काठमाडौं- शारदा शर्माको संस्मरणात्मक कृति 'त्यो समय' सार्वजनिक भएको छ। सन् २००४ देखि ०८ सम्म अन्तर्राष्ट्रिय परिवार नियोजन संघ, दक्षिण एसिया क्षेत्रीय कार्यालय दिल्लीमा कार्यरत रहेका बेला लेखिएका डायरीलाई पुस्तकका रुपमा ल्याइएको शर्माले बताएकी छन्।
'पुस्तकमा सबै कुरा डायरीको रुपमा स्वभाविक हिसाबले आफ्ना अनुभवहरु लेखेकी छु। कसैप्रति आक्षेप र आग्रह छैन', पुस्तक सार्वजनिक कार्यक्रममा लेखिका शर्माले भनिन्, 'मेरो कुनै जजमेन्ट छैन। विवरणहरु मात्रै छन्। म तटस्थ हुने प्रयास गरेको छु।'
पुस्तकमा दिल्ली लगायत विभिन्न ठाउँको जनजीवन, नेपाली राजनीतिको अप्ठ्यारो बेलाको संघर्ष, पारिवारिक सम्बन्धका विविध आयामहरुलाई सुक्ष्म रुपमा प्रस्तुत गरिएको पुस्तकबारे बोलेका वक्ताहरुले बताएका छन्। नेपाली राजनीतिको प्रसंगमा भने लेखिकाका पति तथा चर्चित नेता नरहरि आचार्य केन्द्रमा रहेको भन्दै उनीहरुले प्राथमिकताका साथ चर्चा गरेका थिए।
पुस्तकबारे पत्रकार हरिहर विरहीले राजनीतिमा धेरैतिरबाट अन्याय पाएका नरहरिजीलाई लेखिकाले पुस्तकमा न्याय प्रदान गरेको भन्दै प्रशंसा गरेका थिए। पुस्तक शारदाजीको प्रेम र समर्पणले निध्रुक्क भिजेको समेत उनले बताए। लेखिकाले मानवीय सम्बन्धका विविध भोगाइका आयामहरुलाई खुलस्त राख्न सकेको भन्दै 'त्यो समय' हिम्मतका साथ लेखिएको पुस्तक भएको बताए।
पुस्तक राजनीतिक उद्देश्यले नलेखिएको भए पनि पुस्तक दोस्रो जनआन्दोलनको समयको राजनीतिक अभिलेख भएको विरहीले बताए।
अर्की वक्ता डा इन्द्र अधिकारीले लेखिकाले राजनीतिमा नजोड्न नचाहे पनि राजनीतिमै मुछिएको टिप्पणी गरिन्। 'यो पुस्तक, जसमा उल्लेखित कालखण्ड हामीले भोग्यौं', उनले भनिन्, 'हाम्रा पछिल्ला पुस्तालाई पनि यो पुस्तक एउटा इतिहासको रुपमा हुने छ।'
अधिकारीले लेखिकाको सरल र सहज भाषाशैलीको प्रशंसा समेत गरिन्। 'हरेक कुरालाई उहाँले कविका आँखाले हेर्नुभएको छ र साहित्यको मनले देख्नुभएको छ', अधिकारीले भनिन्। हेर्दा सामान्य लाग्ने कुरालाई लेखिकाले असामान्य तरिकाले हेर्ने गरेको अधिकारीले बताइन्।
अधिकारीले शर्मा परिवारले भोगेको घटनाहरु कुनै उपन्यासको कथाभन्दा कम नभएको बताइन्। 'पुस्तकको केन्द्रमा नरहरि भएको भन्दै अधिकारीले 'त्यो समय' कुनै उपन्यास हुन्थ्यो भने त्यसको खास हिरो नरहरि आचार्य हुनुहुने थियो', उनले थपिन्।
अर्का वक्ता डा कपिल श्रेष्ठले भने लेखिकाको हर कुरालाई सुक्ष्म रुपमा हेर्ने कलाको प्रशंसा गरे। 'पुस्तकमा मनोविज्ञान मिश्रित दार्शनिकता छ', श्रेष्ठले भने।
पुस्तक 'सांग्रिला बुक्स'ले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।