नेपालगन्ज– भारतको रुपैडियादेखि बाँकेको कोहलपुरसम्म रेल्वे लाइन विस्तार गर्नका लागि भारतको पूर्वोत्तर रेल्वे गोरखपुरले प्रारम्भिक नक्सा तयार पारी नेपाललाई बुझाएको छ।
पूर्वोत्तर रेल्वे गोरखपुरबाट खटिएको आरके टेक्नो कन्सल्टेन्सीका प्राविधिक टोलीका इञ्जिनियर सन्तोष त्रिपाठी सहितको प्राविधिकहरुको टोलीले गत फागुन ३० देखि चैतको दोस्रो सातासम्म भारतको रुपैडियाबाट नेपालको कोहलपुरसम्म रेल्वे लाइन विस्तारका लागि सर्भेको काम गरेका थिए।
सर्भे टोलीले सीमावर्ती रुपैडियादेखि बाँकेको बालेगाउँ, पुरैनी हुँदै नेपालगन्जको राझा विमानस्थलको दक्षिणबाट नेपालगन्ज–कोहलपुर सडक पार गरेर नयाँ बस्ती हुँदै कोहलपुरसम्मको करिब साढे १६ किलोमिटर क्षेत्रको सर्भेको काम पूरा गरी प्रारम्भिक नक्सा तयार पारेको हो। पूर्वोत्तर रेल्वे गोरखपुरले रेल्वे लाइन विस्तारका लागि केन्द्रबाट दुवैतर्फ २०/२० मिटर गरी ४० मिटर लामो क्षेत्रको रेखांकन गरी नक्सा तयार पारेको छ।
पूर्वोत्तर रेल्वे गोरखपुरका प्रमुख इञ्जिनियर राम जनमले प्रारम्भिक चरणको सर्भेको नक्सासहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बाँके र रेल्वे विभाग काठमाडौंलाई बुझाएका हुन्। नक्सासहितको प्रतिवेदन बुझाउँदै पूर्वोत्तर रेल्वेले जिल्ला प्रशासन कार्यालय बाँकेलाई रेल्वे लाइन विस्तार हुने क्षेत्रको जग्गाको चलनचल्तीको मूल्य समेत यकिन गर्न आग्रह गरेको छ।
प्रतिवेदन पाए लगत्तै प्रशासन कार्यालयले रेल्वे लाइन विस्तार हुने क्षेत्रको जग्गाको चलनचल्तीको मूल्य यकिन गरी प्रमाणित समेत गरिरहेको छ। प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश शाहीका अनुसार रेल्वे लाइन विस्तार हुने क्षेत्रमा जग्गाको मूल्य प्रतिकठ्ठा ५ लाखदेखि ६० लाखसम्म छ।
प्रतिवेदन अनुसार काम अगाडि बढाउन नेपाल सरकारले स्वीकृति दिएपछि रेल्वे लाइन निर्माण गरिने क्षेत्रको जग्गामा सीमांकनका लागि पिल्लरहरु गाड्ने काम सुरु हुनेछ। रुपैडियादेखि कोहलपुरसम्म विस्तार हुने रेल्वे सिंगल लाइनको हुनेछ। साढे १६ किलोमिटर लामो रेल्वे लाइनमा करिब ८ किलोमिटरको दूरीमा पर्ने पुरैनीमा रेल्वेको जक्सन निर्माण हुनेछ।
भारतको रुपैडिया सम्म ५० वर्षभन्दा अगाडि नै रेल सेवा सञ्चालन भए पनि नेपालगन्जमा भने पहिलो पटक रेल्वे सेवा विस्तार हुन लागेको हो। यसअघि नेपाल–भारत रेल सेवा सञ्चालनका लागि दुई मुलुकका उच्चस्तरीय रेल्वे अधिकारीहरूबीच नेपालगन्जमा छलफल भएको थियो।
पछिल्लो पटक सरकारको सचिवस्तरीय निर्णयले रेल सेवा विस्तारका लागि ‘फाइनल लोकेसन सर्भे टोली’ गठन भइसकेको छ। गत वर्ष साउन ५ गतेको सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।