पार्टी सञ्चालनको पद्धति प्राचीन ढंगको थियो।

नेपाल लाइभः चुनावी पराजयपछि कांग्रेस सुधारको जुन खालको कल्पना गर्नुभएको थियो? यो बैठकले केही इँटा थप्यो? भनौं न सानेपाको बिपी भवन केही तातिएको महसुस गर्नुभयो?

कल्याणः जुन निर्णय अन्तिममा आयो, त्यो सम्झौताको निर्णय हो। एकलौटी कसैको पनि छैन। सबैको भावना समेटिएको छ। सम्झौताको निर्णय भएकैले यो सर्वसम्मत हुन सकेको हो। जहाँसम्म भावी कार्यदिशाको कुरा छ, हाम्रो स्पष्ट धारणा छ– 'एज' र 'एजेन्डा'ले मात्रै हुँदैन। त्यसको साथसाथै 'एक्सन' र 'डेडिकेसन' पनि चाहिन्छ। 'एक्सन' र 'डेडिकेसन' बिना 'एज' र 'एजेन्डा'को कुनै अर्थ छैन। दोस्रो, पार्टीको निर्णयसर्व सम्मत त भयो तर त्यसको कार्यान्वयन भएन भने काम छैन।

त्यसैले जति पनि निर्णयहरु भएका छन्, विधानलाई आधारित बनाएर कार्यान्वयन गर्नुपर्छ। तेस्रो कुरा, नयाँ पुस्तालाई हामीले आकर्षित गर्न सकेनौं भने यो पार्टी अगाडि बढ्न सक्दैन। त्यसैले नयाँ पुस्तालाई आकर्षित गर्नैपर्छ। खासगरी नयाँ पुस्ताले राजनीतिक इतिहासका कुरा कम सुन्ने स्थिति देखिन्छ। त्यसैले आउने जुन सुन्दर सपनाहरु छन्, तीसँग गाँसिएका रोजगारी, शिक्षा, स्वास्थ्य तथा खानेपानी, वातावरणीय प्रभाव लगायतका विषयलाई नेपाली कांग्रेसले उठाउने मात्रै होइन, पूरा गर्नुपर्छ। जस्तो कि, नेविसंघले उठाएका मागहरु नेपाली कांग्रेसकै शिक्षामन्त्री हुँदा पूरा हुँदैनन्। कांग्रेसको स्वास्थ्य नीति कांग्रेसकै स्वास्थ्य मन्त्री हुँदा पूरा हुँदैनन् भने त्यसको अर्थ रहँदैन।

आफ्ना एजेन्डाहरु, नीतिहरु आफ्नो पार्टीको मन्त्री हुँदा पूरा गर्नुपर्छ। त्यस्तै, अघि भनिएका विषयमा पनि कांग्रेसले जुन खालका नीतिहरु बनाउँछ, ती आफ्नो सरकारको पालामा कार्यान्वयनको चरणमा पूरा गर्नुपर्छ। अनि यसले काम त गर्दो रहेछ नि भन्ने देखाउँछ। बरु थोरै निर्णयहरु गरौं, तर कार्यान्वयन गरौं। हामी पिएचडीको थेसिस लेखेजस्तो सारा कुरा लेख्ने तर काम केही पनि नगर्ने हो भने जनताको विश्वास हासिल हुँदैन। त्यसैले निर्णय कार्यान्वयन गरेर नेतृत्वले मर्यादा देखाउनुपर्छ।

नेपाल लाइभः तपाईंहरुको एउटा मुख्य एजेन्डा नेतृत्व परिवर्तन पनि थियो। ५१ पाने प्रतिवेदनमा शीघ्र महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गरेर आमजनताले गौरव गर्ने नेता बन्न आग्रह गरिएको थियो। त्यस्तै, एक ठाउँमा उल्लेख गर्नुभएको छ– अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु नै हो। तर, यो बैठकको निर्णयले शीघ्र नेतृत्व परिवर्तनको लागि कुनै संकेत छाडेको छैन। अब तपाईंहरुले उठाइरहेको नेतृत्व परिवर्तनको कुरा कसरी सम्भव हुनसक्छ? नयाँ बाटो कस्तो हुनसक्छ?

गगनः यो बैठकबाट नेतृत्व परिवर्तन हुने नै होइन। नेपाली कांग्रेसको अहिलेको विधानका आधारमा छिटोमा महाधिवेशन हुँदै गर्दा पनि करिब-करिब दुई वर्ष, नभए तीन वर्ष लाग्छ। हाम्रो भनाइ महासमिति बैठक बोलाउने, त्यसबाट विधान संशोधन गर्ने र संशोधित विधानको आधारमा तत्कालै महाधिवेशन गरिहाल्ने थियो। यो कुरा केन्द्रका लागि मात्रै होइन, किनकि तल त हाम्रो संरचना नै छैन। नयाँ संरचना अनुसार हाम्रो संगठन छैन। त्यसैले तत्काल महाधिवेशन सुरु गरिहालौं भन्ने हो। त्यसका निम्ति महासमितिको बैठक एकदम आवश्यक थियो। स्मरण गरौं, प्रत्येक वर्ष महासमिति बैठक गर्ने भनिए पनि कैयौं वर्ष भएका छैनन्। अहिले पनि हामी जेठमै गराउन चाहन्छौं। जे होस्, त्यसतर्फको पहिलो कदम सुरु भएको छ। यो बैठक नराखेको भए म केही पनि प्राप्त भएन भन्ने थिएँ। हामीले महासमितिमा पुर्‍याउन खोजेका थियौं, पुर्‍यायौं।

यसपटक नेपाली कांग्रेस पार्टी कस्तो बनाउने भन्नेबारेमा बडो राम्रोसँग छलफल भएको छ। तर, फरक-फरक धारणा छ। केही साथीले राख्नुभएको छ– पार्टी अब एकदम जुझारु बनाउनुपर्छ। त्रिणमूल कांग्रेसको कुरा आएको छ, कम्युनिस्टसँग लड्नको लागि त्यस्तो पार्टी बनाउनुपर्छ। ग्रासरुट अर्गनाइजेसन चाहिन्छ। जहाँ नेकपा एमाले छ, त्यहाँ नेपाली कांग्रेस पनि हुनुपर्छ भन्ने छ। केही साथीहरुको धारणा छ– पार्टीलाई अझै खुला बनाउनुपर्छ। अहिलेको जस्तो क्रियाशील राख्नुहुँदैन। जो पनि आएर कांग्रेसको सदस्य बन्न पाउने र त्यसैबाट नेतृत्व छान्नुपर्छ। नेपाली कांग्रेसमा हिजो बिपी कोइरालाले विधानमा नलेखीकन सबै समुदायको नेता पनि तयार पार्नुभयो, मानिसहरुलाई पार्टीमा ल्याउनुभयो। आज विधानमा सबै कुरा लेखिएको छ, तर कैयौं समुदायको नेता भेट्न गाह्रो छ। त्यसको बारेमा पनि छलफल भयो।

निश्चित उमेर पुगेपछि नेतृत्वमा नबस्ने पनि एउटा विकल्प हुनसक्छ। जस्तो एमालेले ७० वर्ष तोकेको छ। अर्कोतर्फ, दुई पटकभन्दा बढी नबन्ने पनि विकल्प हो। जुन हामीले पनि गरेका छौं। कुनै ठाउँमा फरक विकल्प पनि छन्। जस्तो बेलायतमा अध्यक्षको नेतृत्वमा चुनावमा जाने र पराजय भए राजीनामा दिने हुन्छ। चुनाव हार्‍यो भने उसले नेतृत्व छाड्छ। जुनसुकै उमेरको होस्। त्यस्तो पनि नियम बनाउन सकिन्छ।

मेरो अन्तिम कुरा, अघि कल्याण दाइले पनि भन्नुभएको छ कि, अब 'पोस्ट कन्स्टिच्युसन एरा' सुरु भएको छ। त्यसैले अबको बहस भनेको समृद्धिको बहस हो। समृद्धिको बहसमा सरकारले आफ्नो कार्यक्रम अगाडि सारिसक्यो। पाँच वर्षभित्र नेपाल समृद्ध भयो कि भएन भनेर हेर्ने मानक भनेको नेपालमा रेल कतिवटा आउँछ, पानीजहाज कतिवटा आउँछ, हवाइजहाज कतिवटा आउँछ, स्मार्ट सिटी कतिवटा बन्छन्? अब नेपाली कांग्रेसले पनि पाँच वर्षपछि सरकारमा आउने तयारी गर्ने कुरा छँदैछ। तर, कांग्रेसको पार्टी सरकारमा नभए पनि स्थानीय सरकारमा त छ नि! प्रतिपक्षमा छ। हाम्रो भूमिका त रहन्छ नि! कांग्रेस केका लागि उभिन्छ, कांग्रेसको दृष्टिकोण के हो, कांग्रेसको समृद्धिको व्याख्या के हो, हामी के चाहन्छौं, हामी भएको भए के गर्थ्यौं, नहुँदै गर्दा के कुरालाई रोक्छौं भन्ने जस्ता कुरा आजको हाम्रो जिम्मेवारी हो।

महासमितिको बैठकबाट हामीले केवल विधानको कुरा मिलाएर मात्रै हुँदैन। त्यसमा हामी लिडर राख्छौं कि, फाल्छौं कि, नयाँ ल्याउँछौं कि भन्ने जनतालाई के मतलब? जनताले मैले भोट हाल्ने पार्टी केका लागि उभिन्छ भन्ने त थाहा पाउनुपर्‍यो नि! यो कुरा पनि बैठकमा राम्रोसँग उठेका छन्। अब महासमितिको बैठकबाट निस्कँदै गर्दा सुस्पष्ट दृष्टिकोणका साथ निस्कन सक्छौं भन्ने मलाई लाग्छ।

प्राप्त प्रतिकृयाहरू

santosh thapa
malai nepal live ko aadhikarik sambaddata ko contact number upalabdha garaidinuhola.thank you.

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार