नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिकाको जमुनीमा आगलागीबाट १६ वटा घर जलेर नष्ट भएका छन्। १३ वटा घर पूर्णरुपमा र ३ घर आंशिक रुपमा जलेका इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।
बालबालिकाले भुसमा आगो सल्काउने क्रममा घरमासमेत आगो फैलिएको बताइएको छ। स्थानीय पेशकार यादव र बुद्ध धोबीको घरबाट आगलागी सुरु भएको थियो।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत घरायसी प्रयोजनका सामाग्रीहरु जलेर नष्ट भएको पीडितहरुले बताएका छन्।
स्थानिय वर्षाती धोबीले आफ्नो घरमा राखेको २ लाख भारतीय रुपैयाँसमेत जलेको बताइन्। सडक यातायातको पहुँच नभएको सो क्षेत्रमा दमकल पुग्न नसकेपछि आगलागी नियन्त्रण गर्न स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करिब २ घन्टा समय लागेको थियो।
आगलागी पीडित परिवारलाई तत्काल गाउँपालिकाले राहतस्वरुप ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै प्रतिपरिवार २ हजार रुपैयाँ उपलब्ध गराउने नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
आगलागीबाट वर्षेनी हुने क्षतिलाई कम गर्न गाउँपालिकाले आफ्नै स्रोतमा दमकल किन्ने प्रक्रिया सुरु गरेको अध्यक्ष शाहले जानकारी दिए।
नरैनापुर गाउँपालिकाका अधिकाँश घरहरु खरले छाएका छन्। गाउँमा लस्करै खरले छाएका घरहरु हुने भएका कारण एउटा घरमा आगो लाग्नासाथै फैलिएर सिंगो गाउ नै जलेर नष्ट हुने गरेको छ।
आगलागीका कारण जलेर घर नष्ट हुने परिवारलाई पुनः आगालगीको चपेटामा पर्नसक्ने जोखिम घटाउन नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ मा घर छाउनका लागि निःशुल्क टिनका पाताहरु उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको थियो।
आगलागी पीडितहरु निशुल्क टिनका पाताहरु उपलब्ध गराउने कार्यक्रमबाट लाभान्वित हुँदै आए पनि गत आर्थिक वर्षदेखि कार्यक्रम बन्द भएको छ।
उक्त कार्यक्रम बन्द भएका कारण जिल्ला विपद व्यवस्थापन समितिले पीडित परिवारलाई तत्काल राहतस्वरुप १० हजार रुपैयाँसम्म सहयोग गर्नसक्ने जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।