इटहरी– दिन धुम्मिने बित्तिकै इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का कुमार नगरकोटी सधैं आत्तिन्छन्। बादल गर्जियो भने उनी अनिष्टको संकेत पाए झैं आकाशतिर जोखाना हेर्छन्। गत वर्ष जस्तै बाढीले बबण्डर मच्चाउने हो कि भन्ने डरले मुटुमा ढ्यांग्रो ठोक्छ।
खोला किनारको टहरामा बस्दै आएका उनी भन्छन्, ‘यो पापी बर्खा लागेपछि राति राम्ररी निद्रा लाग्न पनि छाडेको छ।’
गत वर्ष साउन २७ गते राति बाढीको भेल उर्लियो। बाढीका कारण नगरकोटी जस्तै विस्थापित भएका इटहरीका ३० घरपरिवार अझै पालमुनि नै बसिरहेका छन्। इटहरी चौकबाट ३ किलोमिटरको दूरीमा पर्ने सुनौलो बस्तीका बासिन्दा ठोस राहतको पर्खाइमा छन्।
मोरङ–सुनसरीको सिमाना भएर बग्ने बूढीखोलामा आएको बाढीका कारण विस्थापित भएका पीडितहरु आफ्नो पुरानै जग्गामा टहरो हालेर बसेका छन्। यो वर्षादमा के हालत हुने हो भन्नेमा उनीहरु चिन्तित छन्।
खोलाले सम्पूर्ण बस्ती नै बगाएपछि बेसहारा बनेका पीडितहरू अहिलेसम्म नगरपालिका तथा सरकारबाट कुनै पनि सहयोग नपाएको बताउँछन्।
सोही टोलकी बिना थपलियाको घर खोलाकै किनारमा पर्छ। उनका श्रीमान् खोलामा बालुवा चाल्छन्। हिउँदमा त्यही खोला सहारा बन्छ भने वर्षादमा दुश्मन। त्रिपालले बेरेको छाप्रोमा बसिरहेकी उनी अझैसम्म खोलामा तटबन्धन हुन नसक्दा घर बनाउन नसकेको बताउँछिन्।
सीता भुजेल पनि कहिले खोलामा बाँध बन्ला र ढुक्क भएर घर बनाउँला भन्ने पर्खाइमा छिन्।
उनी भन्छिन्, ‘पार्टीका नेताहरू पहिले आउँदा बाँध बाँधिदिन्छौं आमा भन्थे, अहिले दाँत बाँधेर बसेका होलान्।’
आकाशमा कालो बादल देख्नेबित्तिकै पुरानै दिनले अत्याएर आँखा रसाउने गरेको भुजेल बताउँछिन्।
राजकुमार तामाङको बास पनि त्रिपालमुनि नै छ। यत्रो विपद् खेपेर दयनीय रुपमा बसिरहँदा पनि जनप्रतिनिधिले वास्ता नगरेको उनको गुनासो छ।
‘पहिले गर्छौं–गर्छौं त भने, तर अहिले नाकमुख देखाउँदैनन्’, उनले गुनासो पोखे।
बाढीपीडितको यस्तो गुनासो आइरहँदा वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्ट भने पीडितहरुलाई सक्दो राहत उपलब्ध गराएको तर उनीहरुले खोला किनार छाड्न नमान्दा समाधान निस्किन नसकेको बताउँछन्।
उनी भन्छन्, ‘पहिला उद्धार र राहतमा लाग्यौं, पछि पुन:स्थापनामा लाग्ने भनियो। तर, पीडितहरू त्यहाँबाट सर्न नमानेपछि समस्या आएको हो।’
पहिलो किस्तामा हरेक परिवारलाई १५ हजारका दरले रकम बाँडिएको र अब फेरि १० हजार उपलब्ध गराउने तयारी भइरहेको उनको भनाइ छ। त्यस्तै, खोलामा तटबन्ध बनाउन टेन्डर प्रक्रिया सुरु भएको विष्ट बताउँछन्।
गत वर्षको बाढीका कारण इटहरीका करिब ५ सय घरपरिवार विस्थापित भएका थिए। बाढीले इटहरीको वडा नं ३, ४, ९ र १० का खोला किनारमा बस्ने सुकुम्बासी धेरै समस्यामा परेका थिए।
बाढीपीडितमध्ये कोहीले आफन्तको सहयोगमा र कतिपयले विभिन्न संस्थाबाट ऋण गरेर घर बनाए पनि पालमुनि नै बसिरहेका केही पीडितले खोला उर्लिने डरले घर बनाउने काम थाल्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।