काठमाडौं– आयोजक मणि शर्मा निकै तनावमा देखिन्थे। मोबाइलमा उत्तिकै व्यस्त। कार्यक्रम सुरु हुने समय थियो दिउँसो ३ बजे। सवा ३ घर्किंसक्दासम्म कार्यक्रमका दुई वक्ता नआएपछिको छटपटी कस्तो होला? सांग्रिला बुक्सका प्रकाशक शर्मा नै जानून्।
कार्यक्रम सुरु हुँदा निर्धारित समयभन्दा २० मिनेट ढिलो भइसकेको थियो।
कथाकार माया ठकुरी अस्वस्थताका कारण आउन सकिनन्। झापाबाट उड्नुपर्ने कवि राजा पुनियानीको फ्लाइट 'डिले' भयो। दुवै वक्ताको खाली ठाउँ भर्न ‘आकस्मिक वक्ता’ बन्न पुगे समीक्षक राजकुमार बानियाँ। नवीन विभास त मौज्दात छँदै थिए।
सिमसिम पानी पर्दैगर्दा शिल्पी थिएटरमा कार्यक्रम सुरु गरे रोहेज खतिवडाले। यसअघि ६ थान कवितासंग्रह निकालेका दार्जिलिङका कवि (अब कथाकार पनि) मनोज बोगटीको कथासंग्रह ‘लाइफ अ बटरफ्लाई’को शनिबार घुम्टो उघारे लेखकसहित बानियाँ र विभासले।
‘परम्परागत लेखनमै अल्झिइरहने हो भने स्रष्टा अघि बढ्न सक्दैन,’ पुस्तकमाथि बोल्दै विभासले भने, ‘लेखनमा नयाँ बाटो खन्नैपर्छ। त्यसमा जोखिम अवश्य छ। त्यो जोखिम मनोजले मोलेका छन्।’ दार्जिलिङको चित्र कथाहरुमा देखिए पनि धमिलो तरिकाले आएको उनले बताए। ‘दार्जिलिङको 8, राजनीतिका विषय विम्ब कथाले बोके पनि यताको नेपाली 8लाई समेत चिहाइएको छ,’ उनले भने, ‘पढिरहँदा कविता जस्तो पनि लाग्छ। तर मनोजले निर्माण गरेको कथाको घर भिन्न हो।’
समीक्षक बानियाँले नेपाली आख्यानको दुरवस्थाबाटै आफ्नो भनाइ सुरु गरे। ‘नेपाली साहित्यमा फिक्सन राइटरभन्दा बढी फिचर राइटर हाबी भएको अवस्था छ,’ उनी पुस्तकमा जोडिए, ‘यसमा चाहिँ मनोजको कवि व्यक्तित्वको प्रभाव निकै देखिन्छ।’ पुस्तकभित्र रहेका ८ वटै कथा एकापसमा गाँसिने भएकाले ‘उपन्यासिका’ भन्न मिल्ने उनले बताए। राजनीतिकभन्दा सामाजिक विषयको उठान गरे पनि त्यो डिस्कोर्स नेपाली सन्दर्भमा पनि मेल खाने भन्दै उनले लेखकको प्रशंसा गरे। ‘कथाहरु पढ्दा मलाई अज्ञात आनन्द आयो,’ उनले भने, ‘त्यो कस्तो आनन्द हो, त्यसको उपयुक्त शब्द कवि समालोचकहरुले ‘क्वाइन’ गर्लान्।
बानियाँले आफ्ना कुरा टुंग्याउँदै गर्दा ढोकाबाट टुप्लुक्क छिरे पुनियानी। विमानस्थलबाट सोझै बत्तीसपुतली हानिएका उनी हतारो मुद्रामा थिए। नेपाली कविता लेखन/आन्दोलनमा लामो समय सँगसँगै रहेका मनोजको नयाँ कथा आउनुमा आफूलाई निकै खुसी लागेको उनले बताए।
‘एयरपोर्टबाट बाहिरिनासाथ सिममिस झरीले मलाई रोमान्टिक बनायो। आधा दर्जल कविता लेखेको मान्छेले आज कथा लिएर आएको छ,’ ठट्यौलो पारामा उनले अर्को खुसीको कुरा सुनाए, ‘खुब आनन्द पनि लागेको छ। किनकि अब ऊ कथातिर लागेपछि हामीलाई कविताको लागि स्पेस अलि खुल्ला भयो।’
भारतमा रहेर नेपाली साहित्य लेख्नेहरुमा अझै पनि इन्द्रबहादुर राईको छायाँ देखापर्ने प्रवृत्ति केलाउँदै उनले मनोजका कथा भने त्यो घेराभन्दा बाहिर रहेको बताए। ‘कथामा ठूलो समस्या छ। त्यो के भने यसमा आञ्चलिकता छँदै छैन। यो न नेपालको कथा हो न भारतको,’ उनले तर्क पेस गरे,‘तर कथाको शक्ति नै यही हो। कतैको नभएरै ‘युनिभर्सल’ बनेको छ।’
मनोजसँगका संगत–सम्बन्धदेखि पाश्चात्य साहित्य लेखनको प्रसंगसमेत कोट्याएर व्याख्यान सिध्याएपछि कथाकार मनोजको बोल्ने पालो आयो। ‘जीवन पुतली हो या होइन, मलाई भन्दा बढी तपाईंलाई थाहा हुनुपर्छ,’ उनले सुरुमै भने, ‘किनकि तपाईंको जीवन तपाईं आफैले भोग्ने हो।’ लगातार कविता लेख्दालेख्दा बढी लेखियो भन्ने लागेरै कथामा कलम चलाएको उनले सुनाए।
‘सुरुसुरुमा छिटोछिटो पुस्तक निकाल्दा मात्रै लेखक जस्तो भइन्छ भन्ने लाग्थ्यो। तर उही विषय प्रसंग दोहोरिन थालेपछि म कथातिर लागेको हुँ,’ रचनागर्भबारे संक्षिप्तमा उनले खुलाए, ‘एउटा पात्रलाई पछ्याइरहँदा मैले ८ वटा कथा जन्माएछु।’
हरेक कथाको अन्त्यमा आफूले ‘टेक्निक’ प्रयोग गरेको बताउँदै उनले थपे, ‘कथा टुंगिएपछि सुरुमा के थियो भनेर पुनः पाना पल्टाउन यी कथाले बाध्य पार्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।