नेपालगन्ज– यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध बाँके र बर्दियाका यातायात व्यवसायीहरुले आन्दोलन गर्ने घोषणा गरेका छन्।
बाँके र बर्दियामा रहेका १२ वटा यातायात व्यवसायी समितिले नेपालगन्जमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर आगामी शुक्रबार देखि बाँके–बर्दियामा सञ्चालित सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका छन्।
सरकारले व्यवसायीहरुसँग छलफलसम्म नगरी एक पक्षीय रुपमा यातायात व्यवस्था कार्यविधि निर्देशिका जारी गरेर व्यवसायीको लगानीलाई जोखिममा पारिदिएको भेरी अञ्चल बस तथा मिनिबस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बताए। ‘यातायात क्षेत्रमा धेरै समस्याहरु छन्। ती समस्या समाधान गरेर यातायात क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्छ भन्ने पक्षमा व्यवसायी पनि छन्।’, उनले असन्तुष्टि पोख्दै भने, ‘तर सरकारले एकपक्षीय ढंगबाट अगाडि बढ्न हुने थिएन।’
सरकारले भनेजस्तो बाँके तथा बर्दियामा सार्वजनिक यातायातमा सिण्डिकेट नभएको दावी गर्दै पौडेलले भने, ‘यहाँ १२ वटा समिति छन्। ती सबै समितिहरुले करिब २ हजार ५ सय सार्वजनिक यातायातका सवारी साधन निर्वाध रुपमा चलाईरहेका छन्। यस्तो अवस्थालाई सिन्डिकेट भन्न मिल्दैन।’
बाँके र बर्दियामा रहेका यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको क्षेत्रमा करिब साढे ७ अर्बभन्दा बढी लगानी गरेको र करिब १० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै वरिष्ठ उपाध्यक्ष पौडेलले सरकारले एकलौटी ढंगले निर्णय लिँदा सिङ्गो यातायात क्षेत्र नै धरासायी हुने अवस्था उत्पन्न भएको दावी गरे।
नमस्ते नपाल यातायात व्यवसायी संघ कोहलपुरका अध्यक्ष निरक चलाउनेले सरकारले एकपक्षीय रुपमा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकाका केही व्यवस्थाहरुलाई सच्याएर अगाडि बढ्नुपर्ने तर्क गरे। उनले व्यवसायी र सरकार दुवै पक्षको सहमतीमा यातायात प्राधिकरण गठन गरेर यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।
सार्वजनिक यातायातका साधनहरु स्वस्थ प्रतिस्पर्धाका आधारमा सञ्चालन गर्ने, असीमित बिमा नीति लागू गर्नुपर्ने, २० वर्ष पुराना सवारी साधन विस्थापन गर्ने निर्णय सच्याउने, सडक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने जस्ता माग अगाडि सारेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।
सरकारको नीति स्वागतयोग्य
यसैबीच कम्पनी दर्ता गरेर सार्वजनिक यातायात सञ्चालन गरिरहेका व्यवसायीहरुले भने सरकारको सिन्डिकेट खारेज गर्ने नीति स्वागतयोग्य भएको जनाउँदै सरकारलाई साथ दिने बताएका छन्।
नेपालगन्जको भेरी यातायात प्रालिका प्रबन्ध निर्देशक उमेश गुरागाईंले बाँके बर्दियामा मात्रै १० वटा निजी कम्पनीहरुले करिब १ सय २५ वटा सार्वजनिक यातायातका साधनहरु चलाउने बताए।
‘सरकारले हालको बिमासम्बन्धी नीतिलाई सुधार गर्नुपर्छ। अन्य सुधारका कदमहरुप्रति हाम्रो समर्थन छ।’, प्रबन्ध निर्देशक गुरागाईंले भने, ‘सरकारले सुरक्षा दिए आफुहरुले निर्वाध रुपमा सार्वजनिक यातायातका साधनहरु चलाउने बताए।’
सेवामुलक भनेर संस्था दर्ता गर्ने तर मनपरी गरेर नाफा कमाउने र सिन्डिकेट लगाएर यातायात क्षेत्रमा एकलौटी अधिकार स्थापित गर्न खोज्ने महासंघको आन्दोलनको कुनै औचित्य नभएको गुरागाईंले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।